सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस, राष्ट्रपति र प्रधानमन्त्रीको यस्तो आयो शुभकामना


  •    न्युजभित्तो/१४ आश्विन २०७६, मंगलवार ०८:१४ 
  • काठमाडौँ । आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ माअन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पहुँच पुर्याउने उद्धेश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाईन्छ । विक्रम सम्वत २०६८ सालको जनगणना अनुसार नेपालमा कुल जनसंख्याको ९ प्रतिशत अर्थात २५ लाख भन्दाबढी जेष्ठ नागरिकहरु रहेका छन् । प्रत्येक १० बर्षमा गरिने गणनाको तथ्यांक अनुसार वृद्धवृद्धाहरुको संख्यामा बृद्धि देखिएको छ । यसबाट नेपालमा औसत आयू पनि बढेको स्पष्ट हुन्छ । विश्वमा ६० वर्ष उमेर पुगेका मानिसको संख्या ७६ करोड रहेको अनुमान छ । औसत आयूमा देखिएको सुधारले यो संख्या सन् २०५० सम्ममा दुई अर्ब पुग्ने अनुमान छ ।

    ज्येष्ठ नागरिक ज्ञान र अनुभवका महत्वपूर्ण स्रोत : राष्ट्रपति

    अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका सम्पूर्ण ज्येष्ठ नागरिकको सुखी, स्वास्थ्य र सम्मानित जीवनका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

    “दिवसका अवसरमा म ज्येष्ठ नागरिकको हक अधिकारका लागि अमूल्य योगदान दिने सम्पूर्ण ज्येष्ठ नागरिक तथा अभियन्तालाई उच्च सम्मान र आदर व्यक्त गर्दछु”, राष्ट्रपतिद्वारा जारी सन्देशमा भनिएको छ । उहाँले माया, ममता र करुणाका खानी ज्येष्ठ नागरिकको संरक्षकत्व प्राप्त गरी हजुरबा, हजुरआमा, आमाबुबा, छोराछोरी र नातिनातिना एउटै परिवारमा अटाउने पूर्वीय दर्शनमा आधारित आदर्श परिवार बनाउन आजको दिनले सम्बद्ध सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षासहित ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन सबैसँग आह्वानसमेत गर्नुभएको छ ।

    राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिक ज्ञान र अनुभवका महत्वपूर्ण स्रोत भएकाले राज्यले उनीहरुको ज्ञान र अनुभवलाई समुचित उपयोग गर्नेतर्फ ध्यान दिनु जरुरी रहेको सन्देशमा उल्लेख छ । सन्देशमा भनिएको छ, “नेपालको संविधान, कानून र नीतिले ज्येष्ठ नागरिकको हक अधिकारलाई संरक्षण गरेको छ, जसलाई व्यावहारिक कार्यान्वयन गर्नुपर्ने आजको टड्कारो आवश्यकता भएको मैले महसुस गरेको छु, संविधानको भावनाअनुरुप राज्यले सीमित स्रोतका बाबजुद ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र विभिन्न सेवासुविधा प्रदान गर्दै आएको कुरा निश्चय नै खुशीको कुरा हो ।”

    ज्येष्ठ नागरिकको अनुभव नयाँ पुस्तामा हस्तान्तरण गरिनेछ : प्रम

    प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिकबाट प्राप्त हुने प्रज्ञा, सीप र अनुभवलाई राष्ट्रको सामाजिक–आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन गर्नुपर्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै उहाँले सरकारले ज्येष्ठ नागरिकको ज्ञान र अनुभवमा आधारित सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरणको सिर्जना गर्दै गरेको जनाउनुभएको छ ।

    सन्देशको पूर्ण विवरण :

    आदरणीय आमाबुबा तथा दाजुदिदीहरु

    आज अक्टोबर १ अर्थात् २९औँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस । यस अवसरमा जीवनका उकाली–ओराली पार गर्दै, असिम ज्ञान, सीप र अनुभव संगाल्ने सम्पूर्ण ज्येष्ठ नागरिक नेपालीहरूप्रति हार्दिक बधाई तथा शुभकामना प्रकट गर्दछु । म तपाईंहरुको सुस्वास्थ्य र खुशीयालीपूर्ण दीर्घजीवनको कामना गर्दछु ।

    संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष अक्टुबर १ लाई इन्टरन्यासनल डे अफ ओल्डर पर्सन्स अर्थात् अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको छ । आज ‘द जर्नी टु एज इक्वालिटी अर्थात् उमेरकै कारण गरिने विभेद–अन्त्यको यात्रा’ भन्ने नाराका साथ संसारभरि नै अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस भव्यतापूर्वक मनाइँदैछ ।

    नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र ज्येष्ठ नागरिकको हकहित संरक्षण एवं सम्वद्र्धनका लागि छाता सङ्गठनका रूपमा कार्यरत राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घलगायत विभिन्न सङ्घसंस्थाले यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै छन् ।

