सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थानीय चुनावमा चर्चाको केन्द्र भरतपुर महानगरपालिका


  •    न्युजभित्तो/१५ चैत्र २०७८, मंगलवार ११:३० 
  • चितवन,१५ चैत। स्थानीय तहको निर्वाचन आउन ४५ दिनमात्र बाँकी छँदा चितवनमा पनि चुनावको चटारोले छोइसकेको छ । दलहरूले चुनाव केन्द्रित गतिविधि गरिरहेका छन् ।

    चितवनका ७ स्थानीय तहमध्ये सबैभन्दा बढी चर्चा र चासो भरतपुर महानगरपालिकाको छ । कांग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनालले भरतपुर महानगरपालिका यसपटक गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताएका छन् । खनाल कांग्रेसको कोइराला पक्षका मानिन्छन् । त्यसैले पार्टी सभापति शेरबहादुर देउवालाई निर्णय लिन अप्ठ्यारो पर्ने ठानिएको छ । चुनावबारे कांग्रेसको केन्द्रीय समिति बैठकमा छलफल जारी रहेकाले औपचारिक निर्णय के आउँछ हेर्न बाँकी छ ।

    माओवादी केन्द्रले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा दाबी गरेको छ । मेयरमा पार्टी अध्यक्ष प्रचण्डकी छोरी रेनु दाहाललाई नै दोहोर्याउने माओवादीको तयारी छ । गत स्थानीय चुनावमा दाहाललाई सघाएको कांग्रेस यसपटक आफैंले नेतृत्व लिनुपर्ने अडानमा छ । नेकपा एमालेका लागि पनि यहाँको चुनाव प्रतिष्ठाको लडाइँ छ । किनभने गत चुनावमा एमाले उम्मेदवार देवी ज्ञवालीलाई जालझेल गरेर हराइएको आरोप उसले लगाउँदै आएको छ । ज्ञवाली फेरि पनि मेयरको आकांक्षी छन् । त्यसैले चितवनको भरतपुर महानगर अहिले पनि सिंगो देशकै चासोको केन्द्रमा छ ।

    स्थानीय निर्वाचनको ‘फ्ल्यास ब्याक’

    २०७४ सालमा स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी मिलेर चुनाव लडेका थिए । भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार प्रचण्डकी छोरी रेणु दाहाल बनिन् । एमालेबाट देवी ज्ञवाली उम्मेदवार थिए ।

    देवी ज्ञवाली र रेनु दाहालबीच कडा टक्कर थियो । मतगणना अन्तिम चरणमा पुगेको बेलासम्म पनि ज्ञवाली केही सय मतले अगाडि थिए । १९ नम्बर वडाको मत गणना जारी थियो । २० नम्बर वडाको मतगणना हुनै बाँकी थियो । त्यही बेला माओवादी केन्द्रका प्रतिनिधिहरुले मतपत्र च्यातेपछि बबाल भयो । मत गणना सुरु गर्नुपर्ने एमालेको माग र पुनः मतदान गराउनुपर्ने कांग्रेस–माओवादीको मागको विषयमा विवाद भयो । केस निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्यो । अन्ततः भरतपुर महानगरको १९ नम्बर वडामा पुनः मतदान गराउने आदेश आयो । २०७४ साउन १६ गते१९ नम्बर वडामा पुनः मतदान भयो किनभने मतपत्र पनि सोही वडाको च्यातिएको थियो । मतगणनामा रेनु दाहालले २०३ मतले चुनाव जितिन् र महानगरको मेयर भइन् ।

    यो घटना गएको स्थानीय तह निर्वाचनको सबैभन्दा चर्चित घटनामा पर्दछ । यसले देशभरीको ध्यान खिच्यो । सोही बेलादेखि मतगणना स्थलमा तारजाली लगाएर घेर्न सुरु गरियो । ताकि भरतपुर महानगरपालिकाको जस्तै घटना अन्त नहोस् । त्यसपछि दोस्रो र तेस्रो चरणमा भएका मतदानपछिका मतगणना र संघीय तथा प्रदेश तहका निर्वाचनमा समेत तारजालीभित्र राखेर मत गणना गरियो ।

    चितवनका स्थानीय तहको अवस्था के छ ?

