सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अझै सञ्चालनमा आएन आइसीयू


  •    न्युजभित्तो/२ बैशाख २०७८, बिहीबार १२:१२ 
  • दार्चुला, २ वैशाख । जिल्ला अस्पतालमा जडान गरिएको भेन्टिलेटर शय्यासहितको आइसीयू अझै सञ्चालनमा आउन सकेको छैन । जडान गरिएको पाँच महिना हुँदासमेत अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन गर्न नसक्दा आइसीयू प्रयोगमा नआएको हो । प्रदेश सरकारबाट प्राप्त दुईवटा भेन्टिलेर शय्यासहित आइसीयूकक्ष स्थापना गरिएको थियो । प्रदेश सरकारले प्रदेशका सबै जिल्ला अस्पतालमा भेन्टिलेटर शय्यासहित आइसीयू स्थापना गरेको थियो । सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला बडाल जोशीले विसं २०७७ मङ्सिर २५ गते जिल्ला अस्पतालमा सो सेवाको शुभारम्भ गर्नुभएको थियो ।

    कोभिडका सङ्क्रमितले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन स्थापना गरिएको सो आइसीयूको लागि जनशक्ति पठाउन नसक्दा प्रयोगमा आउन नसकेको अस्पतालले जनाएको छ । कोरोनाका बिरामी बढ्दै गएपछि प्रदेश सरकारले गत मङ्सिरमा उक्त भेन्टिलेटर जिल्ला अस्पताललाई उपलब्ध गराएको थियो । पाँच महिनाअघि नै जडान गरिएको आइसीयू दक्ष जनशक्ति अभावमा सञ्चालनमा आउन नसकेको जिल्ला अस्पतालमा कार्यरत ल्याब असिस्टेन्ट दीपक विष्टले जानकारी दिनुभयो । अहिले आइसीयू चलाउन सक्ने जनशक्ति छैन ।

    “आइसीयू सञ्चालन गर्न दक्ष चिकित्सक चाहिन्छन् । त्यो जनशक्ति अहिले अस्पतालसँग छैन । जनशक्ति पठाउन नसक्दा अहिले पनि आइसीयू प्रयोगमा ल्याउन सकिएको छैन”, उहाँले भन्नुभयो । गत मङ्सिरमा कोरोना भाइरसका गम्भीर बिरामीलाई उपचार गराउने उद्देश्यले भेन्टिलेटरसहितको आइसीयू कक्षमा उपकरण जडान गरिएको थियो । विशेषज्ञ जनशक्तिको अभावमा आइसीयू कक्ष सञ्चालनमा ल्याउन नसकिएको उहाँको भनाइ छ ।

    आइसीयू कक्ष सञ्चालनका लागि विशेषज्ञ चिकित्सकको आवश्यकता पर्दछ । “विशेषज्ञ चिकित्सक अभावमा हामीले आइसीयू सञ्चालनमा ल्याउन सकेका छैनाँै । अहिले अस्पतालमा रहेका चार चिकित्सक नै बिदामा छन् । अस्पतालमै सामान्य जाँचका लागि समेत चिकित्सक छैनन् ।”उहाँले भन्नुभयो ।

    आइसीयू कक्ष सञ्चालनमा आउन नसक्दा गम्भीर बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता कायमै छ । आइसीयूको उद्घाटनको क्रममा सरोकारवाला निकायले गम्भीर खालका बिरामीलाई जिल्लामै उपचार गराउन सकिने बताएका थिए । पाँच महिना हुँदा पनि आइसीयू सञ्चालन भए÷नभएकोबारे सरोकारवाला निकाय उदासिन रहेको स्थानीयवासीको आरोप छ । कोरोनाका मात्रै नभएर अन्य गम्भीर बिरामीलाई पनि आइसीयूमा राख्नुपर्ने हुन्छ । त्यस्ता बिरामीलाई बाहिर पठाउनु परिरहेको अस्पतालले जनाएको छ । कोरोनाको दोस्रो लहर शुरु भइसकेको छ । जिल्लामा एक जनामा कोरोना देखिएपछि अस्पतालमै राखिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार ती विरामीलाई १० दिनसम्म अस्पतालमा राख्नुपर्ने हुन्छ ।

