सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल ट्रष्टको दियालो बङ्गला सञ्चालनको जिम्मा भरतपुर महानगरलाई


  •    न्युजभित्तो/९ चैत्र २०८०, शुक्रबार १६:४२ 
  • चितवन, ९ चैत । भरतपुर महानगरपालिका–१ मा रहेको दियालो बङ्गला सञ्चालन र व्यवस्थापनको जिम्मेवारी भरतपुर महानगरले लिएको छ । नेपाल ट्रष्ट र महानगरबीच आज एक सम्झौता गरी सञ्चालन र व्यवस्थापनको जिम्मा महानगरले लिएको हो ।

    सम्झौतापत्रमा ट्रष्टका तर्फबाट सदस्यसचिव झलकराम अधिकारी र महानगरका  तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार महानगरले यही चैत ९ गतेदेखि विसं २०८२ असार मसान्तसम्म उक्त बङ्गाल सञ्चालन गर्नेछ ।

    यो अवधिमा नेपाल ट्रष्टको भरतपुरस्थित दियालो बङ्गलाको भवन तथा परिसर संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै उपभोग महानगरले गर्ने, ट्रष्टको स्वामित्वमा रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदा अवलोकन तथा सञ्चालन कार्यविधि, २०८० को अधीनमा रही सञ्चालन गर्नुपर्ने सम्झौतामा उल्लेख छ । यसैगरी, महानगरले यसलाई निरन्तरता दिने भए सम्झौता समाप्त हुनुअघि नै नवीकरणका लागि ट्रष्टलाई अनुरोध गर्नुपर्ने र सम्झौता नवीकरण गर्नेरनगर्ने निर्णय एक महिनाभित्र गरिने सम्झौतापत्रमा उल्लेख छ । महानगरले सञ्चालन तथा व्यवस्थापन अन्त्य गर्न चाहेमा कम्तीमा एक महिनाअघि जानकारी गराउनुपर्ने सम्झौतामा उल्लेख छ ।

    भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रशेन अधिकारीको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । हस्ताक्षर कार्यक्रममा महानगर प्रमुख दाहालले महानगरले ऐतिहासिकस्थलको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो । औपचारिक रुपमा प्रयास गरेको तीन महिनामा जिम्मेवारी स्थानीय तहमा आएको उहाँले बताउनुभयो । 

    सङ्घीय र स्थानीय सरकारबीचको समझदारीमा बङ्गला सञ्चालनको जिम्मेवारी महानगरमा आएको बताउँदै प्रमुख दाहालले यसले भरतपुर भ्रमण गर्न आउने पर्यटकका लागि नयाँ गन्तव्य थपिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो स्थल पर्यटकका लागि आकर्षणको केन्द्र बन्नेछ ।” ऐतिहासिकस्थलको अध्ययन केन्द्रका रुपमा यसको विकास हुने उहाँको भनाइ थियो । 

    यसलाई महानगरले नमूना र उदाहरणीय समझदारी परियोजनाका रुपमा अघि बढाउने दाहालले बताउनुभयो । भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई लक्षित गरी दियालो बङ्गला आगामी वैशाख महिनाभित्रै सर्वसाधारणका लागि खुल्ला गर्ने गरी काम गरिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मर्मतसम्भारका लागि रू ९२ लाखमा दिदीबहिनी निर्माण सेवाले ठेक्का सम्झौता गरेको छ ।

    उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर भ्रमण वर्षसँगै सञ्चालनमा ल्याउन लागिएको उक्त बङ्गला सञ्चालनको जिम्मेवारी महानगरले पाएसँगै पर्यटकका लागि नयाँ गन्तव्य थपिएको बताउनुभयो । नारायणी नदी किनार र देवघाटधाम नजिकै रहेको यस क्षेत्रमा पहिला राजपरिवार, सुरक्षा निकाय र केही कर्मचारीले मात्रै प्रवेश गर्न पाउने भए पनि अब छिट्टै सर्वसाधारणका लागि खुल्ला गरिने उहाँले बताउनुभयो । 

    विसं २०२८ सालमा राजा महेन्द्रको निधन यही भएकाले पनि यस क्षेत्रको महत्व रहेको उपप्रमुख अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “ऐतिहासिकस्थलका रुपमा रहेको यस ठाउँलाई संरक्षण र संवर्द्धन गर्दै यसका बारेमा जानकारी गराउने अवसर महानगरले पाएको छ ।”

    नेपाल ट्रष्टका सदस्यसचिव अधिकारीले ट्रष्ट सञ्चालक समितिको ८२औँ बैठकको निर्णयअनुसार संरक्षण, संवर्द्धन र प्रवर्द्धनको जिम्मेवारी महानगरलाई दिइएको बताउनुभयो । ट्रष्टका तर्फबाट पहिलोपटक जिम्मेवारी स्थानीय सरकारलाई दिइएको उहाँको भनाइ छ ।

    ट्रष्टका ऐतिहासिकस्थलहरु संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि दिइँदै जाने भन्दै पोखराको रत्न मन्दिर र मकवानपुरको कान्ति गृह स्थानीय सरकारलाई जिम्मेवारी दिने गरी प्रक्रिया अघि बढिरहेको सदस्यसचिव अधिकारीले जानकारी दिनुभयो ।

    ट्रष्टले पूर्वराजा र राजपरिवारका नाममा रहेको २२ हजार रोपनीभन्दा बढी सम्पत्ति संरक्षण गरेको सो अवसरमा जानकारी दिइएको थियो । उहाँले भन्नुभयो, “आपसी सहमतिका आधारमा हस्तान्तरण गरेका हाँै । यो प्रक्रिया दुई सरकारबीचको सहकार्य मात्रै हो ।” संरक्षण गर्दै जाँदा क्रमशः ऐतिहासिकस्थलहरु स्थानीयका लागि खुल्ला गर्दै जाने योजनामा ट्रष्ट रहेको उहाँले जानकारी दिनुभयो ।

    कार्यक्रममा भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना र ट्रष्ट सञ्चालक समिति सदस्य सुनिताकुमारी गौतमले दियालो बङ्गलाको ऐतिहासिक महत्वका बारेमा आ–आफ्नो भनाइ राख्नुभएको थियो ।

    बङ्गला (दरबार) भित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा पूर्वराजारानी महेन्द्र र वीरेन्द्रको तस्बिर देख्न सकिन्छ । भ¥याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ ।

    दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् । १ नं खोपी मुमा रत्नराज्यको हो भने २ नं राजा र ३ नं रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा शौचालयसँगै छन् । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छन् । 

    दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडिसी क्वाटर छ । केही पर सवारीसाधन राख्नका लागि ग्यारेज छ । त्यसको छेउमा रहेको पौडी पोखरीमा अहिले पानी छैन । कपडा फेर्नका लागि बनाइएको आडैको घरमा ट्रष्टको इकाइ चलेको छ ।

    ऐतिहासिक सुन्दर ठाउँ भएर पनि यो सर्वसाधारणको पहुँचभन्दा बाहिर थियो । ५७ बिघा १३ कट्ठा सात धुरमा फैलिएको यो ठाउँ शान्त र रमणीय पनि छ । बङ्गलाको पश्चिमतर्फ नारायणी नदीले पनि दरबारक्षेत्रको सौन्दर्य बढाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.