    चितवनमा भरतपुर महानगरपालिकासहित रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, माडी नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका छन् । गएको स्थानीय तह निर्वाचनमा जिल्लाका ७ मध्ये एमालेले चारवटा नगरपालिका प्रमुख र पाँच जना उपप्रमुख जितेको थियो ।

    नेपाली कांग्रेसले एक गाउँपालिका प्रमुख र दुई उपप्रमुख जितेको थियो । माओवादी केन्द्रले दुई पालिका प्रमुख जित्यो । भरतपुर महानगरपालिका कांग्रेस र माओवादीका बीचमा गठबन्धन भए पनि बाँकी ६ पालिकामा भने एमाले, कांग्रेस र माओवादी अलग अलग निर्वाचन लडेका थिए ।

    चितवनमा एमाले, कांग्रेस र माओवादी केन्द्रले स्थानीय तह निर्वाचनलाई लक्षित गरी विभिन्न चुनावी अभियानहरु अगाडि बढाएका छन् । एकीकृत समाजवादीले भने निर्वाचन केन्द्रित कार्यक्रम खासै अगाडि बढाएको देखिएको छैन ।
    टिकौली जंगलपूर्वका चार नगरपालिका रत्ननगर, खैरहनी, कालिका र राप्तीमा मेयर(उपमेयर सबै एमालेले जितेको थियो । टिकौली जंगलपूर्वका चार पालिकामा एक जना पनि वडा सदस्य माओवादी केन्द्रले जित्न सकेन । माओवादीले कांग्रेसको सहयोगमा भरतपुर महानगरपालिकाको मेयर र आफ्नो एकल प्रयासमा माडी नगरपालिकाको मेयर जितेको हो । कांग्रेसले इच्छाकामना गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।

    भरतपुर महानगरपालिका

    २०७४ सालको स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी चर्चा बटुलेको थियो भरतपुर महानगरपालिकाले । अहिले पनि भरतपुरमै धेरैको नजर छ । भरतपुर महानगरको मेयरमा रेनु दाहालले ४३ हजार १२७ मत ल्याएर जित्दा एमालेका उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ९२४ मत ल्याए । राप्रपाबाट मेयरको उम्मेदवार बनेका र हाल माओवादीमा रहेका बद्री तिमिल्सिनाले ६ हजार ८४२ मत पाए । उपमेयरमा कांग्रेस माओवादी गठवन्धनबाट जितेकी पार्वती शाहले ४७ हजार १९७ मत ल्याएर जितिन् । एमालेकी दिव्या शर्माले ३९ हजार ५२५ मत ल्याइन् । राप्रपाकी रिना गुरुङले ७ हजार २५२ मत ल्याइन् ।

    भरतपुर महानगरपालिकामा २९ वटा वडा छन् । तीमध्ये एमालेले १३ वडा र कांग्रेसले ११ वडा जिते । एमालेले वडा नं। २, ४, ५, ७, ९, १०, ११, १२, १६, २२, २३, २४, २८ र २९ जित्यो । कांग्रेसले वडा नं। १, ३, ८, १४, १५, १७, १८, १९, २०, २१ र २७ जित्यो । माओवादीले वडा नं। १३ मा पूरै प्यानल जित्यो भने वडा नं। २५ र २६ मा वडाध्यक्ष मात्रै जित्यो ।

    वडा नं। २६ मा एमालेको सहयोगमा माओवादीले वडाध्यक्ष जितेको थियो । एमालेले जितेका वडा नं। ७, ९, १०, १२ र २२ का वडाध्यक्षहरु अहिले एमालेबाट फुटेर बनेको समाजवादीतिर लागेका छन् । एमालेबाट जितेको वडा नं। १६ का वडाध्यक्ष चतुरमान गुरुङको मृत्यु भएपछि सो वडामा भएको उपचुनावमा तत्कालीन नेकपाका उम्मेदवारलाई पराजित गर्दै कांग्रेसका अमृतराज हमाल विजयी भए । यसो हुँदा एमालेबाट जितेका वडाको संख्या घटेर ८ पुग्यो भने कांगे्रसको बढेर १२ पुगेको छ ।

    गत स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकामा १ लाख ५० हजार २ सय ७४ जना मतदाता थिए । यसपटक सो संख्या बढेर १ लाख ८५ हजार ७ सय ५२ पुगेको छ । महानगरमा पुरुष मतदाताको संख्या ८८ हजार ८ सय ८४ र महिला मतदाताको संख्या ९६ हजार ८ सय ६७ रहेको छ । महानगरमा ६५ वटा मतदानस्थल र २०२ मतदान केन्द्र तोकिएको छ ।

