सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

थ्री नेशन्स (त्रिदेशीय) कपमा किर्गिस्तानसँग नहार्ने नेपालको लक्ष्य


  •    न्युजभित्तो/१२ चैत्र २०७७, बिहीबार १५:३१ 
  • काठमाडौं, १२ चैत  । किर्गिस्तानको ओलम्पिक (यू-२३) टिमसँग खेल्दै थ्री नेशन्स (त्रिदेशीय) कप फुटबल सुरु गर्दा घरेलु टोली नेपालको लागि धेरै कुराले अर्थ राख्दछ । नेपालको सिनियर टिमले लामो समयपछि दशरथ रंगशालमा खेल्दैछ । यस प्रतियोगिता खेल्ने टिममा पनि व्यापक हेरफेर छ ।

    घरेलु मैदानमा घरेलु दर्शक र समर्थकको अघि खेल्ने अवसर आएको छ । यस्तै किर्गिस्तानलाई हराउँदै प्रतियोगिताको फाइनल पुग्ने अवसर पनि नेपाललाई छ ।

    नेपाली फुटबल खेलाडीदेखि फुटबल समर्थकले पनि लामो समदेखि प्रतिक्षा गरेको समय आज आएको छ । हुनत नेपालको यू-२३ टिमले गत मंसिरमा भएको १३औं सागमा दशरथ रंगशालमा खेल्दै स्वर्ण पदक जितेको थियो।

    उक्त टिमबाट खेलेका सुजल श्रेष्ठ, विकेश कुथु, सुनिल बल, अभिषेक रिजाल, अनन्त थापालगायत खेलाडी यसपटक पनि सिनियर टिमबाट खेल्दैछ । तर नेपालको सिनियर राष्ट्रिय टोलीको रुपमा भने ६ वर्षछि दशरथ रंगशालमा खेल्न लागेको हो ।

    नेपालले पछिल्लो पटक सन् २०१५ मा भारतसँग विश्वकप छनोट खेल दशरथ रंगशालमा खेलेको थियो । त्यसयता दशरथ रंगशालको पूनर्निर्माण, भूकम्पको असरले गर्दा नेपालको यू-२३ टिमले लामो समयपछि गत वर्ष दशरथ रंगशालामा खेल्न पाएको थियो ।

    यस पटक सिनियर टिमले नै दशरथ रंगशालमा खेल्दैछ । किर्गिस्तानको यू-२३ टिम भएकोले शनिबार बंगलादेशसँग खेल्दामात्र नेपालको खेलको अन्तर्राष्ट्रियस्तरको मान्यता पाउनेछ । तै पनि किर्गिस्तानविरुद्धको खेल नेपालको लागि लामो समयको प्रतिक्षापछिको खेल हुनेछ ।

    यसका लागि खेलाडी र दर्शक दुवैको प्रतिक्षा छ कप्तान तथा नेपालका नम्बर वान गोलकिपर किरण चेम्जोङको भनाइले समेत यो प्रष्ट पार्छ । ‘सुपर एक्साइटेड । नेपालमा खेल्न नपाको धेरै भयो । फ्यान र क्राउडको खेल्न उत्साहित छौँ,’ किरणले बुधबार प्रशिक्षण गर्नुअघि भनेका थिए।

    आइतबार भएको प्रिम्याच कन्फ्रेन्समा उपस्थित नेपालका उपकप्तान रोहित चन्दले पनि लामो समयपछि दशरथ रंगशालमा खेल्न लागेकोले सबै जना उत्साहित भएको बताएका थिए ।

    अनुभवी खेलाडी बाहिर, तीन नयाँ अनुहार

    त्रिदेशीय प्रतियोगिताको लागि बुधबारमात्रै मुख्य प्रशिक्षक बालगोपाल महर्जनले किरणको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरे । जसमा केही अनुभवी खेलाडी परेनन् भने तीन खेलाडी पहिलो पटक सिनियर टिममा परे । यसले फुटबल प्रेमीलाई समेत आश्चर्यमा पारेको छ ।

    नियमित फरवार्ड नवयुग श्रेष्ठसहित युवा डिफेण्डर विकास खवास, मिडफिल्डर सन्तोष तामाङ, फरवार्ड आशिष लामालगायत खेलाडी अन्तिम टोलीमा अटाएनन् । यसअघिका कप्तान विराज महर्जनले भने २१ महिनापछि सिनियर टिममा पुनरागमन गरेका छन् । उनले यही प्रतियोगितापछि राष्ट्रिय टिमबाट सन्याससमेत लिँदैछन् ।

