सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरका अधिकांश मन्टेश्वरी मापदण्डविपरीत


  •    न्युजभित्तो/८ भाद्र २०८०, शुक्रबार १६:०२ 
  • नारायणगढ (चितवन),८ भदौ। भरतपुर महानगरपालिकाभित्रका अधिकांश प्रारम्भिक बाल शिक्षा केन्द्र एवं शिशु विकास केन्द्र (मन्टेश्वरी) मापदण्डविपरित सञ्चालनमा रहेको पाइएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाका अनुसार यहाँ रहेका मन्टेश्वरीमा महानगरको प्रारम्भिक बाल शिक्षा केन्द्र एवं शिशु विकास केन्द्र व्यवस्थापन निर्देशिका २०७६ को पालना नभएको पाइएको हो । महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले महानगरभित्रका मन्टेश्वरीले निर्देशिकाको पूर्णरुपमा पालना गर्न नसकेको बताउनुभयो ।

    निर्देशिकाअनुसार मन्टेश्वरी सञ्चालनका लागि महानगरले अनुगमन निरीक्षण र निर्देशन दिने काम गरिरहेको भए पनि त्यसको कार्यान्वयन हुन नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले सबैलाई निर्देशिकाको पालना गर्न भनेका छौँ तर कतिपय मन्टेश्वरीले न्यूनतम मापदण्ड पनि पूरा गरेका छैनन् ।” कतिपय मन्टेश्वरीलाई महानगरमा दर्ता गरेर निर्देशिकाअनुसार सञ्चालन गर्नुपर्छ भन्ने ज्ञानसमेत नभएको उहाँको भनाइ छ ।

    महानगरपालिकाभित्र हाल ५० वटा मन्टेश्वरी दर्ता भइ सञ्चालनमा आइरहेको बताउँदै उहाँले अधिकांश मन्टेश्वरीले निर्देशिका पालना नगरी आवासीय घरको कोठाहरुमा सञ्चालन गर्दै आएको बताउनुभयो । निर्देशिका अनुसार मन्टेश्वरी सञ्चालनका लागि फराकिलो, खुला, शान्त, सुरक्षित भवन र खेल मैदान हुनुपर्छ । यस्तै बालउद्यान, सफा र स्वच्छ खानेपानी, खाजा खुवाउनेसहितको भान्छा घर, श्रव्य दृश्य तथा अन्य सिकाई सामग्रीको पर्याप्तता, सुरक्षाका उचित प्रबन्ध रहेको हुनुपर्ने छ ।

    निर्देशिकामा भनिएको छ, “केन्द्र बालबालिकाको घरबाट १५ देखि २० मिनेटको पहुँचमा हुनुपर्ने छ । कम्तीमा प्रतिबालबालिकाका लागि दुई वर्गमिटरको कोठा र आठ फिट उचाइ, उज्यालो ढोका र झ्याल भएको कोठा हुनुपर्ने छ ।”

    बालबालिकाको स्वास्थ्य अनुकूल तापक्रम भएको, मन्टेश्वरी सञ्चालन गर्ने भवनको चारैतर्फ खुला र अन्य कुनै पनि घर जोडिएको हुन नहुने उल्लेख छ । शान्त वातावरणमा उज्यालो तथा दोहोरो हावा बहन गर्नसक्ने कोठा हुनुपर्ने निर्देशिकामा लेखिएको छ ।

    बालबालिकालाई स्वतन्त्ररुपले बस्न, चल्न खेल्न तथा सुत्न पुग्ने कोठा हुनुपर्ने, प्रत्येक कक्षा कोठामा पाँच जनाको पाँच वटा सानो समूह र २० देखि २५ बालबालिकाको ठूलो समूहलाई स्वतन्त्ररुपले बस्न, चल्न, खेल्न, नाच्न घेरामा बसेर छलफल गर्न उपयुक्त ठाउँ हुनुपर्ने व्यवस्था छ ।

