सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अन्तर्वार्ता, प्रदेशका काममध्ये वाग्मती अगाडि छ : आन्तरिक मामिलामन्त्री पाण्डे


  •    न्युजभित्तो/१९ बैशाख २०७८, आईतवार १३:४२ 
  • काठमाडौँ, १९ वैशाख । नुवाकोटबाट प्रदेशसभा सदस्य निर्वाचित नेकपा (एमाले)का युवा नेता केशवराज पाण्डेले यही वैशाख १५ गते वाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त भई कार्यभार शुरु गर्नुभएको छ । कोरोना महामारीको विषम स्थितिमा सङ्घीय सरकार र स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै जनताका बीचमा प्रदेश सरकारको पृथक पहिचान स्थापित गर्नु कम चुनौतीपूर्ण छैन । प्रदेश सरकारका यिनै चुनौती, सरकारको आउँदो नीति तथा कार्यक्रम र बजेटलगायत विषयमा मन्त्री पाण्डेसँग राष्ट्रिय समाचार समिति (रासस) का लागि प्रकाश सिलवालले गरेको कुराकानीको सम्मादित विवरण :

    रासस  : राजनीतिक विवाद र कोरोना महामारीका विषम स्थितिमा प्रदेश सरकारको विपद् व्यवस्थापनसमेत हेर्ने मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । आफ्नो कार्यकाल कसरी आरम्भ गर्दै हुनुहुन्छ ?

    पाण्डे : मैले कार्यभार सम्हालेपछि मन्त्रालय र सम्बन्धित निकायको ब्रिफिङ शुरू गरेको छु । गृह प्रशासन, कानून, सञ्चार क्षेत्र हेर्र्ने यो मन्त्रालयका विगतका कामको समीक्षा शुरू गरेको छु । विगतका कमजोरीबाट पाठ सिकेर नयाँ योजनाका साथ काम गर्ने तयारीमा हामी छौँ । मेरो अध्यक्षतामा यही वैशाख १७ गते प्रदेश सुरक्षा समितिको बैठक बसेर अहिलेको महामारी रोकथाम र नियन्त्रणका कामका समन्वय र भावी योजना बारेमा समीक्षा गरिएको छ ।
    हामी सङ्घीयता कार्यान्वयनका क्रममा छौँ । यस क्रममा सङ्घ र प्रदेशबीचका कतिपय समन्वय बढाउनुपर्ने काम बाँकी नै छन्, जस्तो हालसम्म प्रदेश प्रहरी हस्तान्तरण भइसकेको छैन । प्रहरी समायोजनमा केही विवाद छन् । काठमाडौँ उपत्यका (मेट्रो) प्रहरीलाई पनि प्रदेश सरकारले हेर्न सक्छ भन्नेमा हामी छौँ । केन्द्र सरकारसँग छलफल भइरहेको छ । समायोजनको काम सम्पन्न भएपछि प्रदेश प्रहरीका कामलाई हामी द्रुत गतिमा अगाडि बढाउनेछौँ । प्रदेशमा ४६ प्रदेश प्रहरी कार्यालय रहेकामा २३ वटा बनिसकेका छन्, १३ वटा बन्न बाँकी छ भने २१२ वटा थप्ने प्रक्रियामा छौँ ।
    प्रदेशका सञ्चारग्राम र सूचनागृह बनाउने कामलाई गति दिन मैले प्रेस रजिष्ट्रारलाई निर्देशन दिइसकेको छु । पहाडी इलाकामा कसरी इन्टरनेटको सहज पहुँच स्थापना गर्न सकिन्छ भनेर हामीले काम गरिरहेका छौँ । मुलुकको राजधानी पनि जोडिएकाले धेरै मिडिया यही प्रदेशमा छन्, तिनको व्यवस्थापनमा पनि हाम्रो ध्यान जानेछ । ज्येष्ठ पत्रकार, पत्रकार महिला र अपाङ्गता भएका पत्रकारको कोष स्थापना गर्ने कार्यक्रम पनि रहेको छ । नेपाल पत्रकार महासङ्घका प्रदेश नेतृत्वलगायत पत्रकारिताका संस्थाहरूसँग मैले सम्पर्क र सल्लाह आरम्भ गरिसकेको छु । यस क्षेत्रमा नयाँ के गर्न सकिन्छ भनेर म उहाँहरूको राय, सल्लाह लिएर अघि बढ्नेछु ।

    रासस : प्रदेश सुरक्षा समितिको संरचना त छ तर कोरोना महामारी रोकथाममा मूलतः केन्द्रकै भूमिका बढी अपेक्षित रहेको देखिन्छ । प्रदेशको छुट्टै हैसियत स्थापना र जनतासँगको निकटता विस्तारका लागि के गर्नुहुन्छ ?