    भारतबाट अहिले दैनिक ८० देखि १०० जनाको हाराहारीमा नेपाल भित्रिरहेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङ्कअनुसार गत चैत १० गते यता जिल्लाका खलङ्गा, तिगरम, दत्तु, जोलजीवी र लाली नाका भएर तीन हजार ३२४ स्वदेश फर्किएका छन् । प्रहरी निरीक्षक पुष्कर ऐरका अनुसार तिगरम नाका भएर ३२० महिला र ३८५ पुरुष भित्रिएका छन् । सदरमुकाम खलङ्गा नाका भएर १७८ महिला र एक हजार १४० पुरुष नेपाल भित्रिएका छन् । यस्तै दत्तुनाका भएर १३२ महिला र ५५१ पुरुष नेपाल आएका छन् । मालिकार्जुनको जोलजीवी नाका भएर ११४ महिला र १०० पुरुष तथा लालीनाका भएर १९६ महिला र ३१५ पुरुष स्वदेश भित्रिएको प्रहरीको तथ्याङ्क छ । सदरमुकाम खलङ्गाका उनीहरुलाई जाँचको व्यवस्था गरिएको भए पनि अन्य नाकामा जाँचको व्यवस्थापन गरिएको छैन ।

    जिल्ला अस्पतालका चार चिकित्सक नै जिल्ला बाहिर भएकाले गोकुलेश्वरबाट चिकित्सक ल्याएर उपचार गराइँदै आएको छ । जिल्ला अस्पताल दार्चुलामा चिकित्सक नहुँदा बिरामी जाँचमा समस्या भएको छ । चार कार्यरत रहेको जिल्ला अस्पतालका चारै चिकित्सक जिल्ला बाहिर गएका छन् । अस्पताल चिकित्सक अभाव हुँदा बिरामीको जाँचमा समस्या भएको छ ।

    अस्पतालका नवौँ तहका मेडिकल सुपरिटेन्डेण्ट र आठौँ तहका मेडिकल अधिकृतको दरबन्दी वर्षौैँदेखि रिक्त छ । अस्पताल स्थापनादेखि अहिलेसम्म नवौँ तहको चिकित्सक जिल्ला अस्पताल नआएको अस्पतालका प्रशासन शाखा प्रमुख आनसिंह डागाले बताउनुभयो । अस्पतालमा हाल छात्रवृत्ति करारका चिकित्सक आर्दश लिम्बू, पूजा बम र नवीनकिशोर मल्ल कार्यरत छन् भने सुदूरपश्चिम प्रदेश सरकारको करारबाट देवेन्द्र नेगी कार्यरत छन् । अहिले चारै जना चिकित्सक बिदा तथा तालिममा गएपछि अस्पतालमा समस्या भएको हो । अस्पताल प्रशासनका अनुसार अस्पतालका प्रमुख डा आर्दश लिम्बू गत चैत १८ गतेबाट काठमाडौँ गोष्ठीमा सहभागी भएका छन् । यस्तै पूजा बम र नवीनकिशोर मल्ल शनिबारदेखि बिदा र प्रदेश गोष्ठीमा गएका छन् भने देवेन्द्र नेगी चैत २२ गतेबाट बिदामा गएका हुन् ।

    अहिले अस्पतालमा बिरामी जाँच गर्न समस्या भएपछि गोकुलेश्वर अस्पतालबाट डा मियाज अन्सारी बोलाइएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी भट्टले बताउनुभयो । “हामीले चिकित्सकको अभाव हुन दिएका छैनाँै ।” उहाँले भन्नुभयो । अहिले अस्प्तालमा दैनिक ८० बढी बिरामी आउने गरेका छन् । पछिल्लो समय मौसममा आएको परिवर्तनका कारण रुघाखोकीका बिरामी बढी आउने गरेका छन् । एक मात्रै चिकित्सक हुँदा बिरामीले अस्पतालमा घण्टौँ कुर्नपर्ने बाध्यता छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.