सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्वतको बनौका किसान व्यावसायिक आलुखेतीतर्फ आकर्षित


  •    न्युजभित्तो/३० जेष्ठ २०८१, बुधबार १५:४४ 
  • पर्वत, ३० जेठ । जिल्लामै स्वादिलो र गुणस्तरीय आलु उत्पादनका लागि ख्याति कमाएको जलजला गाउँपालिका–९ बनौका किसान व्यावसायिक आलुखेतीतर्फ आकर्षित भएका छन् । परम्परागत र निर्वाहमुखी रुपमा आलुको खेती गर्दै आएका किसान यस वर्षदेखि व्यावसायिक रुपमा खेती गर्न थालेका हुन् । कोदो र आलुमात्र उत्पादन हुने बनौमा धानखेती निकै कम हुन्छ । अहिले यहाँका बासिन्दाले आलु र कोदोखेती गर्दै आएका छन् ।

    कृषि ज्ञान केन्द्रको खायन आलु प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषक बीउ, मल, यान्त्रिकीकरण तथा बजारीकरणका साथै प्राविधिक सहयोग पाएपछि व्यावसायिक रुपमा यो खेतीमा लागेका हुन् । अहिले बनौ गाउँमा मात्र चार सय रोपनी क्षेत्रफलमा आलुको खेती गरिएको छ । बनौमा रहेका दुई आलु उत्पादक समूहमा आबद्ध ७३ किसानले सामूहिक रुपमा आलु उत्पादन थालेका हुन् ।

    विगतमा एक रोपनी क्षेत्रफलबाट कम्तीमा पाँच मुरी आलु उत्पादन हुने गरेकामा अहिले दोब्बर उत्पादन हुने स्थानीय मणिबराह कृषि समूहका अध्यक्ष टकबहादुर पुर्जाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले लगाइएको चार सय रोपनी क्षेत्रफलबाट पहिलेभन्दा दोब्बर उत्पादन हुने अपेक्षा गरिएको छ ।

    समूहमा आबद्ध भएका किसानले न्यूनतम रु एक लाखदेखि रु १० लाखसम्म आलु बिक्री गरेर आम्दानी गर्ने भएका छन् । उत्तरी भेगतर्फ फर्किएको बनौको गाउँमा आलुको राम्रो उत्पादन हुने र खानका लागि स्वादिलो र गुणस्तरीय समेत हुने किसान पुर्जाले बताउनुभयो । बनौमा परम्परागत बीउ नै लगाइएको छ ।

    चालु आर्थिक वर्षदेखि सुरु भएको खायन आलु प्रवद्र्धन कार्यक्रमअन्तर्गत यस वर्ष झन्डै दुई हजार किसानले व्यावसायिक रुपमा आलुखेती गरेका छन् । अहिले आलु खन्ने र थन्क्याउने बेला भएकाले केही दिनमा कति उत्पादन भयो भन्ने यकिन तथ्याङ्क आउने कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिृकत शङ्कर पौडेलले बताउनुभयो । उहाँका अनुसार प्राविधिक ज्ञानसँगै किसानले आधुनिक तरिकाले आलुखेती गर्न थालेपछि उत्पादनसमेत बढेको छभने कृषकसमेत उत्साहित भएका छन् ।

    कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीका अनुसार यो कार्यक्रमअन्तर्गत हिउँदे याममा गरिएको आलुखेतीमा जिल्लाभरका एक हजार आठ सय २१ किसानले व्यावसायिक रुपमा आलुखेती गरी आम्दानी गर्न सफल भएका छन् । बर्खेयाममा यसको आधा सङ्ख्यामा किसानले आलुखेती लगाएका छन् ।

    किसानलाई व्यावसायिक आलु खेतीतर्फ आकर्षित गर्दै जिल्लालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो । आलु प्रवद्र्धनका लागि चालु आर्थिक वर्षमा रु तीन करोड विनियोजन भएको थियो । उक्त बजेटबाट किसानलाई आलुको बीउ, मल, यान्त्रिकीकरण तथा बजारीकरणमा अनुदान उपलब्ध गराइएको अधिकारीले बताउनुभयो ।

    कार्यक्रमको लक्ष्य यो आर्थिक वर्षमा एक सय २५ हेक्टरमा आलुखेती विस्तार गर्ने भनिए पनि किसानको मागअनुसार एक सय ५५ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको हो । पहिलो याममा एक सय चार हेक्टरमा क्षेत्रफलमा गरिएको आलुखेतीबाट दुई हजार छ सय ५८ मेट्रिकटन आलु उत्पादन भएको छ । त्यसबाट किसानले उपभोग गरेर बाँकी रहेको आलु बिक्रीबाट रु पाँच करोड आम्दानी गरेका छन् ।

    बर्खे आलुका लागि ५० हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । यसको उत्पादन र आम्दानीको तथ्याङ्क असार अन्तिम सातासम्म आइपुग्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । सबैभन्दा बढी आलु जिल्लाको जलजला गाउँपालिकामा उत्पादन भएको केन्द्रले जनाएको छ ।

    पर्वतमा जनकदेव, खुमल, उज्ज्वल, खुमल सेतो, एमएस ४२, कुफ्री, ज्योति, ताराखोला, जातका आलुको खेती गरिएको थियो । प्रतिहेक्टर न्यूनतम २६ मेट्रिकटनदेखि अधिकतम ४६ मेट्रिकटनसम्म उत्पादन भएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत शङ्कर पौडेलले जानकारी दिनुभयो । यसबाट उपभोगका लागि किसानलाई खरिद गर्न नपर्नाका साथै बिक्री वितरणबाट पनि राम्रो आम्दानी गरेको पौडेलले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    डिडिसीको बिक्री कक्ष भरतपुरमा
    भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    • यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    • तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    • प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.