    रत्ननगर नगरपालिका

    पूर्वी चितवनको रत्ननगर नगरपालिकामा गएको स्थानीय तहको निर्वाचनमा एमालेले मेयर र उपमेयरसहित बहुमत सदस्यहरू जित्यो । एमालेका नारायण वनले १४ हजार ६७७ मत ल्याएर मेयर जित्दा कांग्रेसका रुपनराज घिमिरेले १३ हजार २२७ मत ल्याएर दोस्रो भए । माओवादीका पूर्णबहादुर अम्गाईले ३ हजार ६७१ मत ल्याए । उपमेयरमा एमालेकी विमलादेवी दुवाडीले १४ हजार ४८१ मत ल्याएर विजयी बनिन् । कांग्रेसकी निता ढकालले १२ हजार ७०३ मत ल्याइन् भने, माओवादीकी संगिता भट्टराईले ४ हजार ०२४ मत ल्याएर तेस्रो भइन् । १६ वटा वडा रहेको रत्ननगरमा एमालेले १० वडा र कांग्रेसले ६ वडा जिते ।

    माओवादीले वडा सदस्यसम्म पनि जित्न सकेन । वडा नं। १, २, ६, ७, ११, १२ मा कांग्रेसले जित्यो भने, वडा नं। ३, ४, ५, ८, ९, १०, १३, १४, १५ र १६ एमालेले जित्यो । एमालेबाट विजयी बनेका वडा नं। ९ का वडाध्यक्ष रोशन आचार्य, वडा नं। १४ का वडाध्यक्ष हरिकुमार श्रेष्ठ र वडा नं। १५ का हुमनाथ लामिछाने माधव नेपालको एकीकृत समाजवादी पार्टीतिर लागेका छन् भने बाँकी सबै एमालेमा नै छन् । गत निर्वाचनमा वडा नं। ४ र वडा नं। ९ मा माओवादी चौथो भयो भने बाँकी वडामा तेस्रो भयो ।

    गत स्थानीय तहको निर्वाचनमा रत्ननगर नगरपालिकामा ४३ हजार १ सय ५४ मतदाता रहेका थिए । यसपटक रत्ननगर नगरपालिकामा मतदाताको संख्या बढेर ५२ हजार ६ सय ४२ पुगेको छ । त्यसमध्ये पुरुष मतदाताको संख्या २५ हजार ३ सय ४६ र महिला मतदाताको संख्या २७ हजार २ सय ९५ पुगेको छ । यस नगरमा २१ वटा मतदानस्थल र ६० वटा मतदान केन्द्र तोकिएका छन् ।

    राप्ती नगरपालिका

    मकवानपुरसँग सीमा जोडिएको पूर्वी चितवनको राप्ती नगरपालिकामा गत स्थानीय तह निर्वाचनमा एमालेले अधिकांश वडासहित मेयर र उपमेयरमा जित हात पार्यो । एमालेकी प्रभा बराल ११ हजार ६१३ मत ल्याएर मेयर बनिन् । कांग्रेसका उम्मेदवार किरणभूषण ओलीले ७ हजार २९२ मत ल्याए । माओवादीका रामचन्द्र पाठक २ हजार ४९५ मत ल्याएर तेस्रो भए ।

    उपमेयरमा एमालेका इमानसिंह लामाले ११ हजार ८८२ मत ल्याएर जित्दा कांग्रेसकी अनिता मैनालीले ७ हजार ७४ र माओवादीकी कल्पना मोक्तानले २ हजार २२६ मात्रै मत प्राप्त गरे । १३ वटा वडा रहेको राप्तीमा कांग्रेसले वडा नं। ९ र १२ मात्रै जित्न सक्यो भने बाँकी ११ वटा वडामा एमाले विजयी भयो ।

    एमालेबाट विजयी भएका राप्ती–४ का वडाध्यक्ष शम्शेर लामा मात्रै एकीकृत समाजवादीतिर लागेका छन् । बाँकी सबै एमालेमा छन् । गत स्थानीय निर्वाचनमा राप्तीमा २९ हजार ९ सय ९८ मतदाता रहेका थिए ।

