सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विलाएर गए एउटा ज्ञानको भण्डार महेश्वरलाल श्रेष्ठ


  •    न्युजभित्तो/२४ जेष्ठ २०७८, सोमबार १०:१२ 
  • रमेश कुमार पौडेल

    काँग्रेसको राजनीति गरेका महेश्वरलाल श्रेष्ठ चितवनको समाज, भूगोल र वातावरणसँग गहिरो ज्ञान राख्ने व्यक्ति थिए । सूर्यभक्त अधिकारीको निधन भएपछि त्यो बेला गैंडाकोटमा नेपाली काँग्रेसले श्रद्धाञ्जली सभा राखेको थियो । काँग्रेसका तत्कालिन नेता सुशिल कोइराला लगायत मन्त्री राज्यमन्त्रीहरुको त्यो कार्यक्रममा ठूलो जमघट थियो । सूर्यभक्तको परिचय दिन भनेर उद्घोषकले महेश्वरलाल श्रेष्ठको नाम बोलाए । श्रेष्ठलाई मैले ख्याल गरेको त्यही बेलादेखि हो । त्यो कार्यक्रममा श्रेष्ठले स्वर्गीय अधिकारीका बारेमा आफुले जाने बुझेका कुरा लेखेर लगेका रहेछन्, कागज झिकेर पढ्न थाले । अधिकारीका धेरै पक्षहरु उनी खुलाउँदै थिए तर समय नभएको भनेर सबै पढ्न दिइएन । उनी अलि निन्याउरो मुख लगाएर कार्यक्रमभर बसी रहे । त्यसपछि मानव अधिकार तथा शान्ती समाजका कार्यक्रममा उनी आउन थाले । प्रजातन्त्र सेनानीका रुपमा उनी शान्ती समाजका धेरै कार्यक्रममा प्रमुख अतिथि बन्ने गर्दथे । त्यहाँ उनले जिल्ला मात्रै नभएर देश देशावरका कुराहरु तथ्यपरक र बडो रोचक रुपमा राख्ने गर्दथे । मानव अधिकार र प्रजातन्त्रका सैद्धान्तिक पक्ष र समसामायिक विश्व अवस्थाका बारेमा बोल्थे ।

    उनको घर नारायणगढ बालकुमारी कन्या माविको आडैमा रहेछ । प्रायः उनी पेटीमा बसेका देखिन्थे । देखेका बेला मैले नमस्कार गर्दथे । उनले पनि मलाई विस्तारै ख्याल राख्न थाले । त्यसपछि कार्यक्रममा भेट हुँदा बाटामा भेट हुँदा र घर अगाडी भेट हुँदा कुशल मंगल सोध्ने केही बेर गफिने हुन थाल्यो । कार्यक्रमहरुमा उनी यहाँका थारु समुदाय, पुरानो चितवन, यो ठाउँको धार्मिक धरोहरका कुरा, ऐतिहासिक विवरणहरु, पुरातत्व वस्तुहरुका बारेमा मिहिन तरिकाले बताउने गर्दथे । सोमेश्वर पहाड क्षेत्रमा धेरै पुरातात्विक वस्तुहरु रहेको र उत्खनन् भए एउटा ऐतिहासिक कालखण्डको पटाक्षेप हुने बताउँथे । सोमेश्वर क्षेत्रमा पाइने टायल र माटाका भाँडा तथा मूर्तीका टुक्राहरुले ऐतिहासिक कथा बोकेको छ भन्थे ।

