सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रेनुका बा र हाम्रा बा


  •    न्युजभित्तो/२६ बैशाख २०७८, आईतवार १८:५९ 
  • गतवर्ष नेपाल गएको बेला एक जना बालकसँग भेट भयो । ऊ भनि रहेको थियो “रेनुका बा मेयर बनाउन लागे, हाम्रा बा देश बनाउन ।” मैले उस्लाई सोधे “को हो तिम्रो बा ? उस्ले गर्वका साथ भन्यो “केपि ओली ।” मैले उसलाई प्रतिप्रश्न गरें “कसरी तिम्रा बा ?” “तपाईं त पत्रकार हो क्यारे कुरा यताउता नबनाउनु होला, मैले मेरा बा भनिरहेको छैन । हाम्रा बा भन्दैछु” उस्ले थप्यो । मलाई राजनीतिको बारेमा थाहा छैन । खासै चासो पनि राख्दिन । हिजोका दिनमा म जस्ता हजारौं बालबालिकाहरू सडकमा “खाते बच्चा”को जीवन बिताई रहेका थियौं । के.पी. ओली यस्तो प्रधानमन्त्री हो, जस्ले हामीलाई अभिभावकत्व प्रदान गरेर आश्रय दियो, स्कूल जाने वातावरण सिर्जना ग-यो । त्यसैले मैले के.पी. ओलीलाई हाम्रा बा भनेको हुँ” उसले बिट मा-यो ।” सुनेको थिएँ “तिम्रा बा हाम्रा बा माछा मार्न गए, तिम्लाई टाउको मलाई पुच्छर बराबरी ल्याए ।” तर, यतिबेला तिम्रा बा के गर्दैछन् मलाई थाहा छैन । रेनुका बा मेयर बनाउन लागे, हाम्रा बा देश बनाउन ।”

    आमाको मृत्यु पश्चात बाले अर्की श्रीमती ल्याएपछि सौतेनी आमाको गाली र कुटाई खप्न नसकेर सात वर्षको उमेरदेखि सडकमा सुत्दै र बस्दै आएका काठमाण्डौ बुढानीलकण्ठका सन्तोष तामाङग आठ वर्षपछि स्कूल जान थालेका रहेछन् । त्यो बालकले त्यतिबेला भनेको कुरा यतिबेला मेरो मानसपटलमा नाची रहेको छ । के साच्चै के.पी ओली “ओली बा” बन्दैछन !? म देखिरहेछु, सुनिरहेछु । राजनीतिबाट टाढा रहेका युवा पुस्ता ओली बा जिन्दावाद ! भन्दै सडकमा नारा लगाई रहेका छन् । ‘आई एम वीथ केपी ओली’ भन्दै फेसबुक, टिकटक र ट्वीटरमा पोष्ट गरिरहेका छन् । कलाकारहरू ‘ओली बा’ भन्दै गीत गाईरहेका छन । बुढाबुढी, असक्त र एकल महिलाहरू ‘केपी ओली हाम्रो सहारा हो’ भन्दै छन् । देशभक्त र राष्ट्रप्रेमीहरू केपी ओलीको स्वाभिमान र आँटको सम्मान गरिरहेका छन् । विकासप्रेमी जनताहरू ओलीका सपना अनि पुनर्निर्माण भईरहेका संरचनाहरू, बाटोघाटो र पुलपुलेसाहरू देखेर दङ्ग छन् । राजा महेन्द्र पछिका विकासप्रेमी नेता केपी ओली भन्दैछन् नेपाली जनता ।

    प्रधानमन्त्री बन्नु अघि मधेस बिरोधी भनेर प्रचार गरिएका केपी ओली आज मधेसकै जनताका प्रिय नेता बनिरहेका छन् । मधेसको विकासमा ओलीले दिएको प्राथमिकताको प्रशंसा गरिरहेका छन् । साँचो अर्थमा मधेस र मधेसी जनताको हित चाहने नेता केपी ओली बनिरहेका छन् ।

    विगतमा माओवादी गतिविधिको कटु आलोचक भनेर चिनिएका ओली आज माओवादी लडाकुका समेत आश्रय बनिरहेका छन् । खाडी मुलुकमा अलपत्र परेका नेपाली कामदार हुन् वा चीनमा कोरोनाका कारण रोकिएका विद्यार्थीहरूको उद्धारमा देखाएको तत्परताले पनि केपी ओली युवा पीढीमा हाइ हाइ भएका छन् । यिनै र यस्तै क्रियाकलापले गर्दा केपी ओलीलाई सबैका बा बन्ने अवसर प्रदान गरिरहेको हुनु पर्छ !

