सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बगाले बगेडी चराको संरक्षणप्रति सरोकारवालाको चासो


  •    न्युजभित्तो/३१ चैत्र २०७७, मंगलवार ११:४२ 
  • पोखरा, ३१ चैत । प्राकृतिक सौन्दर्यतामा मात्र नभई पर्यावरण र जैविक विविधतामा पनि उत्तिकै महत्वपूर्ण मानिने बगाले बगेडी चरा सङ्कटापन्न अवस्थामा पुगेपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । पोखरा पक्षी समाज र नेपाल पक्षी संरक्षण सङ्घको संयुक्त आयोजनामा पोखरामा आयोजित बगाले बगेडी चरा संरक्षणमा सरोकारवालाबीचको अन्तक्र्रियामा सहभागीले चिन्ता र चासो व्यक्त गरेका हुन् ।

    अन्तक्र्रियामा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ एवं गिद्ध विशेषज्ञ समूहका सदस्य कृष्ण भुषालले बगाले बगेडी भँगेरा आकारको रङ्गीन र आकर्षक चरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार विशेषतः जाडोयाममा रुस, मङ्गोलिया, चीनलगायतबाट बसाइँसराइ गरेर नेपालमा आउने गर्दछ । पछिल्लो समय मानिसले मासुका लागि यस चराको बढी शिकार गर्ने थालेपछि अहिले यो चरा विश्वमै अतिसङ्कटापन्न अवस्थामा पुगेको छ । हरेक वर्ष चीनमा मनाइने ‘बाउल फेस्टिभल’ मा यसलाई खाने गरिन्छ । बर्डलाइफ इन्टरनेशनलका अनुसार त्यही फेस्टिभलका बेला एक वर्षमा करिब १० लाख वटासम्म बगाले बगेडीको शिकार हुने गरेको तथ्याङ्कले देखाएको छ ।

    उत्तरी भूगोलमा प्रजनन गर्ने ती साना आकर्षक चरा नेपालसहित दक्षिण र दक्षिण–पूर्व एशियाली मुलुकतिर जाडो छल्न आउने गरेको उहाँको भनाइ छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा महेश्वर ढकालले वातावरण जोगाउन सके चराचुरुङ्गीको बासस्थान जोगाउन सकिने बताउनुभयो । “वातावरणका बारेमा साझा चासो र चिन्ता आवश्यक छ, वातावरण जोगाउने जिम्मा सरकारको मात्र हो भनेर बुझ्नु हुँदैन यो सबैको साझा दायित्व हो”, ढकालले भन्नुभयो । उहाँले तालतलैयामा फोहर फाल्ने संस्कृति बढ्दै गएको र सिमसार मासिदै जाँदा बासस्थान विनाश र अव्यवस्थितरूपमा विषादीको प्रयोगलगायतका कारणाले बसाइँसराइ गरी आउने पाहुना चरालाई प्रभाव पारेको बताउनुभयो ।

    बर्ड एजुकेशन सोसाइटीका चितवनका अध्यक्ष रमेश चौधरीले नेपालमा ८८६ प्रजातिका चरा अभिलेखीकरण भएको जानकारी दिनुभयो । उहाँका अनुसार विश्वमा ११ हजार २२५ प्रजातिका पक्षी छन् । नेपालमा डाँफे, मुनाल, चिरफेजन, खर मयुर, सेतो गरुड, कालो गरुड, सानो खर मयुर र राजधनेस गरी नौ प्रजातिका पक्षीलाई संरक्षित पक्षी भनी घोषणा गरिएको छ । काँडे भ्याकुर नेपालमा मात्र पाइने पक्षी हो ।

    ग्रिष्म ऋतुमा ६२ प्रजातिका चरा नेपाल आउने गरेका छन् भने हिउँद ऋतुमा १५२ प्रजातिका पक्षी जाडो छल्न आउने गर्दछन् । त्यसैगरी ५० प्रजातिका चरा बटुवाका रूपमा आउने गरेको अभिलेख रहेको छ भने ७९ प्रजातिका चरा भने फिरेन्तरूपमा देखिने गरेका छन् । नेपालमा आठ प्रजातिको चरा लोप भइसकेको आशङ्का गरिएको छ । पोखरामा ४७२ प्रजाति र चितवनमा ६९७ प्रजातिका चरा रहेको विज्ञको भनाइ छ ।

    नेपाल पक्षी संरक्षण सङ्घका कार्यक्रम संयोजक मित्र पाण्डेले सन् २००४ देखि २०१७ सम्म तथ्याङ्कलाई विश्लेषण गर्दै २०१७ मा आइपुग्दा बगाले बगेडी अतिसङ्कटापन्न अवस्थामा रहेको उल्लेख गर्दै यसको संरक्षणमा सरोकारवालाले चासो दिनुपर्नेमा जोड दिनुभयो । पोखरा पक्षी समाज पोखराका अध्यक्ष मनशान्त घिमिरेले पोखरा नौ तालको शहर भएकाले यस क्षेत्रमा उक्त चराका लागि उपयुक्त बासस्थान भए पनि चोरीशिकारी, वातावरण प्रदूषण, अव्यवस्थित बसोबास, सिमसार क्षेत्र पुरिँदै जाँदा पाहुना चराको आगमन दर घट्दै गएको बताउनुभयो । घिमिरेले सानो चराले बर्सेनि गर्ने हजारौँ किलोमिटरको साहसिक र जोखिमपूर्ण यात्रा आफैँमा रोमाञ्चक रहेको जनाउँदै संरक्षणमा अन्तरदेशीय समन्वय र सहकार्यको खाँचोसमेत औँल्याउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.