सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पछिल्लो समय चितवनमा पुष्प व्यवसायमा युवाको आकर्षण बढ्दो


  •    न्युजभित्तो/९ कार्तिक २०७८, मंगलवार १०:५५ 
  • नारायण अधिकारी

    चितवन, ९ कात्तिक । जिल्लामा पछिल्लो समय पुष्प व्यवसाय गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ । यो व्यवसायमा यहाँका युवा आकर्षित भएका छन् । भरतपुर महानगरपालिका–७ मा दुई युवा मिलेर जग्गा भाडामा लिई पुष्प व्यवसाय गर्दै आएका छन् ।

    अजय यादव र सागर कार्कीले संयुक्तरूपमा एक बिघा १० कठ्ठा जग्गा भाडामा लिएर २१ कठ्ठा जग्गामा फूलखेती गर्नुभएको छ । अहिले उहाँहरूको बारीमा सयपत्री फूल ढकमक्क फुलेका छन् । कृर्षिमा अध्ययन गर्नुभएका यादव र इञ्जीनियरीङ पढ्नु भएका कार्की विगत चार वर्षदेखि पुष्पखेतीमा लाग्नुभएको हो । सुरुआती वर्ष प्रयोगका लागि १०० वटा बिरुवा रोपेर व्यवसाय सुरु गर्नुभएका यादव र कार्की अहिले एक बिघाभन्दा बढी क्षेत्रफलमा पुष्पखेती गर्दै आउनुभएको छ ।

    भाडामा लिएको जग्गामध्ये २१ कठ्ठामा उहाँहरूले व्यावसायिकरूपमा सयपत्री पुष्प व्यवसाय गर्नुभएको छ भने अन्यमा नर्सरी र अध्ययनका लागि काम गरिरहनुभएको छ । यादवका अनुसार माली दाइ एग्रो इनोभेशन प्रालि नाम दिएर उहाँहरूले कुन मौसममा सयपत्री फूललाई कसरी लगाउन सकिन्छ भन्ने विषयमा अध्ययन गरिरहनुभएको छ । यादवले भन्नुभयो, “व्यावसायिकरूपमा खेती गर्दा अध्ययन आवश्यक भएकाले अध्ययनको काम पनि सँगै अघि लगिएको छ ।”

    अध्ययन गर्ने क्रममा करोडौँको फूल नेपाल भित्रने भन्ने सुनेपछि आफूहरूले त्यसको बजार प्रतिस्थापनका लागि यो व्यवसाय अँगालेको उहाँले बताउनुभयो । उहाँले सम्झनुभयो, “एक सय बिरुवाबाट सुरुआतीमा रु १० हजार नाफा भएको थियो । त्यसैको प्रेरणाले अहिले व्यावसायिकरूपमा गरियो ।” उहाँहरूले दोस्रो वर्ष तीन कठ्ठा जग्गामा र तेस्रो वर्ष छ कठ्ठा जग्गामा पुष्प व्यवसाय गर्नुभएको थियो । दोस्रो वर्षमा रु एक लाख र तेस्रो वर्षमा रु दुई लाख नाफा भएपछि उहाँहरूलाई यो व्यवसाय गर्न प्रोत्साहन मिलेको यादवले बताउनुभयो ।

    कार्कीका अनुसार सयपत्री फूलमा अहिलेको चार महिनामात्रै व्यापार हुने गरेको छ । यसलाई १२ महिना नै व्यवसाय कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न लागिएको छ । यस कम्पनीले अहिले १० हजार मालाको व्यापार गर्ने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो । यहाँबाट फूलका बिरुवासमेत बिक्री वितरण गरिएको थियो । पुष्प व्यवसायमा शीतभण्डार नहुँदा यसलाई लामो समयसम्म राख्न नसक्नु मुख्य समस्याका रूपमा रहेको व्यवसायीले बताएका छन् ।

    फ्लोरिकल्चार एशोसिएशन नेपाल चितवनका कोषाध्यक्ष शुलभ श्रेष्ठ अहिले यो व्यवसायमा युवापुस्ताको आकर्षण बढेको बताउनुहुन्छ । विगत आठ वर्षदेखि उज्ज्वल नर्सरीको नाममा पुष्प व्यवसाय गर्दै आउनुभएका श्रेष्ठले अहिले तीन बिघा क्षेत्रफलमा फूलखेती गर्नुभएको छ । उहाँले भन्नुभयो, “अहिले व्यावसायिकरूपमा भन्दा पनि मौषमीरूपमा यो खेती गर्नेको सङ्ख्या बढ्दै गएको छ ।” अहिले आफ्नो थोरै बारीमा समेत तिहारलक्षित गर्दै पुष्पखेती गर्नेहरूको सङ्ख्या बढेको भन्दै उहाँले यो व्यवसायमा युवापुस्ता अघि सरेको बताउनुभयो । उहाँले भन्नुभयो, “चार दिनका लागि फूल लगाउने धेरै भए । अब यसलाई निरन्तरता दिनसके हुन्थ्यो ।”

    एशोसिएशनका अध्यक्ष अमर घलेले तिहारलाई लक्ष्य गर्दै जिल्लामा अहिले ४० बिघा क्षेत्रफलमा पुष्पखेती भइरहेको बताउनुभयो । यसमा अहिले नियमित यही व्यवसायमा लागेका भन्दा आंशिकरूपमा खेती गर्ने बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखि व्यावसायिकरूपमा गर्ने ५५ जना कृषक हुनुहुन्छ । अरु सबै आंशिकरूपमा हो ।” गत वर्षभन्दा अहिले फूलखेतीको क्षेत्रफल र खेती गर्नेको सङ्ख्या पनि बढेको उहाँको भनाइ छ । खेती गर्ने अधिकांश युवा रहेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा अध्ययनरत विद्यार्थीले पनि समूह बनाएर तिहारलक्षित फूलखेती गर्दै आएका छन् । जिल्लामा अहिले १० लाख बिरुवा लगाइएको भन्दै उहाँले भन्नुभयो, “हामीले चितवनको बजारमा अहिले दुई लाख माला पु¥याउने लक्ष्य लिएका छौँ ।” यहाँ पाँच लाख माला खपत हुने उहाँको अनुमान छ । जसमध्ये एक लाख ५० हजार माला भारतबाट आयात हुने उहाँले जानकारी दिनुभयो । अन्य छिमेकी जिल्लाबाट आउने उहाँले बताउनुभयो ।

    आंशिकरूपमा व्यवसाय गर्नेका कारण बजार मूल्यमा एकरुपता नआउने डर बढेको उहाँको भनाइ छ । अहिले बजारमा मालाको मूल्य रु ८० र एक किलो फूलको रु २५० भन्दामाथि नजाने उहाँले जानकारी दिनुभयो । अहिले व्यावसायिकरूपमा खेती गरेका व्यवसायीले बिक्री वितरणका लागि आफ्नै स्टल खोलेर बिक्री वितरण गर्ने योजनामा रहेका छन् । यहाँको फूलको बजार चितवन, काठमाडौँ, पोखरालगायतका ठूला सहर छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.