सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनबाट लामो दूरीमा गुड्न थाले विद्युतीय सवारी


  •    न्युजभित्तो/१८ भाद्र २०८०, सोमबार १५:३३ 
  • चितवन,१८ भदौ । चितवनबाट लामो दूरीमा विद्युतीय सार्वजनिक सवारी सञ्चालनमा आएका छन् । जिल्लाका भरतपुर महानगर, चितवन छाहारी, त्रिनेत्र र चौतारी यातायात सेवा प्रालीले लामो दूरीमा चल्ने विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याएका हुन् ।
    चार यातायात व्यसायीले ४६ विद्युतीय बस सञ्चालनमा ल्याएका छन् । नारायणगढ–हेटौँडा–वीरगञ्ज र नारायणगढ–काठमाडौँका लागि विद्युतीय बस सञ्चालनमा ल्याइएको भरतपुर महानगर यातायात प्रालिका अध्यक्ष चीनबहादुर बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार महानगर यातायात प्रालिले छ सवारी नारायणगढ–काठमाडौँका लागि सञ्चालनमा ल्याएको छ भने त्रिनेत्र र चौतारी यातायात प्रालिले सञ्चालनमा ल्याएका सबै बस नारायणगढ–काठमाडौँका लागि सञ्चालन भइरहेका छन् ।
    राज्यले विद्युतीय सवारीसाधन सञ्चालनका लागि ल्याएको नीतिअनुसार विद्युतीय बस सञ्चालनमा ल्याइएको बोहोराले बताउनुभयो । वातावरण प्रदूषण नहुने भएकाले पनि यस प्रकारका सवारी उपयुक्त हुने उहाँको भनाइ थियो । डिजेलको मूल्यवृद्धि भइरहेका बेला विद्युतीय सवारीसाधन सञ्चालन गर्दा मितव्ययीता समेत हुने उहाँले बताउनुभयो ।
    हाल सञ्चालनमा आएका सवारीसाधनमा ६० किलोवाट मोटरपावर जडान गरिएको जनाउँदै बोहोराले गाडी एकपटक पूर्णरुपमा चार्ज गरेपछि दुई सय किलोमिटरसम्म गुड्ने बताउनुभयो ।
    चालकसहित ११ जना अट्ने सवारी प्रदूषणरहित र आरामदायी भएको नारायणगढबाट सिमारा जाँदै गर्नुभएका यात्रु लोक खड्काले बताउनुभयो । डिजेलबाट चल्ने गाडीभन्दा यो गाडी सफा र आरामदायी भएको उहाँको भनाइ थियो । सञ्चालन भएयता यात्राका लागि मिलेसम्म विद्युतीय सवारी रोज्ने गरेको उहाँले बताउनुभयो ।
    नारायणगढबाट वीरगञ्ज जान लाग्नुभएका अप्रोज आलमले आफूले पहिलो पटक विद्युतीय सवारी चढ्न लागेको भन्दै फरक महसुस गरेको बताउनुभयो । गाडी चढ्दै गर्दा सफा, आवाज कम र आरामदायी पाएको पहिलो पटक विद्युतीय सावारी चढ्दाको अनुभवसहितको यात्रा आरादायी हुने विश्वास व्यक्त गर्नुभयो ।
    चितवन छाहारी यातायात प्रालिका अध्यक्ष बद्री पौडेलले विद्युतीय सवारीमा यात्रा गर्दा सफा, आवाज नआउने र पूर्णरुपमा वातावरण अनुकूलित हुने जनाउँदै यो यात्रुको पहिलो रोजाइँमा पर्ने बताउनुभयो । डिजेलबाट चल्ने बसमा भन्दा विद्युतीय गाडीमा यात्रा गर्दा भाडामा केही महँगो भए पनि यात्रुको कुनै गुनासो नआएको उहाँको भनाइ थियो । उहाँका अनुसार भरतपुरबाट हेटाँैडासम्म पुगेको रू दुई सय ८०, वीरगञ्जसम्मको रू चार सय र नारायणगढ–काठमाडौँको भाडा रू पाँच सय भाडादर रहेको छ ।
    सत्तरी प्रतिशतसम्म बैंकले लगानी गरिदिने जनाउँदै पौडेलले यस सवारी व्यवसायीका लागि पनि सन्तोषजनक रहेको बताउनुभयो । “यसको मुख्य समस्या चार्जिङको हो । सरकारले ठाउँठाउँमा चार्जिङ पोइन्ट बनाइदिने हो भने यस्ता सवारी सञ्चालन गर्न थप सहज हुँदै जानेछ”, उहाँले भन्नुभयो । एउटा सवारी चार्ज हुनका लागि एक घण्टा लाग्ने हुँदा स्टेशनमा रहेका चार्जिङ पोइन्टको सङ्ख्या पनि सवारीअनुसार थप हुँदै जानुपर्ने उहाँले बताउनुभयो ।
    नारायणगढ–वीरगञ्ज रुटमा चल्ने मधेस प्रदेश ०३–००१ ज ३६४ नम्बरको सवारीका चालक वृज किशोर प्रसादले डिजेलको बसमा भन्दा विद्युतीय बसमा धेरै मुनाफा रहेको बताउनुभयो । मुनाफा राम्रो भए पनि चार्जिङको समस्याले सताउने गरेको उहाँले गुनासो गर्नुभयो । डिजेल गाडीकोभन्दा यो गाडीकोे पिकअपसमेत राम्रो रहेको उहाँको भनाइ थियो ।
    नारायणगढ–हैटौँडा रुटमा सवारी चलाउने कृष्ण बस्ताकोटीले पनि विद्युतीय सवारीको सबै पक्ष राम्रो भए पनि चार्जिङ पोइन्टकै समस्या हुने गरेको बताउनुभयो । सवारीको सङ्ख्या बढ्दै जाँदा चार्ज गर्न घण्टौँ कुर्नुपर्ने बाध्यता आएको भन्दै रुटको ठाउँठाउँमा चार्जिङ पोइन्ट हुनुपर्ने उहाँको माग थियो ।
    जिल्लामा पछिल्लो छ महिनादेखि विद्युतीय सार्वजनिक सवारी सञ्चालनमा आएका हुन् । ११ सिट क्षमता भएको सवारी खरिद गर्दा रू ४४ लाख हाराहारी पर्ने र पाँच वर्षको ग्यारेन्टी निर्माण कम्पनीले लिने व्यवसायीकोे भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.