सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शुरु भयो विद्युतीय सवारीको युग, चार्जिङ स्टेशन सञ्चालनमा


  •    /१७ भाद्र २०७६, मंगलवार १८:१६ 
  • रमेश लम्साल
    काठमाडौँ । पेट्रोलियम पदार्थको परनिर्भरतालाई कम गर्दै मुलुकमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सरकारले लिएको नीति व्यावहारिक रुपमा कार्यान्वयनमा आएको छ ।

    चालू आर्थिक वर्षको अन्त्यसम्म मुलुकको केन्द्रीय प्रसारण प्रणालीमा थप एक हजार ३०० मेगावाट क्षमता बराबरको विद्युत् थप हुने भएकाले त्यसलाई सदुपयोग गर्ने र विद्युत् खपत बढाउने लक्ष्य राखिएको छ । विद्युत् खपत बढाउनका लागि राजधानी काठमाडौंलगायत प्रमुख शहरमा विद्युतीय सवारी साधन सञ्चालन गर्ने र घरायसीरुपमा खाना पकाउने एलपी ग्यासको विस्थापन गर्दै जाने नीति सरकारको छ ।

    सरकारको सोही नीतिलाई सम्बोधन गर्ने लक्ष्यका साथ निजी क्षेत्रले विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । निजी क्षेत्रको यातायात सेवा प्रदायक संस्था सुन्दर यातायातले विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन सञ्चालनमा मात्रै ल्याएको छैन यही भदौ २३ गतेदेखि राजधानीमा चार वटा विद्युतीय बसबाट सेवा दिने तयारीसमेत गरेको छ ।

    चार्जिङ स्टेशनको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले देशबाट पेट्रोलियम पदार्थको आयात क्रमशः घटाउँदै देशभित्रै उत्पादन हुने विद्युत्को खपत बढाउने लक्ष्य राखिएको बताउनुभयो ।

    चालू आवको अन्त्यसम्म राष्ट्रिय गौरवको माथिल्लो तामाकोशीलगायतका जलविद्युत् आयोजना निर्माण सम्पन्न हुनेछ । यस्तै रसुवागढी, साञ्जेनलगायतका आयोजनाका अलावा निजी क्षेत्रका एक दर्जन बढी आयोजनासमेत सम्पन्न हुने छ । ती आयोजना सम्पन्न भएपछि विद्युत् खेर जाने सम्भावनालाई मध्यनजर गरेर सरकारले विद्युत् खपत बढाउने नीति तथा कार्यक्रमसमेत सञ्चालनमा ल्याएको सचिव घिमिरेको भनाइ छ ।

    सचिव घिमिरेले भन्नुभयो “उत्पादित सबै विद्युत् प्रयोग होओस् भन्ने लक्ष्यका साथ विद्युतीय सवारी साधनको अलावा खाना पकाउने एलपी ग्यासको विस्थापन गर्दै जाने लक्ष्य राखिएको छ ।” ऊर्जामन्त्री वर्षमान पुनले गत फागुनमा गठन गर्नुभएको कार्यदलले गत बुधबार मात्रै प्रतिवेदन बुझाएको छ । मन्त्रालयका सहसचिव प्रविणराज अर्याल संयोजकत्वको समितिले नेपाल विद्युत् प्राधिकरणबाट लोड स्वीकृति लिई विद्युतीय सवारीका लागि चार्जिङ स्टशेन निर्माण गरी सञ्चालनमा ल्याउन सक्ने व्यवस्था गरेको छ ।

    “विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउँदै पेट्रोलियम पदार्थको आयात घटाएर व्यापार घाटा घटाउनेसमेत सरकारको लक्ष्य छ । खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको आयात मात्रै घटाउन सकिए भुक्तानी सन्तुलन र व्यापार घाटा घटाउनमा मद्दत पुग्छ” सचिव घिमिरेले भन्नुभयो ।

    सुन्दर यातायाताका अध्यक्ष भेषबहादुर थापाका अनुसार आज उद्घाटन भएको चार्जिङ स्टेशन सञ्चालनमा आएपछि एकै पटक छ वटासम्म सवारी साधन चार्ज गर्न सकिन्छ । उहाँका अनुसार चक्रपथमा दैनिक गुड्ने डिजल गाडीले रु चार हजार बराबरको इन्धन खपत गर्छ भने विद्युतीय सवारी साधनले रु सात सय बराबरको विद्युत् मात्रै खपत गर्छ । त्यसबाट यातायात थप सरल र सस्तो बन्न जान्छ ।