    राजनैतिक रुपमा सचेत थिए । पञ्चायत आएपछि त्यसका विरुद्ध १८ सालमा चितवनमा काँग्रेसले सशस्त्र संघर्ष ग¥यो । त्यो बेला भरतपुर नै कब्जा भएको थियो । तर पछि सेनाले त्यसलाई असफल बनायो । काँग्रेसका धेरै नेता कार्यकर्ताहरुको हत्या भयो । धेरै निर्वासनमा गए । मुद्दा चल्यो । यो संघर्षका एउटा महत्वपूर्ण व्यक्ति हुन् महेश्वरलाल श्रेष्ठ । कार्यक्रमहरुमा उनी माओवादी सशस्त्र संघर्षको भने विरोध गर्दथे । एक पटक मैले उनलाई सोधेको थिएँ “सशस्त्र संघर्ष त तपाइँले पनि गर्नु भयो । तर माओवादीको सशस्त्र संघर्षको विरोध किन ?” उनले भनेका थिए “हामीले प्रजातन्त्रका लागि सिधै सत्तालाई हानेका हौं । किन कि त्यो बेला सत्ताले प्रजातन्त्र मासेको थियो । त्यो प्रजातन्त्र ल्याउन भनेर हामीले सिधा पुलिस र प्रशासनमाथि धावा बोल्यौं ।” उनले थपेका थिए ‘तर माओवादीहरुले प्रजातन्त्रका लागि हैन अन्तराष्ट्रिय कम्युनिष्ट मुभमेन्टका लागि नेपालमा हतियार चलाएका छन् । उनीहरु सर्वसाधरणमाथि पनि जाइलागेका छन् । र उनीहरुको उद्देश्य कम्युनिष्ट सत्रा ल्याउने हो । कम्युनिष्ट सत्तामा प्रजातन्त्र हुँदैन । प्रजातन्त्र नहुने भएपछि हामीले कसरी समर्थन गर्ने ?” अनि भन्थे “हामीले प्रजातन्त्रका लागि पार्टीको निर्णयका आधारमा संघर्ष गरेको हो उनीहरुले अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन रिमको निर्देशनमा हतियार उठाएको हो ।”

    उनी आफ्नो पक्षमा राम्रा तर्क र आधारहरु प्रस्तुत गर्दथे । सुनौ सुनौ लाग्ने धेरै कुराहरु गर्दथे उनी । राजनीति मात्र हो र वन वातावरणका बारेमा पनि उनी तर्कपूर्ण कुरा गर्दथे । एक पटक सुदर्शन प्राधानले आँपटारी जलदेवी वनको कार्यालयमा वनको महत्व र चितवनका वनका बारेमा कार्यक्रम राखे । त्यहाँ बोल्न महेश्वरलाल पुगेका थिए । यी राजनैतिक मान्छेलाई किन बोलाएका होलान् भन्ने लागेको थियो । तर उनले चितवनका वनका बारेमा आफुले देखेका कुराहरु धमाधम राख्न थाले । यहाँ कत्रा कत्रा वन थिए, ति कसरी बिलाए, वन बिलाएपछि के के विनास भयो सबै सुनाए । सुनाउँदा सुनाउँदै उनले चितवनको गोलाघाटमा आसामका हात्तीहरु आएर पानी खान्थ्यो समेत भने । मलाई लाग्यो “यो त अलि बढी नै भने ।” तर पछि नेशनल जियोग्राफी च्यानलले जंगली हात्तीको बारेमा एउटा डकुमेन्ट्री देखाएको थियो । जसमा हात्तीका आनिवानी र आहार र पानीका लागि उसले के के गर्दछ भन्ने जानकारी समेटिएको थियो । हात्ती पानी र आहाराको खोजीमा १८ सय किलो मिटरसम्म यात्रा गर्दछ भन्ने जानकारी त्यो डकुमेन्ट्रिमा थियो । आसाम र चितवनको दुरी १८ सय किलो मिटरभन्दा कम छ । त्यसैले म पक्का भए महेश्वरलाल श्रेष्ठले बोल्ने हरेक कुरामा दम छ ।

    एक पटक म्याग्दी तिर पहिरो खसेर नदी थुनियो । थुनिएको नदी अचानक बग्न थाले चितवनसम्म प्रभाव पर्दछ भन्ने चर्चा चल्यो । संयोगबस महेश्वरलाई श्रेष्ठसँग घर अगाडी नै भेट भए । मैले उनलाई यो प्रशंग सुनाए । उनले पहिला पहिला पनि यसरी माथि पहाडमा नदी थुनेर ताल बनेको र ताल फुट्ने गरेको बताए । अनि म्याग्दिमा बनेको ताल फुट्दा यता खासै प्रभाव नपर्ला है भने । तर सावधानी अपनाएको राम्रो भने ।

