सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मदन आश्रित स्मृति दिवस : दासढुंगा घटनाको रहस्य खोज्नै पर्दछ


  •    न्युजभित्तो/३ जेष्ठ २०७९, मंगलवार ०७:४६ 
  • – जनक अर्याल

    २०५० साल जेठ २ गते, साँझ छ बजेर केही मिनेटमात्र भएको थियो । नारायणगढको पुलचोकमा एकजना अधवैंशे मानिसले गाडीबाट ओर्लेर हस्यांङफस्याँङ गर्दै टेलिफोन खोज्न थाल्यो । त्यतिवेला अहिलेजस्तो हातहातमा मोबाईल थिएन, ल्याण्डलाईनकै भर, त्यो पनि कतैकतैमात्र । उनी पुलचोकको एउटा कोल्डस्टोरमा जसले टेलिफोन सेवा दिने गरेको थियो, पुगेर एसटीडी गरौं है ? भनेर सोधे । पसलेले गर्नुस् भनेपछि उनले दुई–तीन वटा नम्बरमा फोन डायल गरे ।

    ‘कमरेड, म अमर लामा । हाम्रो गाडी दासढुंगा भन्ने ठाउँबाट त्रिसुलीमा खस्यो । कमरेड मदन र जीवराज पनि गाडीमै हुनुहुन्थ्यो, गाडी बेपत्ता छ । गाडी पल्टँदा म चाँही पाखामा खसेछु । अहिले नारायणगढको पुलचोकमा आएर फोन गरेको ।’ उसले एक श्वासमा भन्न भ्यायो । उसले कोसँग कुरा गरेको हो र उताबाट के भने मैले बुझ्ने कुरा भएन ।

    दिउँसोदेखि नै पानी पर्लाजस्तो भएर दिन घुर्माइलो थियो । दुर्घटनाको समाचारले मनमा नरमाइलो लाग्यो तर मैले घटनाको बारेमा खासै चासो दिइन । साँझ पर्न लागेकोले घर जान हतार थियो, त्यसैले मैले म सरासर अफिस फर्के । अफिस फर्कनासाथ दासढुंगा दुर्घटनामा नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित परेको थाहा पाएँ । त्यो सुनेपछि म स्तब्ध भएँ । केही मिनेटमै नेकपा एमाले चितवनका नेता देवी ज्ञवाली आइपुग्नु भयो ।

    त्यतिबेला अहिलेजस्तो बाक्लो सवारीसाधन थिएनन् । सबैका घरमा साईकल हुन्थे, मोटरसाईकल कसैकसैको मात्र, गाडी हुनेहरु त औंलामा गन्न सकिन्थे । हामीहरु साइकल चढ्थ्यौं, साईकलमा दासढुंगा पुग्न कम्तीमा पनि एक घण्टा लाग्थ्यो । देवीजीलाई जतिसक्दो छिटो दासढुंगा पुग्नु थियो । हाम्रो अफिसमा मोटरसाईकल थियो तर देवीजीले मोटरसाईकल चलाउन नजान्ने । म पनि सिकारु, लाईसेन्स पनि थिएन । हाम्रो अफिसकै साथी भीम पाण्डे, देवी ज्ञवालीलाई पु¥याउन दासढुंगा जानुभयो ।

    आफूलाई मनपर्ने नेता दुर्घटनामा परेको कुरा सुन्दा कतिखेर दासढुंगा पुगौंजस्तो भयो, तर हामीसँग कुनै उपाय थिएन । अफिस बन्द गरुन्जेलमा झमक्क साँझ परिसकेको थियो त्यसैले मन अमिलो बनाउँदै घरतिर लाग्नु प¥यो । घटनाबारे साँझ रेडियोले केही भन्ला कि भनेर सुनियो । रेडियो नेपालले नेता चढेको गाडी दुर्घटना भएको र अरु कुरा पत्ता नलागेको बतायो । अहिलेजस्तो छिनछिनमा समाचार दिने एफएम रेडियो, अनलाईन सेवा र टेलिभिजनहरु थिएनन् । विविसी सुन्न पनि धौधौ पथ्र्यो । त्यो दिन विविसीले पनि खासै समाचार दिएन ।