    मन्टेश्वरीको भवन ट्राफिकको जोखिम नभएको स्थानमा हुनुपर्ने, अग्नि नियन्त्रण उपकरण अनिवार्य हुनुपर्ने, अनिवार्यरुपमा भूई तलामा मात्रै सञ्चालन गरिनुपर्ने निर्देशिकामा उल्लेख छ ।

    निर्देशिकामा लेखिएको छ, “भवनले ओगटेको जमिनको भागको कम्तीमा दुई तिहाइ खाली जमिन खेल मैदानको रुपमा हुनुपर्ने छ ।” मेन्टेश्वरीले सवारी साधनको प्रयोग गर्न नपाउने भए पनि महानगरभित्र अधिकांशले सवारी साधनको प्रयोग गर्ने गरेका छन् । महाशाखाकी अधिकृत अनिमा घिमिरेका अनुसार महानगरभित्र छ वटा मन्टेश्वरी दर्ताको क्रममा रहेको छ ।

    उहाँले भन्नुभयो, “हामी निरीक्षणमा जाँदा मापदण्डअनुसार चलेको मन्टेश्वरी खासै भेटिएको छैन तर पुरानालाई हटाउन सक्ने अवस्था पनि छैन ।” निर्देशिका बन्नु अगाडि सञ्चालनमा आएका मन्टेश्वरीलाई निर्देशिकाको पालना गर्न भनिएको बताउँदै उहाँले एउटा मन्टेश्वरी रहेको स्थानबाट पाँच सय मिटर वरिपरि मन्टेश्वरी खोल्न नपाउने व्यवस्था महानगरले गरेको बताउनुभयो ।

    विसं २०७६ मा जारी भएको निर्देशिका कार्यान्वयनको चरणमा रहेको बताउँदै उहाँले सुरुआती समय भएकाले कार्यान्वयनमा ल्याउन कठिन हुने भएको बताउनुभयो । मन्टेश्वरीको नामकरण गर्दा राष्ट्रिय महत्वको भौगोलिक, धार्मिक वा ऐतिहासिकस्थल, राष्ट्रिय विभूति, राष्ट्रिय वा अन्तर्राष्ट्रिय व्यक्तित्वको नाम राख्नुपर्ने निर्देशिकामा उल्लेख भए पनि प्रायः मन्टेश्वरीले एकै प्रकारका विदेशी नाम राखेको पाइएको उहाँको भनाइ छ ।

    शिक्षाविद् रमाकान्त सापकोटाले मन्टेश्वरी बालबालिकाका लागि दोस्रो घर हुनुपर्ने भन्दै शिक्षण विधिअनुसार सञ्चालन हुनैपर्ने बताउनुभयो । बच्चाले घरमा भएका सबै कुरा मन्टेश्वरीमा पाउनुपर्छ भन्दै उहाँले भन्नुभयो, “मन्टेश्वरीमा गएर किताब पढ्ने होइन जीवन पढ्ने हो ।”

    खाने लगाउनेदेखि लिएर आचरण, सामाजिक संस्कारबारे बालबालिकालाई मन्टेश्वरीमा सिकाइनुपर्ने उहाँले बताउनुभयो । बालबालिकाको चाहना र मनोविज्ञानअनुसार सहयोगी शिक्षकले सिकाउनुपर्ने उहाँको भनाइ छ । निरीक्षणका क्रममा जिल्लामा रहेका सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास शिक्षा राम्रो रहेको बताउँदै उहाँले चार जना बालबालिका बराबर एक सहयोगी शिक्षक हुनुपर्ने बताउनुभयो ।

    बालबालिकाको मन प्रत्येक १० मिनेटमा परिवर्तन हुने भन्दै उहाँले मन्टेश्वरीमा दिनैभरि बालबालिकालाई राख्न नहुने उहाँको भनाइ छ । उहाँले बालबालिकालाई मन्टेश्वरीमा तीनदेखि पाँच घण्टाभन्दा बढी राख्न नहुने बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.