सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल


  •    न्युजभित्तो/१५ जेष्ठ २०८३, शुक्रबार १५:०३ 
  • काठमाडौँ, १५ जेठ । सभामुख डोलप्रसाद अर्यालले संसद् केबल कानुन निर्माण गर्ने थलोमात्र नभई लोकतान्त्रिक मूल्यमान्यता, उत्तरदायित्व, संवाद, सहमति र राष्ट्रिय हितको संरक्षण गर्ने प्रमुख मञ्च भएको बताउनुभएको छ । 

    उन्नाइसौँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले लोकतन्त्रलाई थप सुदृढ, जिम्मेवार तथा परिणाममुखी बनाउने दिशामा संसद्को भूमिका अझ प्रभावकारी बनाउन आवश्यक रहेकामा जोड दिनुभएको छ । 

    लोकतन्त्रको सुदृढीकरणबाट मात्र जनताले अपेक्षा गरेको सुशासन, भ्रष्टाचार नियन्त्रण र जनमुखी विकास प्राप्त हुने र राष्ट्र समृद्ध हुने उहाँको भनाइ छ । 

    “आजको दिन नेपाली जनताको लामो राजनीतिक सङ्घर्ष, त्याग, बलिदान, समर्पण तथा लोकतान्त्रिक आकाङ्क्षाको महत्वपूर्ण उपलब्धिका रूपमा इतिहासमा अङ्कित दिन हो”, उहाँले भन्नुभएको छ, “विसं २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक अभ्यास, समावेशी शासन प्रणाली तथा सामाजिक न्यायको दिशामा भएको ऐतिहासिक परिवर्तनको गर्वमय अभिव्यक्ति हो ।”

    सभामुख अर्यालले यस ऐतिहासिक अवसरमा लोकतन्त्र, गणतन्त्र, मानव अधिकार, समावेशिता, सामाजिक न्याय तथा प्रगतिशील परिवर्तनका पक्षमा भएका जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलन, महिला आन्दोलन अन्य लोकतान्त्रिक सङ्घर्षमा आफ्नो जीवनउत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । 

    साथै घाइते, बेपत्ता पीडित तथा आन्दोलनका सम्पूर्ण योद्धा, अभियन्ता र परिवर्तनका संवाहकप्रति पनि उहाँले उच्च सम्मान व्यक्त गर्नुभएको छ । 

    “लोकतन्त्रको वास्तविक अर्थ नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन, सामाजिक न्यायको प्रत्याभूति, अवसरको समान पहुँच, आर्थिक समृद्धि तथा सम्मानपूर्ण जीवनयापनको वातावरण निर्माणसँग यसको प्रत्यक्ष सम्बन्ध रहन्छ”, उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ 

    प्रतिनिधिसभा जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्था भएकाले जनभावना, जनचाहना तथा राष्ट्रिय आकाङ्क्षालाई नीति, कानुन र संसदीय अभ्यासमार्फत सम्बोधन गर्ने महत्वपूर्ण दायित्व निर्वाह गरिरहेको उहाँको भनाइ छ । 

    “गणतन्त्र दिवसले हामी सबैलाई राष्ट्रिय एकता, लोकतान्त्रिक संस्कार, संवैधानिक सर्वोच्चता, सामाजिक न्याय तथा विकसित नेपाल निर्माणको साझा राष्ट्रिय सङ्कल्पप्रति थप प्रतिबद्ध, प्रेरित र एकताबद्ध बनाउन सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दै यस अवसरमा सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, उहाँले भन्नुभएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस वरिष्ठ नेता श्रेष्ठको अन्त्येष्टि
    ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
    निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
    • नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    • हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु
    • शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी
    • बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.