सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणी नदी किनारमा पर्यावरण जोगाउन चितवनका कविहरुले गरे खबरदारी


  •    न्युजभित्तो/२३ जेष्ठ २०८०, मंगलवार १७:१५ 
  • चितवन,२३ जेठ । विश्व वातावरण दिवसको दिन सोमबार नारायणी नदी किनारको माहोल अली बेग्लै थियो । अधिकांश दिन साँझको समयमा घुमघाम र टहलिन पुग्ने मानिसहरु सोमबार साँझ भने कविता सुन्नको लागि नदी किनारमा एकीकृत भए । चितवन र नवलपुरका एक दर्जन बढी नयाँ र अग्रज पुस्ताका कविहरु आफ्नो कविता सुनाउन लामबद्ध थिए । सी बिच मोडलमा नयाँ संरचना बन्दै गरेको नदी किनारमा बुद्धको शालिक अगाडि रुखको फेदमा उभिएर कविहरुले कविता सुनाए । महानगरले प्लास्टिकजन्य फोहोर पुरेर सम्याइएको त्यो ठाउँमा उभिएर कविहरुले कवितामार्फत् संकटमा परेको प्रकृति जोगाउन खबरदारी गरे । सधै प्रकृतिको बयान र गुणगान गाउँनमा शब्दहरु खर्चिने कविहरु त्यस समय भने संकटमा रहेको प्रकृतिलाई जोगाउनुपर्छ भन्ने भावमा सरोकारवालाहरुलाई खबरदारी गरे ।

    चितवनको उखरमाउलो गर्मीबाट शीतलता खोज्दै नारायणी नदी किनारमा पुग्ने नागरिकहरुले कविता सुनेर झनै शीतलताको महसुस गरे । निलो टोपी र हाफ पाइन्ट लगाएर नदी किनारमा घुम्न पुगेका स्थानीय कृष्ण मगरले कविहरुको कविता सुनेपछि भने, ‘ म कविता खासै बुझ्ने मानिस त होइन तर पनि नदीको किनारमा उभिएर नदीको संरक्षणबारे कविता सुन्न पाउनु भने जीवनकै राम्रो र रमाइलो संयोग लाग्यो । मानिसले आफूलाई केन्द्रमा राखेर स्वार्थी ढंगबाट काम गर्दा पर्यावरण संकटमा परेको भन्ने जान्ने अवसर पाएँ ।’

    कविहरुलाई नदी किनारमा जुटाउने संयोग भने अक्षर समूह चितवनले मिलाएको थियो । पर्या–कविता वाचन कार्यक्रममा चितवन र नवलपुरका १६ जना कविले पर्यावरण संरक्षणसम्बन्धी कविता प्रस्तुत गरेका छन् ।

    कार्यक्रमको सुरुवातमा कवि भूपिनले विश्व वातावरण दिवसका सन्दर्भमा भएको पर्या–कविता वाचन कार्यक्रमको औचित्यमाथि टिप्पणी गर्दै संरक्षण कविता आन्दोलनका अगुवा सरुभक्त र प्राध्यापक सञ्जिव उप्रेतीले पठाएका शुभकामनालाई पढेर सुनाएका थिए । कार्यक्रममा उनले आफ्नो ‘नदी’ शीर्षकको कविता र कवि कल्पना आचार्यको ‘प्रकृतिको अदालतमा’ कविता सुनाएका थिए । उनको कवितामा प्रदूषणले मृत्यु नजिक पुगेको नदीलाई आमासँग तुलना गर्दे सन्तानले आफ्नो आमालाई नबिर्सन खबरदारी गरिएको थियो । कार्यक्रममा अघिल्लो पुस्ताका गोविन्द विनोदीदेखि नयाँ पुस्ताकी कवि सुप्रदीप्ती भण्डारीको समेत सहभागिता रहेको थियो । वातावरण विज्ञानकी विद्यार्थी भण्डारीको कविताले प्रकृतिको लय नै जीवनको लय हो भन्ने भाव बोकेको थियो । कवि एवम् पत्रकार सूर्यप्रकाश कँडेलले बञ्चरो, बिँड र हात शीर्षकको कविता सुनाउँदै अहिले मानव जातिलाई आधुनिकताले छोपेकोले आधुनिकताभित्र रुमल्लिन नहुने सन्देश कवितामार्फत दिएका थिए । कार्यक्रममा कवि राजेन्द्र घायल र भागीरथ ठाकुरले गिती लयमा आफ्ना सिर्जना सुनाए ।

    स्मल हेभन मोडल स्कुल आँपटारीकी छात्रा प्रसंशा पराजुलीले प्रकृति र वातावरणलाई हामी आफैले बिगार्दै गइरहेको भावको कविता सुनाइन् । कार्यक्रममा कविहरू अञ्जान प्रदिप, विद्या भण्डारी चिराग, गायत्री अधिकारी, प्रभाकर पण्डित, उपेन्द्र त्रिपाठी, परिवेश मुन्छे, सरला जोशी, उदय अधिकारी, ईश्वर कँडेल र गोविन्दराज विनोदीले कविता सुनाएका थिए ।

    समूहका अध्यक्ष रमेश प्रभातको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव लेखराम सापकोटाले सहजीकरण गरेका थिए । प्रत्येक वर्ष जुन ५ का दिन विश्व वातावरण दिवस मनाइन्छ । नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.