सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राष्ट्रिय निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ


  •    न्युजभित्तो/१७ फाल्गुन २०७७, सोमबार १२:५१ 
  • नारायण अधिकारी
    चितवन, १७ फागुन । चितवन राष्ट्रिय निकुञ्जका गैँडा उचित बासस्थानको खोजी गर्दै पश्चिमतर्फ केन्द्रित भएका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा ७० प्रतिशतभन्दा बढी गैँडा केन्द्रित भएका हुन् । पूर्वी क्षेत्रमा बासस्थानमा खलल आउन थालेपछि उचित घाँसे मैदान र पानीको स्रोतको खोजी गर्दै गैँडा पश्चिमी क्षेत्रमा केन्द्रित भएका हुन् ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार पूर्वी क्षेत्रमा रहेको राप्ती नदीको पानी धेरै ठाउँबाट सिँचाइका लागि लैजाँदा पानीको अभाव हुने गरेको छ । उहाँले भन्नुभयो, “राप्ती नदीमा पानीको स्रोत कम हुँदा नदी आसपासमा घाँसे मैदान प्रभावित बनेको छ ।” पानीको अभावमा आहालका लागि पानी कम छ भने सुख्खा भएर घाँस उम्रिन पाएको छैन । राप्तीमा पानी कम हुँदा निकुञ्जभित्रका घोलमा पानीको मात्रा कमी आएको उहाँले बताउनुभयो । राप्ती नदीले बगाएर ल्याएका बालुवा तथा कङ्क्रिटले समथर निकुञ्जका भाग पुरिँदा पनि घाँसे मैदान मासिएको पाइन्छ ।

    उता पश्चिमी क्षेत्रमा भने नारायणी नदीले बनाएका भङ्गालामा प्रशस्त पानी र घाँसे मैदान बनेपछि गैँडा रमाउने गरेका छन् । पूर्वी क्षेत्रमा बस्तीमा आउनबाट रोक्नका लागि बनाइएका पक्की संरचनाले गैँडा नदी वारपार गरी रमाउन नपाउने गरेको बरालको भनाइ छ । पूर्वमा रमाउन नसकेपछि विभिन्न तरिकाले गैँडा पश्चिम पुग्ने गरेका छन् । उहाँका अनुसार वर्षाको बाढीले बगाएर गैँडा पश्चिम क्षेत्रसमेत पुग्ने गरेका छन् ।

    केही वर्षअघि यसै निकुञ्जबाट राप्ती र नारायणी नदीले बगाएर भारत पु¥याएका १० गैँडा जीवितै उद्धार गरी ल्याइएको थियो । अझै केही गैँडा भारतीय क्षेत्रमा रहेको अनुमान गरिएको छ । यसरी नै वर्षात्को समयमा पूर्वका गैँडा बगाएर पश्चिम पु¥याउने गर्दछ । त्यहाँ पुगेपछि पर्याप्त खाना, पानी पाएपछि गैँडा पश्चिममै बस्ने गरेका छन् । कतिपय गैँडा आफैँ पनि पश्चिमतर्फ जाने गरेका छन् ।

    निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको कार्यालय कसरालाई आधार मानेर पूर्व र पश्चिम भन्ने गरिन्छ । पछिल्लो समय पूर्वी सेक्टरमा पानीका पोखरी र घाँसे मैदान व्यवस्थापनमा जोड दिइएको छ । उहाँले चैतमा गैँडा गणनापछि आन्तरिकरुपमा स्थानान्तरण गर्नुपर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “पश्चिममा धेरै देखिए पूर्वमा स्थानान्तरण गर्नुपर्छ ।” पश्चिममा बासस्थान सानो र गैँडाको सङ्ख्या धेरै भएको उहाँको भनाइ छ । एकै ठाउँमा धेरै गैँडा हुँदा जुधेर मर्नेक्रम भने बढेर गएको छ । प्राकृतिक कारणबाट मरेकामध्ये धेरै गैँडा पश्चिमी क्षेत्रमा रहेको उहाँको भनाइ छ । मरेकामध्ये ६० प्रतिशतभन्दा बढी पश्चिमका रहेका छन् । चोरी शिकारीसमेत पश्चिममा बढी हुने गरेको छ ।

    निकुञ्जको तथ्याङ्कअनुसार पछिल्लो तीन वर्षयता निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा मात्रै ९२ गैँडा मरेका छन् । तीमध्ये ८८ कालगतिले मरेका हुन् । चार चोरी शिकारीले मारेका छन् । कालगतिले मर्ने गैँडा एकापसमा जुधेर, दलदलमा भासिएर, बुढो भएर र खोलाले बगाएर मर्ने गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले पछिल्लो समय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडा बढी भएको जानकारी आएको बताउँदै यस विषयमा छलफल भइरहेको बताउनुभयो । गैँडा गणनापछि आवश्यकताअनुसार आन्तरिक स्थानान्तरण गर्न सकिने उहाँले बताउनुभयो ।

    पछिल्लो गणना अनुसार देशैभर ६४५ गैँडा छन् । जसमध्ये यस निकुञ्जमा ६०५ रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गँैडा गणनायता चितवनबाट चार गँैडा चीन सरकारलाई उपहार पठाइएको र शुक्लाफाँटा र बर्दिया निकुञ्जमा गरी १२ वटा गैँडा स्थानान्तरण गरिएको छ । गैँडालगायतका वन्यजन्तु पश्चिमतर्फ केन्द्रित हुँदा पर्यटक पनि पश्चिमी क्षेत्रतर्फ आकर्षित हुने गरेका छन् । पूर्वी क्षेत्रमा पर्ने सौराहाभन्दा पछिल्लो समय पश्चिमी क्षेत्रको मेघौली पटिहानीलगायतका स्थानमा पर्यटकको आगमन बढेको छ । यस क्षेत्रमा वन्यजन्तु सहजै देख्न पाइने भएपछि पर्यटक यतातर्फ आकर्षित भएका हुन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.