सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खडेरीले बारीमै कोदो सुकेपछि किसान चिन्तित


  •    न्युजभित्तो/१ असार २०८१, शुक्रबार १५:२२ 
  • पर्वत, ३२ जेठ । केही दिनयताको अत्यधिक गर्मी र खडेरीका कारण पर्वतका कृषकले रोपेको कोदो बारीमै सुक्न थालेको छ । जिल्लाका अधिकांश भागमा जेठ दोस्रो सातादेखि कोदो रोपाइँ सुरु भएको थियो । लामो समयसम्म नपरेको वर्षा र अत्यधिक गर्मीका कारण रोपेको कोदो सुकेर नष्ट भएको कृषकले गुनासो गरेका छन् । पर्वतमा धानबाली पछि कोदो दोस्रो मुख्य बाली हो । बारीमा लगाएको मकै गोडमेल गरेर कोदो रोपेका कृषक वर्षा नभएपछि चिन्तित हुन थालेका छन् । जनशक्तिको अभावमा बल्लतल्ल रोपेको कोदो खडेरीले नष्ट गरिदिएको कुश्मा नगरपालिका–१२ की कृषक राधाकुमारी सापकोटाले बताउनुभयो । “दुई दिन लगाएर कोदो रोपियो, यही बेला पानी परेन, पूरै सुकेर नष्ट भइसक्यो ।”

    एकपटक रोपेको ठाउँमा फेरि वर्षा भएपछि पुनः रोप्नुपर्ने अवस्था आएको कृषकले गुनासो गरेका छन् । पर्वतका ६१ वटै वडामा कोदोखेती हुँदै आएको छ । पछिल्लो केही वर्षयता कोदोको माग गाउँ, सहर र विदेशमा समेत निर्यात हुने क्रम बढेपछि पर्वतमा कोदो खेतीतर्फ आकर्षण बढ्दै गएको छ । कोदो रोपेर धान रोप्ने तयारी गरेका कृषक बारीमै कोदो सुकेर नष्ट भएपछि समस्यामा परेको फलेवास नगरपालिका–५ का कृषक धर्मराज पौडेलले बताउनुभयो ।

    धानखेती हुने ठाउँमा सिँचाइको सुविधा हुने भए पनि पर्वतका अधिकांश क्षेत्रको बारीमा भने वर्षाकै भरमा खेती गरिँदै आएको छ । खडेरीसँगै अत्यधिक गर्मीले जनजीवनसमेत प्रभावित बनेको छ । पर्वतमा यस वर्ष सबैभन्दा धेरै ३५ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ ।

    कृषि ज्ञान केन्द्र पर्वतका बागवानी विकास अधिकृत शङ्कर पौडेलले जिल्लाका अधिकांश ठाउँमा कोदो रोपाइँ भइरहेको बताउनुभयो । खडेरीका कारण रोपेको कोदो सुक्दै गएको गुनासो आएको भन्दै पौडेलले क्षतिको यकिन विवरण भने आइनसकेको बताउनुभयो । पालिकामार्फत खडेरीले कोदोखेतीमा पु¥याएको क्षतिको तथ्याङ्क सङ्कलनको काम भइरहेको पौडेलको भनाइ छ । कार्यालयले गत वर्षदेखि कोदोबाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषकलाई विभिन्न सहयोगसमेत गर्दै आएको छ ।

    कृषि ज्ञान केन्द्र पर्वतले रैथाने बाली उत्पादन प्रवद्र्धन कार्यक्रमअन्तर्गत कोदो उत्पादन गर्ने कृषकलाई अनुदान दिन थालेको छ । चालु आर्थिक वर्षमा थप साढे २८ हेक्टर क्षेत्रफलमा कोदो खेती विस्तारका लागि केन्द्रले सहयोग गरेको हो । कोदो खेती गर्ने कृषकलाई यान्त्रिकीकरणमा सहयोग गरिएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख पर्शुराम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवमा रु पाँच लाख कोदो बालीको प्रवद्र्धनका लागि कृषकलाई वितरण गरिएको छ ।

    कृषकलाई यान्त्रिक हलो र थ्रेसर मेसिन उपलब्ध गराइएको छ । यसले बाँझो बारी खनजोत गर्न र उत्पादन भइसकेपछि कोदो झार्न सहज हुने भएको छ । कृषकलाई कार्यबोझ घट्नुका साथै उत्पादन लागतसमेत कम होस् भन्ने उद्देश्यले यान्त्रिकीकरणमा सहयोग गरिएको कार्यालयले जनाएको छ ।
    पर्वतमा झापे, डल्ले, मङ्सिरे र स्थानीय जातको कोदो उत्पादन हुँदै आएको छ । जिल्लाको आठ हजार तीन सय ४० हेक्टर क्षेत्रफलमा कोदोको उत्पादन हुने अधिकारीले बताउनुभयो । यस वर्ष पर्वतमा आठ हजार तीन सय १० मेट्रिक टन कोदो उत्पादन भएको थियो । जसमध्ये पाँच हजार एक सय ७५ मेट्रिक टन कोदो निर्यात भएको कार्यालयले जनाएको छ ।

    कोदो बाली लगाउने बेला वर्षा नहुँदा आगामी वर्ष उत्पादनमा केही गिरावट आउन सक्ने कार्यालयले जनाएको छ । कोदोको बीउ निर्धारित समयमै रोप्न सकिएन भने उत्पादन कम दिने कार्यालयको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.