    विश्वकप छनोट का लागि बन्द प्रशिक्षणमा रहेका ३३ खेलाडीबाट १० खेलाडी बाहिरिएका हुन् । यस पटक डिफेण्डर निशान खड्का र मिडफिल्डरद्वय त्रिदेव गुरुङ र सन्जोग राईले टिममा स्थान बनाएका छन् ।

    प्रशिक्षक महर्जनले तीन महिनादेखि प्रशिक्षण गरिरहेको र त्यसैको आधारमा बेस्ट टिम छनोट गरेको बताए ।

    ‘तीन महिनाको दौरानमा राम्रो गरेका खेलाडीबाट बेस्ट टिम छानेको छु । जो बेस्ट छ क्यापेबल छ । जो टिमलाई आवश्यक छ । त्यो अनुसार टिम छानेको हो । टिम राम्रै छ,’ महर्जनले आफूले छानेको टिमबारे भने ।

    उनले अघि थपे, ‘यो त्रिदेशीय कप हो । तर हामीले खेल्ने मुख्य खेल भनेको विश्वकप छनोट नै हो । जहाँ हामीले अष्ट्रेलिया, जोर्डन, चाइनिज ताईपेईसँग खेल्नेछौँ । मैले अहिले यस्तो खेलाडीलाई अवसर दिएको छु कि त्यो प्लेअर इफोर्टेबल होस् टेक्निकल्ली ज्ञान होस् राम्रो होस् त्यो छानेर खेलाडी राखेको छु ।’

    उनले अहिले १० खेलाडी टिममा नपरे पनि यस प्रतियोगिताको लागिमात्रै रहेको बताए । ‘१० जना खेलाडी टिमबाट बाहिरिए यस प्रतियोगिताको लागिमात्र हो । यो २३ जना खेलाडीको प्रदर्शनको आधारमा एक महिनापछि टिम बनाइन्छ र जसमा अरु खेलाडी पनि समेट्न सकिन्छ,’ उनले भने ।

    नयाँ तीन खेलाडीबारे सोध्दा प्रशिक्षक महर्जनले तीन महिनादेखि नै ट्रेनिङमा राम्रो गरिरहेको खेलाडीलाई टिममा राखिएको बताए ।’नयाँ खेलाडीहरुलाई मैले ३ महिनाअघिदेखि नै नियालिरहेको छु । म आशावादी छु उनीहरुबाट,’  महर्जनले भने , ‘बेन्चमा बस्नको लागि ल्याको होइन खेलाउन ल्याएको हो । अवस्था हेरे पहिलो रोजाई वा वैकल्पिकको रुपमा खेल्न सक्छ ।’

    किर्गिस्तानविरुद्ध अंक जोड्ने लक्ष्य

    महर्जनले किर्गिस्तान पहिलो खेलमा बंगलादेशसँग सोचेजस्तो खेल्न नसके पनि सचेत हुनुपर्ने बताए । ‘बंगलादेशविरुद्ध खेल्दा पहिलो म्याच भएर होला हामीले सोचेको जस्तो उनीहरुले खेल्न सकेनन्,’ महर्जनले भने , ‘कमजोर आँकेको होइन त्योभन्दा माथिल्लो खेल्नुपर्ने थियो । पहिलो खेल भएर नै होला । उनीहरुले डु अर डाइमा खेल्छ । हामी सचेत भएर खेल्नुपर्छ । कुनै पनि हातलमा अंक गुमाउनु हुँदैन ।’

    उनले जसरी हुन्छ अंक जोड्नुपर्ने बताए । ‘जसरी हुन्छ हामीले अंक जोड्नुपर्छ । प्रेसर जसलाई पनि हुन्छ जितोस् हारोस् खेल्न अघि पनि हुन्छ । पछि हुन्छ । तर प्रेसरलाई थाम्न सक्ने क्षमता हुनुपर्छ । हामीले अहिले किर्गिस्तानको खेललाई टार्गेट गर्नुपर्छ त्यसपछि अरु खेलको बारेमा सोच्नुपर्छ ।’

    नेपालले किर्गिस्तानलाई पराजित गरेमा बंगलादेशसँग लिगको अन्तिम खेल खेल्नुअघि नै फाइनलमा स्थान पक्का गर्नेछ ।

    बराबरीले पनि नेपालको सम्भावना बाँकी रहन्छ । पहिलो खेलमा बंगलादेशले आत्मघाती गोल मद्दतमा किर्गिस्तानलाई १-० ले पराजित गरेको थियो ।

    उनले किर्गिस्तानविरुद्ध रणनीति के हुन्छ खोल्न भने चाहेनन् । तर अंक जोड्नकै लागि खेल्ने दोहोर्‍याइरहे । नवयुग श्रेष्ठ, आशिष लामा टिममा नपर्दा उनी युवा खेलाडीहरुमा बढी निर्भर रहेको देखिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.