    पाण्डे : हामीले प्रदेशको स्वास्थ्यसमेत हेर्ने सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा महामारी रोकथाम र नियन्त्रणका लागि भूमिका निर्वाह गरिरहेका छौँ । सुरक्षा समितिको बैठकमा मैले सुरक्षा निकायका प्रतिनिधिलाई कुनै सुविधा नपुगेको भए माग्न र आफ्नो कर्तव्यपालनामा कमजोरी नगर्न भनेको छु । खासगरी शव व्यवस्थापनमा नेपाली सेनाले काम गरिरहेको छ भने सीमा व्यवस्थापन र निषेधाज्ञाको पालनामा सशस्त्र प्रहरी र अन्य काममा नेपाल प्रहरी तैनाथ छन् । कतिपय जिल्लामा निषेधाज्ञा भए पनि राजमार्ग खुला छ । बिरामीलाई तत्काल अस्पताल लान परेमा प्रहरीले सहयोग गर्नेछ ।
    अहिले प्रदेशगत संरचनाका रूपमा अस्पताल हस्तान्तरण र संरचना विस्तार शुरू भएको छ । त्रिशूली अस्पताल त मुलुककै उत्कृष्ट सेवा दिने अस्पताल भइसकेको छ । यसमा वाग्मती प्रदेश गर्व गर्छ । प्रदेश अस्पतालका सेवाबाट जनता सन्तुष्ट छन् । खोप व्यवस्थापनका काम पनि गरिरहेका छौँ । यस क्रममा हामीले स्काउट टोली पनि परिचालन गरेका छौँ ।

    रासस : कुनै समस्या परेमा केन्द्र र स्थानीय सरकारलाई जस्तो प्रदेश सरकारलाई जनस्तरबाट झट्ट सम्झने स्थिति छ त ?

    पाण्डे : सङ्घीय सरकार पनि यहीँ छ । केही हदसम्म हामी सङ्घको छायामा परेका छौँ तर प्रदेशका काममध्ये हाम्रो प्रदेश अगाडि छ, अपराध नियन्त्रणमा यो प्रदेश सुधारिएको छ । सामूहिक बस्ती, सामूहिक खेती, पुरातात्विक सम्पदाको संरक्षणजस्ता प्रभावकारी हुँदैछ । हामी फलफूलमा आत्मनिर्भर हुँदैछौँ । कृषि अनुदानलाई टाठाबाठाले उपयोग गर्नेभन्दा पनि वास्तविक किसानको हातमा पुग्ने गरी वितरणको योजना बनाउँदैछौँ । हामी किसानलाई रू पाँच लाखसम्म विनाधितो रू तीन प्रतिशतमा ऋण दिँदैछौँ ।

    रासस : प्रदेशलाई प्रभावकारी बनाउन कुनै कानूनी समस्या देख्नुभएको छ ?

    पाण्डे :  यस प्रदेशले हालसम्म ४५ कानून बनाइसकेको छ । अन्य कानून बन्ने क्रममा छन् । सङ्घीय निजामती कानून र प्रहरी ऐन बन्न बाँकी रहँदा यस क्षेत्रका काममा केही असुविधा भएको छ । अधिकार हस्तान्तरण गर्न केन्द्रको राजनीतिक र प्रशासनिक नेतृत्व हिच्किचाएको जस्तो देखिन्छ । सबै प्रदेशका लागि यो एक प्रकारको समस्या हो ।

    रासस : आसन्न नीति तथा कार्यक्रम र बजेटका लागि नयाँ योजना के छन् ?

    पाण्डे : हाम्रो प्रदेशले मुख्यगरी भौतिक पूर्वाधार र सामाजिक क्षेत्रलाई प्राथमिकता दिनेछ । शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीका क्षेत्र तथा पिछडावर्गको उत्थान गर्न लाग्नुपर्छ । हामी दीर्घकालीन लाभ हुने तथा स्थायित्व दिने खालका काम गर्नेछौँ । पहिलाको जस्तो पाइप बाँड्ने काम अब हामी गर्दैनौँ । पाइप बाँड्ने होइन, एक घर एक धारा बनाउने हो । अब पाइप बाँडे बेरूजू हुन्छ । यस प्रदेशमा हरेक घरलाई खरको छानाविहीन बनाउनेछौँ ।

    रासस : वाग्मती प्रदेशमा एमाले बहुमतप्राप्त दल त छ तर पार्टीभित्रको विवाद र अन्य दलको गठबन्धनका कारण पुनः अविश्वासको प्रस्ताव आउने स्थिति छ कि छैन ?

    पाण्डे  : वाग्मती प्रदेशमा यसअघि पनि प्रक्रियागतरूपमा अविश्वासको प्रस्ताव दर्ता भएको थिएन । अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रयोजनका लागि भनेर सभामुखको सचिवालयमा पत्र दर्ता भयो । त्यही भएर विशेष अधिवेशन आह्वान भएन र नियमित अधिवेशन भयो । पछि उक्त प्रस्ताव फिर्ता भयो ।

    एमालेभित्र विवाद छ । पार्टीबाट विद्रोह गरेर वा छाडेर जान सकिन्छ । कसैलाई आफ्नो राजनीति खुम्च्याउन रहर छ भने त्यो गर्ने बाटो खुला छ तर एमालेमै रहेर राजनीति गर्दा अनुशासित भएर रहनुपर्छ । पार्टीको निर्णय र दलको विधान सबैले मान्नुपर्छ । पार्टीमा रहेर फ्लोर क्रस गर्नु अराजनीतिक काम हो । मलाई विश्वास छ अब त्यस्तो हुनेछैन ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.