    रातभरी छटपटी भइरह्यो, नेताहरुलाई के भयो होला ? मनमा अनेकन आशंकाहरु खेलिरह्यो । रातमा अबरेसम्म निद्रा पनि लागेन । विहानपख झिमिक्क निदाइएछ, उठ्दा घाम छिप्पिसकेको थियो । आमाले दिनुभएको एक गिलास दुध र बिस्कुट च्यापेर म घरबाट दासढुंगाको लागि हिँडे । साईकलमा जाँदै गर्दा बाटोमा केही साथीहरु भेटिनु भयो । हामी दासढुंगा पुग्दा विहानको आठ बजिसकेको थियो ।

    हामी दासढुंगामा पुग्दा त्यहाँ मान्छेको भीड लागिसकेको रहेछ । केही प्रहरी, एमाले पार्टीका नेता कार्यकर्ता र केही स्थानीय व्यक्तिहरु सडकबाट त्रिशुलीसम्म, नदी किनारमा ओहोरदोहार गर्दै थिए । नदीको तलमाथि साना डुंगाबाट खोज्ने काम भएको रहेछ । त्यहाँ जम्मा भएकाहरुले नदी किनारमा ओहोरदोहोर गर्नु र एकआपसमा मुखामुख गर्नु शिवाय गर्ने कुनै काम थिएन । घटनास्थल वरपर भेटिएका धानको भुसको थुप्रा र कठीन पहाडी बाटो कटेर समथरमा आइसकेपछि भएको दुर्घटनाले धेरैको मनमा आशंका उब्जाइरहेको थियो । दुर्घटनास्थल निकै अप्ठेरो खोँच परेको ठाउँमा थियो ।

    त्रिशुली नदीको वहाव एकदमै तिब्र छ, त्यसमाथि पनि दुर्घटनास्थलमा नदीको खोँच र भुमरी परेको छ । यस्तोमा सामान्य मानिसले पाखाबाट छामछुम पार्नुवाहेक केही गर्न सकिन्नथ्यो । त्यसका लागि शक्तिशाली क्रेन आवश्यक पर्दथ्यो । दिउसो ११ बजेतिर एउटा शक्तिशाली क्रेन आयो, त्यसले निकैबेरको प्रयासपछि नदीबाट दुर्घटनामा परेको जीप फेला पा¥यो । अपरान्ह दुई बजेतिर टुचिनको सहायताले जीपलाई बाहिर निकालियो । बा.अ.च. ८७२३ नम्बरको जीप ठोक्किएर कच्याक्कुचुक परेको थियो । जीवराज आश्रीतको शव जीपमै भेटियो तर मदन भण्डारीको अवस्था अझै अज्ञात । यसले घटना रहस्यमय छ कि भन्ने आशंकालाई अझ बढवा दियो ।

    दुर्घटनास्थल नजिक त्रिशुली नदीमा गोताखोरहरु पठाएर खोजी गर्न लगाइयो । प्रहरी र स्थानीय नेता कार्यकर्ताहरुले डुंगाबाट नदी किनारमा शव खोज्ने काम गरे । तर, सारा प्रयासहरु असफल भैरहे । तेश्रो दिन गुञ्जनगरको गाँजीपुर नजिक नदी किनारमा एउटा लास भेटिएको खबर आयो । नभन्दै त्यो लाश उनी मदन भण्डारीको रहेछ । पानीले ढाडिएको, सर्टका अधिकाँश टाँकहरु जस्ताकोतस्तै छन् तर पाइन्ट खुस्केर पेन्टीमात्र लगाएको अवस्था । पाइन्टमा टाँक त लगाएकै हुन्छ, त्यसमाथि मदन भण्डारीले सँधै बेल्ट कस्नुहुन्थ्यो । घटनास्थलमा पाइन्ट र बेल्ट भेटिएन । यस्ता दुर्घटनामा धेरैका सर्ट खुस्कन्थे तर पाइन्ट कमैकोमात्र हराउने जानकारहरु बताउँछन् । पाइन्ट हराएको अवस्थामा पेन्टी पनि कमैमात्र भेटिने उनीहरुको दावी छ । तर, यो दुर्घटनामा सबै अपवादमात्र भैरहेको थियो ।

