सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जग्गा गुठीमा दर्तापछि सरकारी सुविधाबाट वञ्चित


  •    न्युजभित्तो/२३ जेष्ठ २०७८, आईतवार १५:०० 
  • रोल्पा, २३ जेठ । तीन स्थानीय तहका १८८ घरधुरीको जग्गा गुठीका नाममा दर्ता भएपछि स्थानीय सरकारी सेवा र सुविधा पाउनबाट वञ्चित भएका छन् । आवादी जग्गा, खेत र घरसमेत विभिन्न धार्मिक मठमन्दिरका नाममा दर्ता भएपछि उनीहरु सम्पत्तिको अधिकारबाट समेत वञ्चित भएका हुन् ।

    जग्गा आफ्नो नाममा नहँुदा २०५२ सालयता मालपोत तिरो तिर्न नपाएको जग्गाधनीहरुको भनाइ छ । “जग्गा हकभोग त गरेका छौँ, तर स्वामित्व आफ्नो नाममा नहुँदा धेरै कानूनी जटिलता व्यहोर्दै आएका छौँ”, त्रिवेणी गाउँपालिका–२ का धनबहादुर बस्नेतले भन्नुभयो । जग्गाको लालपुर्जा नहँुदा बैंकबाट ऋणकर्जा गर्न नपाएको उनीहरुको गुनासो छ । लालपुर्जा पेश गरेर सरकारी सेवा सुविधा लिने सबै ठाउँवाट वञ्चित हुनुपरेको बस्नेतले बताउनुभयो ।

    “नेपाल विद्युत् प्राधिकरणबाट मिटर लिँदासमेत लालपुर्जा खोज्ने भएकाले लालपुर्जा नहुँदा प्रत्येक घरधुरीले रु दुई हजार धरौटी शुल्क तिरेर मिटर निकालेका हौँ”, बस्नेतले भन्नुभयो । जग्गा अंशबन्डा गर्ने, किनबेच गर्ने जस्ता हक हस्तान्तरणका सबै काम रोकिँदा धेरै समस्या भोगेको उनीहरुको भनाइ छ ।

    कित्ता नापी हुनुपूर्व रैकरसरह खरीद बिक्री भएका ती जग्गा कित्ता नापी भएपछि गुठीको नाममा दर्ता भएको उनीहरुको भनाइ छ । साबिक सल्यान जिल्ला मालपोत कार्यालयबाट प्राप्त साबिकका मोठ पनि व्यक्तिकै नाममा थिए । कित्ता नापी टोलीले समेत व्यक्तिकै नाममा रसिद प्रमाणित गरेको थियो । नाप नक्साका क्रममा जग्गाधनी दर्ता प्रमाण पुर्जा तथा स्रेस्ता बन्नुअघि फिल्डबुकको कैफियत महलमा ‘यो जग्गा सिद्ध भगवान्त नाथ गुठीको रैतान गुठी हो’ भनी लेखिएका कारण स्थानीयवासी जग्गा भोगाधिकार भए पनि हस्तान्तरण गर्नबाट वञ्चित भएका छन् ।

    मालपोत कार्यालय रोल्पाका अनुसार त्रिवेणी–२ नुवागाउँ, वडा नं ६ बुढागाउँ र ७ गैरीगाउँ तथा रुन्टीगढी गाउँपालिका–२ सखीका १८८ घरधुरीको ३०७ कित्ता धार्मिक संस्थाका नाममा दर्ता भएको छ । त्रिवेणी–२ नुवागाउँ साबिक नुवागाउँ गाविस वडा नंं ४, ५ र ६ का ११० घरधुरीको १७२ कित्तामा रहेको दुई लाख २२ हजार ७०९ वर्गमिटर जग्गा श्री सिद्ध भगवान् नाथ गुठीका नाममा दर्ता भएको छ ।