    उहाँका अनुसार प्रतियुनिट चार रुपैयाँ २० पैसामा विद्युतीय बस चार्ज गर्ने व्यवस्था मिलाइएको छ । प्राधिकरणबाट थ्री फेज लाइन विद्युत् लिइएको छ । सार्वजनिकरुपमा चल्ने अन्य यातायातका लागि भने स्वीकृति लिएपछि मात्रै चार रुपैयाँ ८० पैसासम्म लिन सकिनेछ ।

    लामो समयको प्रयासपछि आफूहरुले वातावरण मैत्री बस सञ्चालनमा ल्याउन लागिएको जानकारी दिँदै अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री पुनको योजना अब व्यावहारिकरुपमा कार्यान्वयनमा जान लागेको बताउनुभयो ।

    “सरकारको योजनालाई कार्यान्वयन गर्न पाउँदा हामीलाई असाध्यै खुसी लागेको छ । तर केही कानूनी र नीतिगतरुपमा थप प्रष्टताको जरुरी छ । त्यसका लागि मन्त्रालयले आवश्यक समन्वय गरिदिनेछ भन्ने मैले विश्वस लिएको छु” उहाँले भन्नुभयो ।

    कूल रु एक करोड ६२ लाख पर्ने विद्युतीय बस सञ्चालनमा ल्याउन लागेको जानकारी दिँदै उहाँले महङ्गो सवारी साधनले लागत उठाउँछ त भन्ने धेरैको जिज्ञासा रहेपनि आगामी छ वर्षभित्र आफूहरु नाफामा जान सक्ने अवस्था रहेको बताउनुभयो ।

    विद्युतीय सवारी साधनको मर्मत तथा सञ्चालन खर्च कम पर्ने भएकोले आम नेपाली त्यसैमा अभ्यस्त हुने विश्वास उहाँको छ । सो संस्थाले सुकेधारा र सीतापाइलामा पनि चार्जिङ स्टेशन निर्माण गरिसकेको छ । सोही संस्थाले निकट भविश्यमा नै प्रदेश नं ५ को बुटवल र प्रदेश नं १ को विराटनगरमा समेत विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

    ऊर्जामन्त्री पुनले गठन गर्नुभएको कार्यदलका संयोजकसमेत रहनुभएका सहसचिव अर्यालले निजी क्षेत्रबाट विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउने तयारी गरिनु आफैमा सकारात्मक र स्वागतयोग्य कदम भएको बताउनुभयो । “सेवा विस्तार तथा सार्वजनिक सवारी यातायातमा थप सरल र सस्तो पर्न जान्छ । यसले आम नागरिकलाई समेत राज्यप्रतिको विश्वास बढाउनेछ” उहाँले भन्नुभयो ।

    उक्त चार्जिङ स्टेशनमा न्यूनतम चार घण्टामा सवारी साधन पूर्णरुपमा चार्ज हुने इञ्जिनीयर तिलक गिरीको भनाइ छ । “हामीले सञ्चालनमा ल्याएको चार्जिङ मेशिन सुपर चार्जिङ मेशिन पनि भएकाले सबै प्रकारका विद्युतीय सवारी साधनका लागि उपयुक्त हुन्छ,” गिरीले भन्नुभयो ।

    सरकारले भने रातीको समयमा खेर जाने विद्युत्को बढीभन्दा बढी सुदपयोग गर्न विद्युतीय सवारी साधन उपयुक्त हुने निष्कर्ष निकालेको छ । सरकारले साझा यातायातलाई ३०० वटा विद्युतीय बस खरीदका लागि रु तीन अर्ब बजेटसमेत विनियोजन गरिसकेको छ । प्राधिकरणले पहिलो चरणमा ३० वटा चार्जिङ स्टेशन निर्माण गर्ने तयारी गरेको छ । सोही तयारीका लागि मन्त्री पुनलाई बुझाएको कार्यदलको प्रतिवेदनसमेत प्राधिकरण पुगी सकेको छ ।

    प्राधिकरणले अब चार्जिङ स्टेशन सञ्चालनका लागि लोड स्वीकृतिलगायतका अन्य काम पनि पूरा गर्ने तयारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार निकट भविश्यमा नै अन्य नीतिगत निर्णय गर्ने र आक्रामकरुपमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन निर्माण हुनेछन् । प्राधिकरण र साझा यातायातबीच पनि चार्जिङ स्टेशन निर्माण गर्ने सम्बन्धी समझदारीपत्रमा यसअघि नै हस्ताक्षर भइसकेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचक ३३ अङ्कले बढ्यो
    परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट
    पूर्वउपसभापति खड्कालाई सातदिने स्पष्टीकरण
    • आरोग्य दिवस मनाइयो
    • कूटनीतिबारे लेख्न महिला पत्रकारलाई प्रोत्साहन गर्नुपर्ने
    • सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन
    • मल्कवाङमा खानेपानीको पहुँच पुग्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.