सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सभामुखलाई प्रभावकारी भूमिका खेल्न सत्तापक्षको सुझाव


  •    न्युजभित्तो/२६ चैत्र २०७७, बिहीबार १६:४५ 
  • काठमाडौँ, २६ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभाका गतिविधि र काम कारवाहीलाई प्रभावकारी तुल्याउन सभामुखको विशेष पहल र भूमिका आवश्यक रहेको बताएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) का लालबाबु पण्डितले संसद् र संसदीय व्यवस्थामाथि प्रश्न उठ्छ भने सभामुखको भूमिकाप्रति पनि प्रश्न उठ्ने भएकाले प्रभावकारी भूमिका खेल्न सुझाव दिनुभयो ।

    उहाँले भन्नुभयो, “प्रतिनिधिसभाको चालु सातौँ अधिवेशनका विधेयक अधिवेशन भएकाले मुलुक र जनताका सरोकारसँग सम्बन्धित पाँच दर्जनभन्दा बढी महत्वपूर्ण विधेयक लामो समयदेखि सदनमा अड्किएका छन्, यो अधिवेशनमा एउटा पनि विधेयक सदनले पास गर्छ कि गर्दैन भनी चासो र कौतुहलताकासाथ जनताले हेरिरहेको अवस्था छ ।” जनताले आशा गरेका विधेयकलाई अघि बढाउन प्रधानमन्त्री, मन्त्री वा सांसद कसले रोकेको छ भनी प्रश्न गर्दै सांसद पण्डितले भन्नुभयो, “होइन भने एकतर्फीरूपमा संसद्लाई सरकारले काम दिएन भनियो भने पूर्वाग्रहभन्दाबाहेक अरु केही हुनेछैन ।”

    सदनको कामलाई चुस्त र प्रभावकारी तुल्याउन सभामुखबाट पहलकदमीको खाँचो औँल्याउँदै उहाँले भन्नुभयो, “सरकार र सांसदलाई दोष दिएर उम्कन खोज्ने स्थिति हुनुहुन्न, सदनमा थाती विधेयक र प्रस्तावलाई अघि बढाउन आग्रह गर्न चाहन्छु ।” प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले जनता र राष्ट्रको आवश्यकता र प्राथमिकताको विषयमा केन्द्रित हुनुको साटो पुराना सडक र ठेक्कै नभएको आयोजनाको उद्घाटन र शिलान्यासमा ध्यान केन्द्रित गरेको आरोप लगाउनुभयो ।

    उहाँले भन्नुभयो, “सरकार बाटो र पुल उद्घाटन गर्न भ्याइनभ्याइमा छ, उद्घाटन र शिलान्यास हेर्दा यो अवधिमा जस्तो विकास निर्माण कहिल्यै भएको छैनजस्तो देखाउन खोजिएको छ, आयोजना ढिला भएकामा माफ माग्नुपर्नेमा एउटै आयोजनाको पटक–पटक उद्घाटन गरिएको छ ।” राष्ट्रिय गौरवको तामाकोशी, द्र्रुतराजमार्ग, पश्चिमसेतीजस्ता आयोजना मेलम्चीजस्तो ढिलासुस्ती हुन नदिनका लागि पूर्वाधार क्षेत्रको विकासका लागि राष्ट्रिय क्षमता विकास गर्न सुझाव दिँदै उहाँले जनताको आवश्यकताका आधारमा होइन, खल्तीबाट आयोजना हाल्ने प्रवृत्ति रोक्न सल्लाह दिनुभयो । नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेलले सदनलाई बिजनेश नदिएर सदनका काम कारवाहीलाई रोक्ने काम नगर्न सरकारलाई सुझाव दिनुभयो ।

    उहाँले भन्नुभयो, “संविधान निर्माणमा हालका सबै राजनीतिक दलको योगदान रहेकाले संविधानको मर्म र भावनाबारे आफूहरुलाई राम्रो ज्ञान छ, सदनका गतिविधिलाई रोक्नु भनेको लोकतन्त्र, राजनीतिक संस्कार र मूल्यमान्यताविपरीतको कार्य हो, जनताको भावनाअनुरुप सदनलाई अघि बढाइयोस् । अदालतको फैसलापछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ कि पर्दैन ।” मुलुक र जनताको आवश्यकताका आधारमा प्राथमिकीकरण गरी योजना छनोट गरी त्यस्ता नीति र कार्यक्रमको ठिक ढङ्गले कार्यान्वयन गर्न सुझाव दिँदै उहाँले भन्नुभयो, “आयोजनालाई ठिक समयमा सम्पन्न गर्न अनुगमनको व्यवस्थासहित राम्रो गर्नेलाई पुरस्कृत गर्ने र नगर्नेलाई दण्ड गरियोस् विकास र समृद्धि अघि बढेको भाषण मात्र नगरियोस् ।

    जसपाका लीलादेवी सिटौलाले भन्नुभयो, “कसैलाई काखा कसैलाई पाखा गरिने प्रवृत्तिले लोकतन्त्र बलियो हुन सक्दैन, पाँच वर्षका लागि जनताले दिएको विश्वासलाई अवज्ञा नगर्न र सक्नुहुन्न भने राजनीनामा दिनुस्, सरकार बनाउन संसद तयार छ ।” नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले काठमाडाँै उपत्यकामा बढिरहेको अव्यवस्थित बसोबासलाई रोक्न प्रभावकारी कदम चल्न तथा म्यान्मारको विषयमा एकपक्षीय ढङ्गबाट मात्र नबुझ्न सरकारलाई सुझाव दिनुभयो । नेपाली कांग्रेसका सांसद मोहनप्रसाद पाण्डेले प्रमुख राजनीतिक दलका शीर्षनेतालाई आफ्नो मुलुक, जनता र लोकतन्त्रको पक्षमा आफनो सामथ्र्यलाई माथि उठाउँदै राजनीतिक निकासका लागि संसद्लाई उच्चतम सदुपयोग गरी अघि बढन सुझाव दिनुभयो । नेकपा (एमाले) का महेश बस्नेतले राजनीतिक अस्थिरताका अनेकौँ बहसलाई जनताले गम्भीरताकासाथ हेरिरहेकाले तथ्यगत आधारमा मात्र धारणा राख्न प्रतिपक्षका सांसदलाई सुझाव दिनुभयो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.