सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राजश्व छली रोक्न कडाइ : साउन १ देखि अनलाइन ट्र्याकिङ प्रणाली


  •    /२८ असार २०७६, शनिबार १८:१५ 
  • काठमाडौँ । एउटै बीलबिजक देखाएर पटकपटक मालवस्तु बिक्री तथा ढुवानी गर्दै आएका व्यवसायीलाई राजश्व तिर्न बाध्य गराउने गरी सरकारले आगामी साउन १ गतेदेखि वेभमा आधारित केन्द्रीय सूचना प्रणाली लागू गर्ने भएको छ ।

    राजश्व छली गर्ने उद्देश्यले एउटै बीलबिजक देखाउँदै व्यवसायीले मालवस्तु आयात, निर्यात तथा बिक्री वितरण गर्दै आएका थिए । सरकारको राजश्वमा समेत त्यसले नकारात्मक प्रभाव पर्दै आएको थियो । सरकारले लागू गर्न लागेको ‘भेइकल एण्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टमले विद्युतीय रुपमा नै राजश्व छलीका घटना अन्त्य गर्ने विश्वास लिइएको छ ।

    राजश्वका लागि स्थापना गरिएका ढाट हटाउने र विद्युतीय रुपमा नै अनुगमन गर्ने उक्त प्रणालीले व्यवसायीलाई समेत सहज हुनेछ । यस्तै, प्रविधिको प्रयोगले राजश्व उठाउने सरकारको लक्ष्यलाई समेत सहयोग पुर्याउने छ । उक्त प्रणाली कार्यान्वयनमा आएपछि राजश्व छली नगर्ने व्यवसायीलाई थप सहयोग पुग्ने राजश्व अनुसन्धान विभागका सूचना अधिकारी राजीव पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ प्रणालीले राजश्व छली गर्ने तथा मालवस्तुको चोरी, निकासीलाई निरुत्साहित गर्नेछ ।”

    अघिल्लोपटक मालसामान ढुवानीका क्रममा सो अनलाइनमा प्रविष्ट गरिएको बिजक पछिल्लोपटक पनि प्रविष्ट गर्न नमिल्ने गरी प्रणालीको विकास गरिएको छ । उक्त व्यवस्थासँगै प्रत्येक व्यावसायिक कारोवारमा छट्टाछुट्टै बिजक जारी गर्नुपर्ने छ । मालवस्तु व्यापार गर्ने सम्पूर्ण कारोवारी यस प्रणालीमा अनिवार्य दर्ता हुुनुपर्ने विभागले जनाएको छ ।

    व्यावसायिक प्रयोजनका लागि मालसामानको आन्तरिक ओसारपसार गर्ने, आयात–निर्यातकर्ता, भन्सार एजेन्ट, ढुवानी व्यवसायी, उद्योग, वितरक तथा थोक बिक्रेताले मालसमानको थोकस्तरमा बिक्री वितरण गर्दा अनलाइन प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ । प्रणालीको सहजै प्रयोगका लागि विभागको वेभसाइट धधध।मचष्।नयख।लउ मा निःशुल्क दर्ता गर्ने व्यवस्था मिलाइएको छ । उक्त प्रणालीमा कसरी समावेश हुने भन्नेसम्बन्धी पूर्ण जानकारी वेभसाइटमा नै राखिएको छ ।

    सरकारले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा १३(ग) को उपदफा १ ले गरेको व्यवस्थाअनुसार उक्त प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो । सरकारले साउन १ गतेदेखि अनिवार्य रुपमा वेभमा आधारित केन्द्रीय सूचना प्रणालीमा प्रविष्ट गरेर मात्र मालसामान ढुवानी गर्नेसम्बन्धी सूचना यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गरिसकेको छ । मालसामान ढुवानीका क्रममा अनलाइनमा प्रविष्ट गरिएको विवरणलाई विभागले केन्द्रबाट नै अनुगमन गर्नेछ । विशेषत सरकारले मालवस्तु व्यापारमा यो प्रणाली लागू गर्न लागेको भए पनि सेवा क्षेत्रमा भने उक्त प्रणाली लागू हुने छैन ।

    विभागको चेकपोष्ट नहुने
    अनलाइन प्रणाली कार्यान्वयनमा आएसँगै राजश्व छली भए वा नभएको भनेर अनुगमन गर्न राखिएका चेकपोष्ट अब नहुने भएका छन् । “पूर्णतः डिजिटल प्रणाली भएकाले अब विभागका चेकपोस्ट रहँदैनन्”, विभागका निर्देशक टङ्कप्रसाद पाण्डेयले भन्नुभयो, “अब राजश्व छली गरेको शङ्का भएमा विभागको ‘मोबाइल’ टोलीले जाँच गर्नेछ ।”

    विभागअन्तर्गत चार क्षेत्रीय कार्यालय र सोअन्तर्गत पाँच चेकपोष्ट रहेको छ । झापाको चारआली, महोत्तरीको बर्दिवास, नवलपरासी (पश्चिम)को बर्दघाट, चितवनको रामनगर र कैलालीको अत्तरियामा विभागको चेकपोष्ट रहेको छ । पूर्णतः अनलाइन प्रणाली भएकाले कुनै हालतमा व्यापारिक लागत नबढ्ने विभागले जनाएको छ ।

    यसरी राजश्व छल्थे व्यापारीले

    अनलाइन प्रणालीको व्यवस्था नहँुदा व्यवसायी तथा व्यापारीले विभिन्न बहाना बनाएर राजश्व छली गर्दै आएका थिए । यसअघि उत्पादक, अयातकर्ता, निर्यातकर्ता, थोक बिक्रेतालगायत व्यापारिक कारोवार गर्नेले एउटै बिजकमार्फत पटक–पटक सामान बिक्री गरेको देखाउँदै आएका थिए । जसले गर्दा राज्यले ठूलो मात्रामा राजश्व गुमाउँदै आएको थियो ।

    राज्यसँग व्यापारीको बदमासी रोक्नै कुनै औजार नै थिएन । कुनै सामान एक स्थानबाट अर्को स्थानमा पुर्याउँदा राजश्व अनुसन्धान विभागको चेकपोष्टमा देखाएर लैजाने चलन थियो । त्यसरी सामान लैजाँदा व्यवसायीले उक्त बिजकको प्रतिलिपि चेकपोष्टमा छाड्ने गरेका थिए । ठूलो मात्रामा सामान ढुवानी हुँदा विभागको चेकपोष्टमा बिजकको ‘प्रतिलिपिको चाङ’ थुप्रिने गरेको थियो । तर व्यवसायी भने अघिल्लोपटक सामान बिक्री गर्दा काटिएको बिजक नै देखाएर पछिल्लोपटक पनि सामान बिक्री गर्न अभ्यस्त भइसकेका थिए ।

    विभागमा बिजकको प्रतिलिपिको चाङ थुप्रिए पनि विभागले उक्त कागजातको अध्ययन गर्न सकेको थिएन । “कागजमात्र थुप्रिदा हामीले अनुसन्धान गर्न सकेका थिएनौँ”, निर्देशक पाण्डेयले भन्नुभयो, “अनलाइन प्रणाली भएपछि तथ्याङ्कको भरपुर प्रयोग गरी अनुसन्धान गर्न सहज हुनेछ ।” यो प्रणाली प्रयोगमा आइसकेपछि राजश्व छली पूर्णरुपमा अन्त्य हुने विभागको विश्वास छ । उहाँले व्यवस्था कार्यान्वयनमा आएसँगै राजश्व छलीका घटना अन्त्य हुने बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.