    ०६२÷०६३ को आन्दोलन सफल भयो । माओवादीले सरकारसँग वार्ता ग¥यो । त्यो पनि सफल भयो । देशमा संविधान सभाको निर्वाचन हुने पक्का भयो । यो बेला कुरा गर्न मिल्ने उपयुक्त पात्र महेश्वरलाल श्रेष्ठ हुन सक्छन् भनेर हामी उनलाई भेट्न उनको घर गयौं । उनी प्रफुलित हुँदै भने “१४ सालमा संविधानसभाका लागि सत्याग्रह गरेको हो । अहिले आएर बल्ल संविधानसभाको निर्वाचन हुने भयो । म त निकै खुसी छु ।” त्यसपछि लामो कुराकानी गर्ने अवसर कहिल्यै जुरेन । तर आमने सामने धेरै पटक भइयो । यिनका ज्ञान गुनका कुरा सुन्न धेरै मन थियो । दुई चार घण्टा हैन दिनहुँ सुनेर पनि नसकिने जानकारी थियो । जसमा चितवनको पुरानाकथाहरु लुकेका थिए । तपाइँसँग बस्न छ लामै समय लिएर भन्दा उनी हाँस्दै ‘भइ हाल्छ भन्थे ।’ काठमाडौंबाट आदरणीय गुरु पत्रकार मोहन मैनाली सर भन्नु हुन्थ्यो ‘हो हो सुन्नु पर्दछ उहाँका कुरा ।’ अलि अस्ती विदेशबाट पत्रकार श्रीभक्त खनालले पनि भेट्नुस भेट्नुस भन्दै हुनुहुन्थ्यो । उनलाई उमेरले धकेल्दै ल्याएको थियो । धेरै कुरा बिर्सने खतरा थियो । तर कोभिडको यो मारमा भेटि हाल्न पनि डरै थियो । कोभिड शान्त होस भेट्नै पर्ने छ भनेर बसेका बेला अचानक नराम्रो खबर आयो । त्यो खबर थियो श्रेष्ठ घरमा लडेर टाउकामा चोट लागेको र काठमाडौं न्युरो अस्पतालमा उपचारका लागि भर्ना भएको भन्ने थियो । श्रेष्ठ चाँडै निको होउन भन्ने कामना गरियो । अब निको भएर आए पनि ति पुराना कुरा बेली बिस्तार लगाउन सक्ने भएर फर्कन्छन भन्ने आशा भने थिएन । एउटा ज्ञानको धरोहर हाम्रो वेवास्ताले त्यसै बिलाउने भयो भन्ने थकथक लाग्यो ।

    अस्ती शुक्रबार मात्रै नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठसँग भेट भएको थियो । त्यहाँ महेश्वरलाल श्रेष्ठको प्रशंग निस्कियो । चितवन काँग्रेसले दस्तावेजका रुपमा जोगाउनु पर्ने महेश्वरलाल श्रेष्ठ जस्ता धेरै धरोहर छन् । यीनले जे बोल्छन् त्यसलाई सुरक्षित राख्ने काम गर्नु प¥यो भनियो । महेश्वरलाल श्रेष्ठ कहिले निको भएर फर्कने हुन्, फर्के पनि अब उनलाई पुराना कुरा कति याद हुने हुन् भन्दै हामी आ–आफ्नो बाटो लाग्यौं । तर त्यसको भोलिपल्टै शनिबार जीतनारायणले महेश्वरलाल श्रेष्ठको निधन भएको पोष्ट राखे । उनीसँगै चितवन बारेका धेरै कथाहरु खरानी भए । महेश्वरलाई श्रेष्ठ काँग्रेस हुन् भनेर अरुले वास्ता गरेनन्, काँग्रेसभित्र महेश्वरलाल जस्ताको मानमनितो थिएन । अनि बिलाएर जान्छ ज्ञान । (पत्रकार रमेशकुमार पौडेलको फेसबुक वालबाट)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.