‘यात्रा’ : मलिकाले देखाइन् सम्भावना, सलिनको अभिनयमा निखारता

नयाँ वर्ष २०७६ को छेको पारेर शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘यात्रा’ ले घरेलु बजारमा सन्तोषजनक व्यापार गरिरहेको छ । सँगै प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ३’ ले व्यापारमा ठूलो असर पुर्याएको भए पनि फिल्मले बिस्तारै हलमा दर्शकको चाप बढाउँदै लगेको छ । दर्शकबाट राम्रो प्रतिक्रिया पाएका कारण आइतबारबाट फिल्मको कलेक्सन ग्राफ उकालो लाग्ने निर्माण टिमको आशा छ ।
आइतबार नयाँ वर्षको विदा भएका कारण बिहानैदेखि देशभर फिल्मले हाउसफुल व्यापार गरिरहेको छ । सिंगल स्क्रिनसँगै मल्टीप्लेक्सले प्रदान गरेका सोजहरुमा दर्शकहरुकोे उल्लेख्य उपस्थिति देखिएको छ । सम्राट शाक्य निर्देशित यस फिल्ममा युवापुस्तामा लोभलाग्दो क्रेज भएका अभिनेता सलिनमान बनिया लिड रोलमा छन् । यस फिल्मबाट मलिका महतले डेब्यू गरेकी छन् । अहिले दुबैको कामको प्रशंसा भइरहेको छ ।
.jpg)
डेब्यू फिल्म ‘ए मेरो हजुर २’ मा सलिनमानको अभिनयले दर्शक सन्तुष्ट बनाउन सकेको थिएन । उनको लुक्सकै बढी प्रशंसा भएको थियो । धेरैले उनलाई लुक्सले चलेको हिरोको आरोप पनि लगाए । तर, दोस्रो फिल्म ‘यात्रा’ मा उनले अभिनयमा निखारता प्रदान गरेका छन् । अभिनयमा उनले गरेको मिहिनेत पर्दामा स्पष्ट देखिन्छ । कहीँ कतै डाइलग डेलिभरीमा फिक्का महशुस भए पनि उनको अभिनयले निराश भने बनाउँदैन ।
फिल्मका लागि उनले अभिनयमा गरेको मिहिनेत साँच्चै तारिफयोग्य छ । फिल्ममा उनको एक्सन पनि जबरजस्त छ । यसका लागि उनले एक्सन सिक्न तीन महिनाको तालिम नै लिएका थिए । नेपालका चकलेटी हिरोहरु लुक्सले मात्र चल्छन्, अभिनय गर्न आउँदैन र अभिनयमा निखारता प्रदान गर्न मिहिनेत नै गर्दैनन् भन्ने आरोपलाई सलिनले धेरै हदसम्म गलत साबित गरेका छन् । यद्यपि, उनले अभिनयमा अझै मिहिनेत गर्नुपर्ने भने देखिन्छ ।

फिल्ममा पनि उनको चरित्रको नाम सलिन नै हो । एक भ्लगरको भूमिकामा उनी प्रस्तुत छन् । उनलाई रियलमा झैँ फिल्ममा पनि निर्देशक शाक्यले स्टाइलिस रुपमै उतारेका छन् । रिलिजपूर्व सलिनले हेयर स्टाइल र ड्रेसअप परिवर्तन नगरेको भन्दै धेरैले आलोचना गरेका थिए । तर, फिल्ममा उनलाई हेयर स्टाइल र लामा-लामा पहिरन गजबले सुहाएको छ । फिल्ममा उनले निभाएको चरित्र उनकै लागि लेखिएझैँ लाग्छ ।
फिल्मले युवापुस्तालाई आफ्नो लागि मात्र होइन अरुका लागि पनि बाँच्नु पर्छ भन्ने सन्देश दिन खोजेको छ । यस फिल्मबाट डेब्यू गरेकी मलिका महतले पनि राम्रो सम्भावना देखाएकी छन् । उनको स्वभाविक अभिनयले जो कोही उनीप्रति नतमस्तक हुन्छन् । फिल्ममा उनले दृष्टिविहीन युवतीको भूमिका निभाएकी छन् । दृष्टिविहीनको भूमिकालाई उनले सक्दो न्याय गरेकी छन् । कतिपय ठाउँमा उनले बोल्ने संवादहरुले छाती ढक्क फुलाउँछ ।
.jpg)
फिल्म हेरेर निस्किँदा पनि उनी मन, मस्तिष्क र आँखाबाट हट्दिनन् । अभिनयमा अझै मिहिनेत गरेको खण्डमा उनलाई नेपाली फिल्म क्षेत्रले सम्भावना बोकेको नायिकाको रुपमा हेर्न सक्नेछन् । यस फिल्ममा कलाकार रेअर राईको अभिनय बेजोडको छ । अभिनय केही ‘लाउड’ लागे पनि दर्शकलाई हलसम्म बाध्ने सम्पूर्ण जिम्मा निर्देशक शाक्यले उनीमाथि नै सुम्पिएका छन् । फिल्ममा उनले गर्ने हर्कतहरु निकै रमाइला छन् ।
कलाकार राजाराम पौडेलको ‘कमिक टाइमिङ’ पनि गजबको छ । यस्तै, अभिनेता सलोन बस्नेत पनि आफ्नो भूमिकामा फिट छन् । विषेशगरि कमेडी भूमिकामा रुचाइएका उनले यसमा भने गम्भीर भूमिका निभाएका छन् । जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, विशाल सापकोटाको पनि आ-आफ्नो भूमिकामा फिट छन् । अभिनेता धिरन शाक्यले नेगेटिभ रोल निभाएका छन् । उनी पनि आफ्नो भूमिकामा राम्रो उत्रिएका छन् ।
Source: www.filmykhabar.com
तपाईको प्रतिक्रिया