    राप्ती नगरपालिकामा यसपटक मतदाताको संख्या ४० हजार ६ सय ४९ पुगेको छ । पुरुष मतदाताको संख्या २० हजार ४ सय ९५ र महिला मतदाताको संख्या २० हजार १ सय ५० छ । यहाँ १८ वटा मतदानस्थल र ४७ वटा केन्द्र तोकिएको छ ।

    कालिका नगरपालिका

    चितवनको कालिका नगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेले मेयर र उपमेयरसहित बहुमत वडामा जित निकाल्यो । एमाले उम्मेदवार खुमनारायण श्रेष्ठ ९गोपी० ७ हजार ४९२ मतसहित विजयी भए । उनका निकट्म प्रतिद्वन्द्वी रहेका कांग्रेसका कमल आचार्यले ७१६४ मत ल्याए । माओवादी केन्द्रका रामध्वज डल्लाकोटीले २ हजार ३७८ मत ल्याए । उपमेयरमा एमालेकी कमला भट्टराईले ७ हजार ५३५ मत ल्याएर विजयी बन्द कांग्रेसकी निरुजा श्रेष्ठले ६ हजार ७५९ र माओवादी केन्द्रकी सविता लामाले २ हजार ५९३ मत ल्याइन् । ११ वटा वडा रहेको कालिका नगरपालिकामा एमालेले वडा नं। २, ३, ६, ७, ८ र ११ जित्यो भने, कांग्रेसले वडा नं। १, ४, ५, ९ र १० जित्यो । एमाले विभाजन हुँदा एकीकृत समाजवादीतिर यो नगरपालिकाबाट कुनै पनि वडा अध्यक्ष र सदस्यहरू गएका छैनन् ।

    कालिकामा गत निर्वाचनमा २२ हजार ९ सय ८७ मतदाता रहेका थिए । यस नगरपालिकामा मतदाताको संख्या बढेर यसपटक ३१ हजार १ सय ५७ पुगेको छ । जसमा पुरुष मतदाता १५ हजार ५ सय ६० र महिला मतदाता संख्या १५ हजार ५ सय ९७ पुगेको छ । यस नगरमा ११ वटा मतदानस्थल र ३७ मतदान केन्द्र तोकिएका छन् ।

    खैरहनी नगरपालिका

    पूर्वी चितवनको खैरहनी नगरपालिकामा एमालेले मेयर र उपमेयरसहित बहुमत सदस्य जित्यो । एमालेबाट उम्मेदवार रहेका लालमणि चौधरी १० हजार ७१७ मत ल्याएर विजयी भए । कांग्रेसबाट मेयर उम्मेदवार रहेका राजेन्द्रप्रसाद चौधरीले ९ हजार ७३३, माओवादीका एकराज डल्लाकोटीले ३ हजार १४७ मत ल्याए ।

    उपमेयरमा एमालेकी सुनिता खरेलले १० हजार ४५१ मत ल्याएर विजयी बनिन् । कांग्रेसकी सुशीलादेवी उप्रेतीले ९ हजार ८८८ र माओवादी केन्द्रकी रेवती सेढाईले २ हजार ९२० मत ल्याइन् । १३ वटा वडा रहेको खैरहनी नगरपालिकामा वडा नं। १, ६, ७, ८, ९, १०, ११ गरी ७ वटा वडा एमालेले जित्यो । कांग्रेसले वडा नं। २, ३, ४, ५, १२ र १३ गरी ६ वटा वडा जित्यो ।

    खैरहनी नगरपालिका वडा नं। ४ र ५ का वडाध्यक्षहरु नरेन्द्रनाथ अधिकारी र विश्वविजय बस्नेतको सवारी दुर्घटनामा परेर मृत्यु भएपछि भएको उपचुनावमा एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपा कांग्रेससँग पुनः पराजित बन्यो ।

    यो नगरपालिकाबाट विजयी कुनै पनि वडाअध्यक्ष तथा सदस्य एमाले फुटेर बनेको माधव नेपालको एकीकृत समाजवादी दलतिर लागेका छैनन् ।