    घटनाका एकमात्र साक्षी चालक अमर लामा जिउँदै थिए, तर उनी प्रहरी हिरासतमा । उनको व्यवहार पनि अलि फरक खालको थियो । त्यत्रो दुर्घटनामा उ कसरी सकुशल रहन सक्यो ?, उसले जीपसँगै म पनि नदीमा खसें भनेको छ तर उसलाई कुनै चोटपटक लागेको छैन । सडकबाट करिव ५० मिटर तल गुल्टिंदै गएको जीपको ड्राइभर कसरी सकुशल रहन सक्न्छ ? घटना भैसकेपछि उसले त्यही हारगुहार गरेर खोजी गर्न थाल्नु पर्नेमा गाडी चढेर सुरक्षितस्थल नारायणगढमा किन गयो ? उसका धेरै कुराहरु शंकास्पद देखिए ।

    नेताद्वयको अन्तिमसस्ंकार गरेलगत्तै पार्टीले ‘दासढुंगा हत्याकाण्डको छानबिन गर’ भन्ने नाराका साथ पार्टी देशव्यापी आन्दोलनमा गयो । आन्दोलनबाट जनधनको क्षति भयो, ठूलो दबाब दिइयो । तर, पनि कांग्रेसको सरकारले सुनुवाइ गरेन । सरकारको नेतृत्व गिरिजाप्रसाद कोइरालाले निकै महिनापछि बल्ल सर्वोच्च अदालतका न्यायाधीश प्रचण्डराज अनिलको अध्यक्षतामा एउटा न्यायिक छानबिन आयोग गठन ग¥यो । तर त्यो आयोगको प्रतिवेदनलाई एमालेले स्वीकारेन । जनस्तरबाट गठन गरिएको भनिएको पद्यरत्न तुलाधरको आयोगले दासढुंगा काण्डलाई षड्यन्त्र नै ठहर ग¥यो । पार्टीको तर्फबाट गठन गरिएको केपी ओली आयोगको प्रतिवेदनले पनि त्यस्तै भनेको छ । अनिल आयोगको प्रतिवेदनको एमालेले विरोध गरेपछि सर्वाेच्चकै न्यायाधीश त्रिलोकप्रताप राणाको अध्यक्षतामा अर्को आयोग गठन भयो । त्यो आयोगले पनि घटनाको यकिन गर्न सकेन ।

    उक्त दुखद् घटना भएको आज २९ वर्ष भयो तर अहँ, यसको अझैसम्म रहस्य खुल्न सकेको छैन । घटनाको एकमात्र साक्षी अमर लामाको पनि रहस्यमय तरिकाले हत्या गरिएपछि यो घटना रहस्यमय रहेछ भन्ने कुरालाई थप बल प्रदान गरेको छ । अमर लामाको २०६० साउनमा तत्कालिन नेकपा माओवादीका कार्यकर्ताहरुले कीर्तिपुरमा गोली हानी हत्या गरेका थिए ।

    यस घटनामा सरकार, भारत र पश्चिमाहरुको पनि हात रहेको आँकलन गरिए । पार्टीभित्रको अन्तर्संघर्षले उनीहरुको ज्यान गएको भन्नेहरु पनि कम रहेनन् । २९ वर्षको अवधिमा नेकपा एमाले पटकपटक सरकारमा गएको छ । यतिखेर नेकपा एमाले सरकारमा छैन तर पनि संसदमा र सडकमा एमालेले सबैभन्दा शक्तिशाली छ । त्यतिबेला पार्टीले गठन गरेको छानविन आयोगका अध्यक्ष केपी शर्मा ओली स्वयम् पार्टीका अध्यक्ष पनि छन् । मदनपत्नी विद्यादेवी भण्डारी मुलुककै सर्वोच्च पदमा विराजमान छिन् । ढिलै भए पनि यो घटनाको रहस्य खोज्नै पर्दछ । त्यतिखेर ‘दासढुंगा हत्याकाण्डको छानबिन गर’ भनेर नारा लगाउने एमालेका कार्यकर्ता पंक्ति, आन्दोलनका क्रममा मारिएकाहरुका परिवार र घाइतेहरुले यसको उत्तर खोजिरहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    शिक्षामन्त्रीसँग स्विट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
    राष्ट्रियसभाः चिया निर्यातसम्बन्धी समस्या कूटनीतिक पहलबाट समाधान गर्नुपर्ने सुझाव
    प्रतिनिधिसभाः सांसदद्वारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान
    • प्राविधिक शिक्षालयका प्रशिक्षकहरुका लागि सीपमूलक प्रशिक्षण
    • मौरीपालक किसानलाई परागकण बितरण
    • ताप्लेजुङमा अलैँची महोत्सव हुने
    • उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.