सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लुम्बिनी गुरुयोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक : राष्ट्रपति भण्डारी


  •    न्युजभित्तो/१४ कार्तिक २०७८, आईतवार १६:३१ 
  • रुपन्देही, १४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रुपमा विकास गर्न गुरुयोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

    उहाँले यहाँ भएका ऐतिहासिक पुरातात्विक महत्वका स्थान र सामग्रीको अध्ययन अनुसन्धान र संरक्षणसहित सबै मूर्त र अमूर्त सम्पदालाई उजार गर्दै यस क्षेत्रको मौलिक पहिचानलाई विश्वसामु प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।

    रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज महाकरुणा गौतमबुद्धको मूर्ति अनावरण गर्दै राष्ट्रपति भण्डारीले बुद्ध जन्मस्थलको उन्नयनका लागि विकासका गतिविधि सरल हुनुपर्ने विषयलाई स्वभाविक रुपमा लिएर काम अघि बढाउनुपर्ने बताउनुभयो ।

    “यहाँ योग र ध्यान जस्ता साधाना तथा खोज र अनुसन्धान गर्नसक्ने परिवेशसहितको बुद्ध संस्कृतिसँग जोडिएका स्तुप र आकर्षक पूर्वाधारको विकास गरी स्वदेशी तथा विदेशी पर्यटकलाई न्यानो आतिथ्य दिनुपर्छ”, उहाँले भन्नुभयो । यस क्षेत्रमा पर्यटकलाई दिने उत्कृष्ट सेवा तथा सत्कारले उक्त दर्शनको मूल मर्म र भावना पहिल्याउन योगदान पुग्ने बताउँदै उहाँले यसले गर्दा स्थानीय समुदायको समृद्ध जीवनमा सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

    राष्ट्रपति भण्डारीले लुम्बिनीलाई आधार बनाएर स्थापित लुम्बिनी बौद्ध विश्वविद्यालयले आफूलाई बुद्ध दर्शन र परम्पराको अध्ययन अनुसन्धान गराउने विषयमा ध्यान केन्द्रित गर्दै विश्वकै एक उत्कृष्ट प्राज्ञिकस्थलको रुपमा विकास गर्न दृढ सङ्कल्प लिनुुपर्ने बताउनुभयो ।

    लुम्बिनी क्षेत्रमा अवस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणको काम सम्पन्न भएपछि संसारका बौद्धमार्गीलाई अध्ययन अनुसन्धान गर्न सहज हुने भएकाले यसको निर्माण सम्पन्न गर्नका लागि सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने उहाँले बताउनुभयो ।

    विशेष प्रकारको धातुद्वारा निर्मित बुद्धको प्रतिमा अनावरणले दिगो विश्व शान्ति स्थापना गर्न मद्दत पुग्नुका साथै लुम्बिनीको विकासमा नयाँ आयाम थपिएको उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले विमानस्थलमा महाकरुणा बुद्धमूर्ति स्थापनाले सबैलाई सत्मार्गमा रहन सन्देश दिने बताउनुभयो ।

    देश समुन्नतिको दिशामा अगाडि बढिरहेको अवस्थामा विकासको महाअभियानलाई सार्थक तुल्याउन अग्रसर बन्नुपर्ने उल्लेख गर्दै उहाँले यहाँको भौतिक पूर्वाधारको विकासले यहाँका जनताको जीवनस्तर उकास्न सहयोग पु¥याउने बताउनुभयो ।

    प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँणले विमानस्थल निर्माणको कामलाई छिटो पूर्णता दिन आवश्यक रहेको बताउनुभयो । उहाँले विमानस्थलको काम अविलम्ब सम्पन्न गरी उद्घाटन गर्ने अवस्थामा पु¥याउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

    बुद्धको त्याग र तपस्या नेपालीका लागि अनुकरणीय रहेको बताउनुभयो । उहाँले बुद्धको ज्ञानलाई व्यवहारिक जीवनमा अनुशरण गर्न आवश्यक रहेको बताउँदै यसले समाज परिवर्तनमा सहयोग पुग्ने धारणा राख्नुभयो ।
    गौतम बुद्धको जन्म नेपालमा भएको भन्ने कुरा संसारभर स्थापित भएको उल्लेख गर्दै अब बुद्धको दर्शन र ज्ञानलाई व्यवहारिक प्रयोगमा लयाउने गरी प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुभयो ।

    नेपाल सामाजिक, धार्मिक, सांस्कृतिक हिसाबले विविधतायुक्त मुलुक भएको बताउँदै गृहमन्त्री खाँणले यो नेपालको महत्वपूर्ण विशेषता र सम्पदा भएको बताउनुभयो । “एकले अर्कोलाई सम्मान गर्ने हाम्रो परम्परा हो यो विश्वमै अनुकरणीय छ । यसलाई विमानस्थलमा राखिएको महाकरुणा मूर्तिले थप बल प्रदान गर्ने छ”, उहाँले भन्नुभयो ।
    राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनाले गौतमबुद्धले दिनुभएको शान्ति र अहिंसाको सन्देश अहिले पनि उत्तिनै सान्दर्भिक रहेको बताउँदै बुद्ध दर्शनले बाह्य मुलुकलाई नेपाल र नेपालीसँग जोड्ने काम गरेको बताउनुभयो । विज्ञान र प्रविधिमा भएको विकास तथा अस्त्र र शस्त्रको निर्माणले मानवजातीलाई असर गरेको उल्लेख गर्दै हत्या र हिंसाले शान्ति सम्भव नहुने भएकाले विकास शान्ति, विकास र समृद्धिमा केन्द्र हुनुपर्ने धारणा राख्नुभयो ।

    स्पेनका सभामुख बलान्का मार्टिक डेल्गाडोले बुद्ध र शान्तिको सन्देशले स्पेन र नेपाललाई जोड्ने अभियानमा रहेको बताउनुभयो । उहाँले नेपालमार्फत एशियामा राम्रो सम्बन्ध विस्तार गर्न चाहेको उल्लेख गर्नुभयो । लुम्बिनी गार्डेन फाउण्डेशनका अध्यक्ष जोसे म्यानुअल भियानोले बुद्ध संस्कृति र दर्शनलाई विश्वभर चिनाउन दुई देशको सहकार्यले महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।

    करिब रु दुई अर्ब ५० करोड बराबरको लागतमा बहुमूल्य धातुबाट बनेको बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेसनले नेपाल सरकारलाई हस्तान्तरण गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको हो । सो बुद्धमूर्ति म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालबिन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउण्डेसनलाई दिएको हो । एक हजार ८०० केजी तौल भएको बुद्धमूर्ति १।९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको छ ।

    बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बनेको बुद्धमूर्ति म्यान्मार, हङकङ, भारत हुँदै कोलकाता बन्दरगाहबाट कात्तिक ४ गते भैरहवा ल्याएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.