    मानव जीवनमा ज्ञानका स्रोतमध्ये सबैभन्दा उत्कृष्ट स्रोत अनुभव हो । यसको पाठ्यसामग्री र पाठशाला जीवन हो । पुस्तकबाट प्राप्त ज्ञानभन्दा कैयौँगुणा उपयोगी यस्तो प्रायोगिक ज्ञानलाई हामी प्रज्ञा भन्छौँ । ज्येष्ठ नागरिकबाट प्राप्त हुने प्रज्ञा, सीप र अनुभवलाई राष्ट्रको सामाजिक–आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन गर्नुपर्दछ भन्ने सरकारको मान्यता छ । यसका लागि सरकारले ज्येष्ठ नागरिकको ज्ञान र अनुभवमा आधारित सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरणको सिर्जना गर्दैछ । ज्येष्ठ नागरिकहरुको मार्गदर्शनमा परिवार र समाजले सही दिशाको पहिचान अनि असल संस्कृतिको प्रवद्र्धन गर्न सक्दछ ।

    व्यक्तिको सरदर आयुमा भएको वृद्धिसँगै हाम्रो समाजमा पनि ज्येष्ठ नागरिकको जनसङ्ख्या तीव्र गतिमा बढ्दैछ । अहिले हाम्रो देशमा करीव ३० लाख ज्येष्ठ नागरिक हुनुहुन्छ । आफ्नो ऊर्जाशील समय कुनै न कुनैरुपमा राष्ट्रका लागि समर्पित गर्ने ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने क्रममा वर्तमान सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्तालगायत विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

    नेपालका प्रत्येक ज्येष्ठ नागरिकको जीविका र रहन सहन मानवोचितस्तरमा सुनिश्चित गर्न सरकारले कानूनमार्फत नै ठोस व्यवस्था गर्ने नीति लिएको छ । यसबीच वर्तमान सरकारले अघि सारेको हरेक अस्पतालमा जेरियार्टिक वार्ड अर्थात् ज्येष्ठ नागरिक वार्ड सञ्चालन गर्ने नीतिको कार्यान्वयन केही अस्पतालबाट शुरु भइसकेको छ ।

    नेपालमा पहिलोपटक स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वमा बनेको कम्युनिष्ट पार्टीको एकल सरकारले मासिक १०० रुपैयाँबाट ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षाभत्ताको शुरुआत गरेको थियो । जनबोलीमा वृद्ध भत्ता भन्ने गरिएको उक्त भत्ताको राशि २०७६ साउनदेखि तीन हजार रुपैयाँ पुर्याइएको छ । वर्तमान सरकारले आफ्नो पाँचवर्षे कार्यकालभित्रै त्यसलाई पाँच हजार पुर्याउनेछ ।

    विसं २०७६ को प्रारम्भसँगै वर्तमान सरकारले ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई योगदान रकम सरकारले नै बेहोर्ने गरी निःशुल्क स्वास्थ्य बीमामा आबद्ध गर्ने नीति कार्यान्वयन गर्न थालिसकेको यहाँहरुलाई विदितै छ । यतिखेर झण्डै अढाई लाख ज्येष्ठ नागरिक वार्षिकरुपमा रु एक लाख बराबरको तोकिएका सुविधा सेवा विभिन्न स्वास्थ्य संस्थाबाट प्राप्त गरिरहनुभएको छ । चालू आर्थिक वर्षभित्र ७७ वटै जिल्लाका ज्येष्ठ नागरिकलाई यस योजनामा आबद्ध गरिनेछ ।

    सातवटै प्रदेशमा ज्येष्ठ नागरिक आरोग्य आश्रम निर्माण गर्ने सरकारको योजना कार्यान्वयनको चरणमा रहेको छ । स्रोत र साधन अपर्याप्त हुँदाहुँदै पनि ज्येष्ठ नागरिकका लागि सरकारले सामाजिक तथा स्वास्थ्य सुरक्षाको व्यवस्था मात्र गरेको छैन । यो सरकार यातायात सेवामा पनि ज्येष्ठ नागरिकका लागि सिट आरक्षण र भाडा छुट जस्ता सुविधाको व्यवस्था गर्नसमेत प्रयत्नशील छ ।

    यस अवसरमा म, हाम्रो सामाजिक–सांस्कृतिक परम्पराअनुरुप परापूर्वकालदेखि कायम रहँदै आएको आफूभन्दा ठूलाको आदर र कदर गर्ने संस्कारलाई अक्षुण्ण राख्न सबै नेपालीप्रति विशेष आग्रह गर्दछु । साथै, हाम्रो समाजका अनुभव र सीपका धरोहर सम्पूर्ण आमाबुबा र दिदीदाजुलाई एकपटक फेरि हार्दिक नमन गर्न चाहन्छु ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.