    गत स्थानीय तहको निर्वाचनमा खैरहनी नगरपालिकामा ३३ हजार २ सय ६३ मतदाता रहेकामा यसपटक बढेर ४३ हजार ५ सय ३१ पुगेको छ । पुरुष मतदाता २० हजार ७ सय ३२ छन् भने महिला मतदाता संख्या २२ हजार ७ सय ९९ पुगेको छ । खैरहनी नगरपालिकामा १७ मतदानस्थल र ५१ मतदान केन्द्र तोकिएका छन् ।

    माडी नगरपालिका

    माओवादी केन्द्रले नगरप्रमुख जितेको अर्को स्थानीय तहमा पर्दछ माडी नगरपालिका । माडी नगरपालिकामा कांग्रेसका खेमप्रसाद महतोलाई पराजित गर्दै माओवादी केन्द्रका ठाकुर ढकाल विजयी भए । ढकालले ३ हजार ८७३ मत ल्याएर जित्दा कांग्रेसका खेमप्रसाद महतोले ३ हजार ८२९ मत ल्याए । एमालेबाट उम्मेदवार बनेका नारदमणि पौडेलले ३ हजार ८२६ मत ल्याएर तेस्रो भए । राप्रपाबाट मेयर उठेका मदन पौडेलले ३ हजार ७३ मत ल्याए ।

    माडीको उपमेयरमा भने एमाले उम्मेदवार ताराकाजी महतो विजयी भइन् । ताराकाजीले ४ हजार ६९० मत ल्याएर उपमेयर जित्दा माओवादी केन्द्रकी सरिता महतोले ३ हजार ८०४ मत ल्याइन् । कांग्रेसकी शिवमाया भट्टराईले २ हजार ८४८ र राप्रपाकी भिमकुमारी महतोले ३ हजार १८६ मत ल्याइन् ।

    ९ वडा रहेको माडीमा एमालेले वडा नं। ३, ६, ७, ८ र ९ जित्यो । एमालेबाट विजयी भएका वडा नं। ३ का अध्यक्ष पुरन महतो समाजवादीतिर लागेका छन् भने बाँकी एमालेमा नै छन् । कांग्रेसले वडा नं। १ मात्रै जित्यो भने माओवादी केन्द्रले वडा नं। २, ४ र ५ जित्यो ।

    माडीमा राप्रपाका उम्मेदवारहरुले पनि सम्मानजनक मत ल्याए । माडी राप्रपाको प्रभाव क्षेत्र मानिन्छ । गत स्थानीय तहको निर्वाचनमा माडीमा २१ हजार ६ सय ७३ मतदाता रहेका थिए । यसपटक सो संख्या बढेर २८ हजार २ सय ३० पुगेको छ । जसमा पुरुष मतदाता संख्या १३ हजार ७ सय ५८ र महिला मतदाता संख्या १४ हजार ५ सय ६२ पुगेको छ । यहाँ १५ मतदानस्थल र ३२ केन्द्र तोकिएको छ ।

    इच्छाकामना गाउँपालिका

    चितवनका ७ पालिकामध्ये कांग्रेसले प्रमुख जितेको एक मात्रै स्थानीय तहमा पर्दछ इच्छाकामाना गाउँपालिका । इच्छाकामना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै कांग्रेसले जितेको थियो । गाउँपालिका अध्यक्षमा कांग्रेसबाट उम्मेदवार बनेकी गीता गुरूङले ३ हजार २५४ मत ल्याएर जित निकालिन् ।

    एमालेबाट उम्मेदवार बनेका नारायणप्रसाद अधिकारी ३ हजार ६१ मतसहित दोस्रो भए । वडा नं। १ देखि ६ सम्मको गणनामा अगाडि रहेका अधिकारी वडा नं। ७ को गणनामा पछाडि परेर हार भोगे । माओवादीबाट गाउँपालिका अध्यक्ष उम्मेदवार बनेका प्रताप गुरूङले २ हजार ३९९ मत ल्याए ।

    उपाध्यक्षमा कांग्रेसका कृतिकुमार श्रेष्ठले ३ हजार ३८९ मत ल्याएर जित निकाल्दा एमालेबाट उम्मेदवार बनेकी जुनु भण्डारीले ३ हजार ९७ मत ल्याइन् । माओवादी उपाध्यक्ष उम्मेदवार सावित्री सिलवालको मत २ हजार २२९ रह्यो ।

    ७ वटा वडा रहेको इच्छाकामना गाउँपालिकामा एमालेले वडा नं। १, २ र ३ मा जित्यो भने कांग्रेसले वडा नं। ४, ५ र ७ जित्यो । माओवादी केन्द्रले वडा नं। ३ जित्यो ।