    यसैगरी सोही गाउँपालिकाको वडा नं ६ बुढागाउँ साबिक बुढागाउँ गाविस– ९ को ३९ घरधुरीका ८१ कित्ता जग्गामा रहेको दुई लाख ४९ हजार ४२२ वर्गमिटर जग्गा खैरावाङ कालिका गुठीको नाममा दर्ता भएको छ । सोही गाउँपालिका–७ गैरीगाउँ साबिक गैरीगाउँ गाविसका १६ घरधुरीको २४ कित्तामा रहेको ४६ हजार ८७५ वर्गमिटर जग्गा सिद्ध भगन्तेनाथ गुठीका नाममा दर्ता भएको छ ।

    रुन्टीगढी गाउँपालिका–२ सखी साबिक सखी गाविस–१ र २ का २३ घरधुरीको ३० कित्तामा रहेको ७९ हजार २९० वर्गमिटर क्षेत्रफलको जग्गा ¥याले पौवागुठीका नाममा दर्ता भएको छ । जिल्लाको लुङ्ग्री गाउँपालिका–६ गुम्चाल साबिक गुम्चाल गाविस–१, २ र ३ मा रहेको १९२ कित्तामा फैलिएका तीन लाख ८५ हजार ९३५ वर्गमिटर जग्गा महादेव शिला गुठीमा दर्ता भएको छ । सो गुठीमा दर्ता भएको जग्गाको भने मोहियानी कायम गरिएको छैन ।

    जग्गाको नाप नक्साका क्रममा मागेको घुस नदिँदा नापीका कर्मचारीले सबै जग्गा गुठीमा राखिदिएको स्थानीयवासीको भनाइ छ । “घुस दिएकाको कान्ला र कमसल जग्गा गुठीमा राखेर खेत र राम्रा जग्गा दर्ता भएको छ”, स्थानीयवासी धनबहादुर बस्नेतले भन्नुभयो । गुठी भनी दर्ता भएका ती जग्गा आफ्नो नाउँमा दर्ता गरी ल्याउन धेरै प्रयास गरेको स्थानीयवासीको भनाइ छ ।

    उनीहरुले २०६५ साल फागुन २३ गते गुठी खारेज गरी रैकरसरह छुट जग्गा दर्तामा कारबाही गरी पाऊँ भनी मालपोत कार्यालय रोल्पामा निवेदन दिएका थिए । साबिक सखी गाविस–९ बस्ने पूर्णबहादुर डाँगी निवेदक रहेको सो निवेदनमा कित्ता नापी हुनुपूर्व रैकरसरह खरीदबिक्री भई कित्ता नापी टोलीले समेत व्यक्तिकै नाममा रसिद प्रमाणित गरेको, साबिक सल्यान मालपोत कार्यालयबाट प्राप्त साबिकका मोठ पनि व्यक्तिकै नाममा भएको, सिद्धभगवान्त नाथको गुठी नै खारेज भएको, नापनक्साका क्रममा जग्गाधनी दर्ता प्रमाण पुर्जा तथा स्रेस्ता बन्नुअघि फिल्डबुकको कैफियत महलमा यो जग्गा सिद्ध भगवान्त नाथ गुठीको रैतान गुठी हो भनी लेखिएका कारण यी जग्गा नभएको दर्ता नभएका हुन् भनी उल्लेख गरिएको छ । विसं २०३२ मा रोल्पा जिल्ला पुनः संरचना हुँदा ती जग्गा सल्यानबाट रोल्पा आएका हुन् ।

    उनीहरुको निवेदनबमोजिम मालपोत कार्यालय रोल्पाले विसं २०६५ फागुन २५ गते सोही ब्योहोराको गुठी संस्थान केन्द्रीय कार्यालयमा पत्राचार गरी भूमिसुधार तथा व्यवस्थापन विभागमा बोधार्थ पठाएको थियो । मालपोत कार्यालयको सो पत्रको जवाफ गुठी संस्थानले २०६६ साल वैशाख १६ गते पठाएको थियो । गुठी संस्थानले पठाएको पत्रमा गुठी अमानतबाट सञ्चालन भएर आएको देखिएको, सो गुठीका कुनै पनि जग्गा गुठीबाट खारेज भएको भन्ने कुनै ब्योहोरा उक्त लगतमा उल्लेख भएको देखिँदैन भनेर पत्रमा उल्लेख छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.