सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका आदीवासी भूमिपुत्र थारू जातिले यसरी मनाउँदैछन् ‘जितिया पर्व’


  •    न्युजभित्तो/१३ आश्विन २०७८, बुधबार १०:५४ 
  • चितवन,१३ असोज । चितवनका आदीवासी भूमिपुत्र थारु जातिले ‘जितिया पर्व’ मनाइरहेका छन् । थारुहरुको बाक्लो बसोवास रहेको पूर्वी चितवन, पश्चिम चितवन र माडी क्षेत्रमा जितियाको विशेष उल्लास छ ।

    आज थारु समुदायका महिलाहरु बिहानैदेखि निराहर व्रत बसी झाम्टा नाच नाच्दै, गाउँदै जितिया मनाइरहेका छन् । बिहानै नुहाइधुवाइ गरी बेलको पात टिपेर दिनभर निराहर व्रत बसी महिला तथा युवतीहरु यो पर्व मनाउँछन् ।

    बिहान दर खाएपछि महिलाहरु एक ठाउँमा जम्मा भएर गीत गाउँदै रमाइलो गर्छन् । तीन दिनसम्म विभिन्न धार्मिक कार्य गरी यो पर्व मनाइने थारु महिला अगुवाहरुको भनाइ छ ।

    चितवनको पूर्वी क्षेत्र रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका, पश्चिम क्षेत्र मेघौली र माडीमा जितियाको रौनक छाएको छ । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाइन्छ ।

    आज जितियाको दोस्रो दिन अर्थात मूख्य दिन हो । सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ । आज अष्टमीको दिन भएकोले महिलाहरू विहानैदेखि ‘उपास’ व्रत बसी झम्टा नाँच नाचेर रमाउँछन् ।

    महिलाहरू नयाँ सांस्कृतिक भेषभूषा लगाई दिनभरि नै झमटा नृत्यमा झुमेर रम्छन् । आज बेलुकीपख ब्रतालुहरु फेरि खोलामा गइ पिनाले नुहाइ पातमा पिना बगाउँछन् । त्यसपछि सबै व्रतालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन छ ।

    रुखको चारैतिर व्रतालु महिलाहरू फलफूल, पानी, दूध, दही साथै बिहान भिजाएको मास र चामल लिएर बस्छन् ।

    गाउँको कुनै एक भद्र पुरुषले जीतबाहनको कथा (जितिया व्रत कथा) घण्टौं लगाएर सुनाउँछ । कथा सकिएपछि सबै जना घर गएर फलाहार गर्छन् । त्यसलाई ‘फराहर’ भनिन्छ ।

    भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै सबै व्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति (जसलाई थारु भाषामा ‘गरग्वाङ’ भनिन्छ)बनाएर मासको गेडाले पूजा गर्छन् ।

    खोलाबाट घर आइसके पछि ब्रतालुहरुले दहि चिउरा, केरा लगायतका खानेकुरा खान बस्छन् तर खानु भन्दा अगाडि गुइठाको अङ्गारमा काठको धूप बालेर सबै खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई ‘पारन’ भनिन्छ । त्यसपछि भने व्रत सकिएसँगै जितिया पर्व सकिन्छ ।

    हिन्दु धर्मालवम्बी नेपाली महिलाहरुले मनाउने तीज जस्तै थारु समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका छन् । जितिया पर्वको आफ्नै धार्मिक तथा साँस्कृतिक महत्व रहेको छ । जितियामा व्रत बसेपछि आफ्नो मनोकांक्षा पूरा हुने विश्वास रहेको छ ।

    थारु समुदायका धेरै चाडपर्वहरु लोप हुने अवस्थामा पुगेका छन् । त्यसैले जितिया पर्वलाई लोप हुन नदिन थारु महिला अगुवाहरु पनि सक्रिय छन् । युवा पिढिहरुलाई जितियाको महत्व र यस पर्वमा हुने क्रियाकलाप बारे युवायुवतीहरुलाई जानकारी दिने गरेका छन् । पछिल्लो समय जितिया पर्व सुरु हुनुपूर्व नै प्रतियोगितात्मक कार्यक्रमहरु पनि हुने गरेका छन् । चितवनको समथर भूभागमा झन्डै एक लाख ३० हजार हाराहारीमा थारु समुदायको बसोबास छ ।

    तराईमा बसोबास गर्ने थारु जातिका महिलासँगै मधेसी, मैथिली जातिले पनि जितिया पर्व मनाउने गर्छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
    गर्मी बढेसँगै मोहीको माग बढ्दो
    संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
    • कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
    • अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
    • सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की
    • थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.