    केपी ओली पहिलो पटक प्रधानमन्त्री बनिरहँदा यो मुलुकमा भारतले चर्को नाकाबन्दी लगाएको थियो । त्यो नाकाबन्दीको सामना गरेर अगाडी बढ्नु ठूलो चुनौती थियो । त्यो चुनौतीको सामना गर्दै जसरी ओलीले भारतलाई झुक्न बाध्य पारे त्यसले नेपालीको शान र गौरव बढायो । त्यहि अवसरमा ओलीले चीनसँग पारवहन सम्झौता गरेर भारतको एकाधिकारको अन्त्य गरिदिए । नेपालले उत्तरी सीमाबाट पनि व्यापार व्यवसाय सञ्चालन गर्न सक्ने व्यवस्था मात्र मिलाएनन् चीनिया रेल नेपाल भित्रिने बाटो समेत खोलीदिए ।

    पूर्व, पश्चिम र दक्षिणमा सीमा जोडिएको भारतले नेपालको सीमा मिचेको कुरा पटक पटक उठ्ने गरेको भएपनि ‘बिरालोको घाँटीमा घण्टी कस्ले बाध्ने ?’ भने जस्तो भारतसँग कसैले पनि डटेर कुरा राख्न समेत सकेका थिएनन् । तर केपी ओलीले भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाललाई फिर्ता गर्नुपर्ने माग गर्दै त्यो क्षेत्रलाई नेपालको नक्शामा समेत समावेश गरे । संसदबाट पारित भयो । नक्शा छापियो । नक्शा चुच्चे नै भए पनि आफ्नो मातृभूमी रक्षाको पक्षमा केपी ओलीको यो साहासलाई आज सिङ्गो राष्ट्रले सम्मान गरेको छ ।

    केपी ओली दोस्रो पटक प्रधानमन्त्री हँुदा मुलुक भूकम्पले ध्वस्त भएको थियो । ध्वस्त भएका संरचनाहरुको पुनर्निर्माण गर्नु, पाल मुनी बसेका जनतालाई राहत उपलब्ध गराउनु र उनीहरुको व्यवस्थापन गर्नु ओलीका सामु चुनौती थियो । आज ति कामहरू धेरै पूरा भईसकेका छन् भने केहि पूरा हुने क्रममा छन् ।

    काठमाण्डौमा भरखरै सम्पन्न रानी पोखरीको संरचना र “मेरो धरहरा मै बनाउँछु” भन्ने उद्घोषका साथ ठडिएको धरहराले काठमाण्डौको मात्र हैन सिङ्गो नेपाल र नेपालीको गौरव बढाएको छ । त्यसको जस पनि यतिबेला केपी ओलीलाई नै जान्छ । भन्न त विरोधीहरूले भूकम्प नगएको भए केपी ओलीले के गथ्र्याे होला ? पनि भन्ने गर्दछन । छातीमा हात राखेर भन्ने हो भने त्यो भन्दा पहिले कसले के गरे ? किन अरु कोहि ‘हाम्रा बा’ बन्न सकेनन् ? गर्ने काम त थुप्रै थियो, थुप्रै छन् । तर खोई त ?

    जतिबेला यो मुलुकमा रेनुका बा प्रधानमन्त्री बने, त्यतिबेला सबै नेपालीले ठूलो सपना देखेका थिए । अब मुलुकमा केहि परिवर्तन हुन्छ भन्ने आशा र भरोसा राखेका थिए । उनले चाहेको भए हुन्थ्यो पनि । तर, नेपालीको दुर्भाग्य ! सन्तोषले भने जस्तै उनी छोरीलाई जसरी पनि मेयर बनाउन कुदे । आफु, आफ्नो परिवार, नातागोता, अलि परका नातागोता, आफ्नै पार्टीका टाठाबाठा नेता कार्यकर्ता भन्दा भन्दै आफ्नै भ¥याङ्ग बनेका कार्यकर्ता र लडाकुहरू पनि टाढा बन्दै गए । हिजोको अफ्ट्यारो अवस्थामा साहारा र आश्रय दिनेहरू नचिन्ने अवस्थामा पुगे । यस्तो हो भने “हाम्रा रेनुका बालाई कतै देख्नु भयो ?” भन्ने अवस्था नआओस् !

    यो मुलुकमा सौरभका बाले पनि मौका पाएकै हुन् । निर्भिकका बा पनि त्यो ठाउँमा पुगेकै हुन् । जैबीरका बाले पनि धरै पटक मौका चुकाएकै हुन् । धेरै आशा र भरोसा कै बीचमा मानुसीका बाले पनि केहि गरेर देखाउन सकेनन् । तर, आज केहि भईरहेको छ । केहि हुन खोजी रहेको छ । मेलम्चीको पानी काठमाण्डौमा आयो । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईले देखेको सपना साकार पार्ने काम केपी ओलीबाटै भयो । जनकपुरमा रेल चल्यो । कोशी र गण्डकीमा सानो आकारमा भए पनि पानी जहाज चल्यो । तुईन विस्थापित भए । तुईनको ठाउँमा झोलुङ्गे पुल र पक्क पुलहरु बनिरहेका छन् । वर्षौदेखि चर्चामा रहेको हुलाकी मार्गले गति पायो । पूर्णताको चरणमा छ । देशैभरि बाटोघाटो खुल्दैछन् । पुराना राजमार्ग चौडा र विस्तार हँुदैछन् । लुम्बिनी, पोखरा र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य, फाष्टट्रयाक र सुरूङ्ग मार्ग बन्दैछ । सयौ अस्पतालहरू सिलान्यास भएका छन् । र पनि केहि असन्तुष्ट आत्माहरु भनिरहेका छन् ‘केहि भएकै छैन ।जे भएको छ, वर्बादी मात्र भएको छ । अरूका बा जे सुकै गरुन्, ओली बाले काम गरून् । कुकुरहरू भुक्दै रहन्छन्, हात्ती लम्की रहन्छ । केपी ओली सबै नेपालीका बा बन्न सकुन् शुभकामना !
    (पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष, महासंघका पूर्व केन्द्रीय सदस्य छिमेकी हाल अमेरिकामा हुनुहुन्छ ।)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.