सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लाशमाथिको ‘महाभोज’


  •    /९ आश्विन २०७६, बिहीबार १८:३० 
  •    नवीन पौडेल

    काठमाडौँ । ‘बेवारिसे लाशलाई लुछिलुछी खान्छन् गिद्धहरुले, तर मेरो लास बेवारिसे होइन, मेरो आमा छिन् र बा पनि’, काठमाडौँको अनामनगरस्थित मण्डला थिएटरको प्रेक्षालयमा आवाज गुञ्जिन्छ ।

    चकमन्न थिएटरको अँध्यारो कोठामा भरिभराउ दर्शकको मन सिरिङ्ग पार्नेगरी आएको दृश्यसहितको आवजलेनै बोलिरहेको थियो कारुणिक कथा । सन् १९३१ मा भारतको मध्यप्रदेशमा जन्मेकी मन्नु भण्डारीले सन् १९७९ मा लेखेको उपन्यास हो ‘महाभोज’ ।

    भारतको लोकसभा र विधानसभाको उपनिर्वाचनको समय, दलित युवाको हत्या र सोही शव (लाश) मा हुने राजनीतिको अवस्था बोकेको उपन्यास महाभोजको नाट्य रुपान्तरण पनि मन्नुले नै गर्नुभएको थियो । सोही उपन्यासलाई कवि विप्लव ‘प्रतिक’ले नेपालीमा नाट्य रुपान्तरण गर्नुभएको छ । मण्डला थिएटरमा प्रदर्शन भइरहेको उक्त नाटक कताकता नेपालको वर्तमान घटनापरिघटनासँग पनि मिल्दोजुल्दो देखिन्छ ।

    सीतापुर गाउँको कथा बोलेको छ उक्त नाटकले । शहरबाट मुश्किलले २० किलोमिटर दूरीको उक्त गाउँ केही वर्षअघि भने टाढाको लाग्थ्यो । गाउँमा घटना घटे शहरले सुइकोसमेत पाउँदैनथ्यो । तर, अचेल त्यो दुरी रहेन ।

    एक दिन गाउँको पुच्छारमा रहेको दलित बस्तीमा आगो लाग्यो । नौजना मानिससहित झुप्रा जले । बचेका मानिस दौडादौड गरेर चौकी पुगे । त्यसदिन ‘सई साहेब’ छुट्टीमा थिए । शहरको दमकलको फोन पनि उठेन । शवमाथि अब यहीँबाट राजनीति शुरु हुन्छ । घटना मन्त्रीसम्म पुग्छ ।

    त्यही गाउँको घटनाका जानकार विद्रोही स्वभावका युवा विसु हुन्छन् । उनको रहस्यमय मृत्यु हुन्छ । हतारमा ‘पोष्टमार्टम’ गरेर शव जलेपनि घटना सेलाउँदैन । घटनाले सञ्चारमाध्यममा उच्चस्थान पाएपछि राजनीति शुरु हुन्छ । मुख्यमन्त्रीकोमा घटना पुग्छ । तर, जसरी दोषी पत्ता लगाउने हो त्यो हुँदैन । हुन्छ त जालझेल र षड्यन्त्र मात्रै । यस्तैयस्तैमा कथा घुम्छ । अन्त्यमा, त्यही खुशीयालीमा महाभोज गरिन्छ ।

    चालिस वर्षअघि लेखिएको ‘महाभोज’ अहिले पनि नेपाली समाजमा घट्नेघटनासँग मिल्दोजुल्दो छ । राजनीति, प्रहरी र पत्रकारिताको विकृत रुपलाई नाटकले उतारेको छ ।

    निर्देशक अनुप बराल भन्नुहुन्छ, “षडयन्त्रको चक्रब्यूहभित्र जनता कसरी फसेका छन्, निर्वल आम मान्छेको छटपटी, आक्रोस, र निराशाको गम्भीर गाथा बुनेको छ नाटकले ।” उहाँले नाटकमा समकालीन घटनालाई ऐतिहासिक समयमा हेर्ने प्रयत्न गरिएको बताउनुभयो । राजनीति र सामाजिक अन्तरविरोधलाई नाटकले देखाइदिएको छ । भ्रष्ट राजनीतिले समाजलाई नै विसङ्गत बनाइदिन्छ भन्ने सजिव चित्रण हो नाटक ‘महाभोज’ ।

    दलित बस्तीमा भएको आगजनीको तथ्य खोज्दा विसु मारिनु, चुनावको समयमा प्रहरी, पत्रकार र राजनीतिक गठजोड र सम्झौता कथाका मार्मिक विषय हुन् । शुरुमा आत्महत्या, अनि हत्या र पछि आफ्नै साथीबाट मारिएको प्रतिवेदन बनाइनु । अनि विसु हत्याको विरोध गरिरहेको मित्रलाइ नै हत्यारा बकाइनु र चरम यातनाबाट हिरासतमै ज्यान लिइनुले समाजमा हुने विकृतिको पाटोलाई नाटकले छर्लङ्ग पारेको छ ।

    तथ्यभन्दा भावना र बहकाउमा लाग्ने पत्रकारितालाई समेत नाटकले व्यङ्ग्य गरेको छ । अन्ततः राजनीतिबाट प्राप्त साझा सफलतामा सबैको ‘महाभोज’ चल्छ । यही तीन ‘पी’ प्रेस, पोलिटिक्स र पुलिसको भोज हो नाटक ‘महाभोज’ ।

    भारतीय साहित्यकार मन्नुुको उपन्यासबाट अनुवाद गरिए पनि ‘महाभोज’मा मौलिकता छ । नाटकमा विप्लव प्रतिक, रमेश बुढाथोकी, राजन खतिवडा, सिर्जना सुब्बा, बुद्धि तामाङ, राज न्यौपाने, विजय बराल, प्रदीपकुमार चौधरी, सोमनाथ खनाल, घनश्याम जोशीलगायत कलाकारले अभिनय गरेका छन् ।

    गजवको नाटक रहेको प्रतिक्रिया दिँदै काठमाडौँ रामकोटका दीपेश खनालले भन्नुभयो, “अहिलेको समाजसँग मिल्दो जुल्दो छ, एउटा नागरिकको मृत्युमा राजनीति गरेर कसरी फाइदा लिन केसम्म गरिँदो रहेछ भनेर यसले प्रष्ट देखाइदिएको छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.