    गत स्थानीय तहको निर्वाचनमा इच्छाकामना गाउँपालिकामा ११ हजार ६ सय ५४ मतदाता रहेका थिए । यसपटक यस गाउँपालिकामा मतदाता संख्या बढेर १५ हजार ६ सय ३४ पुगेको छ । पुरुष मतदाताको संख्या ८ हजार २ सय ४२ र महिला मतदाताको संख्या ७ हजार ३ सय ९२ पुगेको छ । यहाँ १४ वटा मतदानस्थल र २२ वटा केन्द्र तोकिएका छन् ।

    दलहरुलाई लाग्यो चुनाव

    चितवनमा नेकपा एमाले र नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई लक्षित गरी विभिन्न चुनावी अभियानहरु अगाडि बढाएका छन् । एमालेले घर दैलो, प्रचारप्रसार, भेला लगायतका गतिविधि गरिरहेको छ । यस्तै, कांग्रेसले वडा कार्यालय स्थापना गर्ने, ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान चलाइरहेको छ । कांग्रेसले एक्लै निर्वाचन लड्ने योजना अनुसार तल्लो तहसम्म चुनावी कार्यक्रममा लगेको जिल्ला पार्टी सभापति राजेश्वर खनालले जानकारी दिए ।

    सत्ता गठबन्धन घटक नेकपा माओवादी केन्द्रले कार्यकर्ता भेला तथा प्रशिक्षण गर्न सुरु गरेको छ । गत हप्ता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सडक, पुल र सुकुमवासीको एकीकृत वस्ती उदघाटन तथा भरतपुर महानगरपालिकाको नयाँ बन्ने भवनको शिलान्यास कार्यक्रममा सहभागी भए । त्यही मौकामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम पनि गरे । नेकपा एकीकृत समाजवादीले भने निर्वाचन केन्द्रित कार्यक्रम खासै अगाडि बढाएको देखिएको छैन ।

    प्रमुख प्रतिपक्ष नेकपा एमालेले घरघरमा प्रचार सामाग्री वितरण गर्ने, घरदैलो गर्ने सभासम्मेलन गर्ने जस्ता गतिविधिलाई तीव्रता दिएको छ । जिल्लाका सातै पालिकाको ९८ वडाका घरघरमा एमाले पुगेको जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले बताए ।

    जिल्लामा आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि २७ दल दर्ता भएका छन् । कार्यालयका प्रमुख भीमसेन कार्कीले राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी ९जसपा० र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० सहितका २७ दलले दल दर्ता गरेको बताए ।

    वि।सं २०७४ मा भएको स्थानीय निर्वाचनमा जिल्लामा १६१ मतदानस्थल र ३७६ मतदान केन्द्र थिए । यसपटक मतदानस्थल १६१ नै छ भने केन्द्र बढेर ४५१ पुगेको छ । चैत १५ गते जिल्लामा प्रमुख निर्वाचन अधिकृतको कार्यालयसँगै पालिकाहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने योजना छ ।

    तोकिए प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत

    वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि चितवनको प्रमुख निर्वाचन अधिकृतमा हेमन्त रावललाई तोकिएको छ । चितवन जिल्ला अदालतका न्यायाधीश रावल प्रमुख निर्वाचन अधिकृत सहित भरतपुर महानगरपालिकाको निर्वाचन अधिकृत भएर काम गर्नेछन् ।

    यसैगरी इच्छाकामना गाउँपालिकाको निर्वाचन अधिकृतमा ईश्वर आचार्यलाई तोकिएको छ । उनी चितवन जिल्ला अदालतका श्रेस्तेदार हुन् । कालिका नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीलाई तोकिएको छ ।

    खैरहनी नगरपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बागमती प्रदेशका उपसचिव सरस्वती पौडेल, माडी नगरपालिकामा जिल्ला समन्वय समिति चितवनका समन्वय अधिकारी चुडामणि शर्मा गौतमलाई निर्वाचन अधिकृत तोकिएको छ ।

    यस्तै रत्ननगर नगरपालिकामा राष्ट्रिय सतर्कता केन्द्रका उपसचिव विनोदकुमार गौतम र राप्ती नगरपालिकामा जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजाललाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.