सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विद्यालयमा किनिएका-दिइएका कम्प्युटर अब कवाडी (थोत्रा, काम नलाग्ने) बन्दै


  •    न्युजभित्तो/१२ फाल्गुन २०७७, बुधबार १२:३२ 
  • महोत्तरी, १२ फागुन  ।  भौतिक पूर्वाधार र शिक्षक व्यवस्थापनबिना नै महोत्तरीका विद्यालयमा किनिएका-दिइएका कम्प्युटर अब कवाडी (थोत्रा, काम नलाग्ने) बन्दैछन् । जिल्लाका सामुदायिक विद्यालयले समुचित कोठा, फर्निचर र शिक्षक व्यवस्थापन नै नगरी किनेका र राज्यका निकायबाट दिइएका कम्प्युटर प्रयोगमा नआएर लामो समयदेखि थन्किँदा खिया लाग्दै गएर अब कवाडी बन्दै गएका हुन् ।

    जिल्लाको सम्सी गाउँपालिका–७ स्थित जनता माविमा दुई वर्षअघि किनिएका कम्प्युटर भण्डारण कोठा (स्टोररुम) मा थन्किएका छन् । धुलाम्य भण्डार कक्षमा राखिएका २४ कम्प्युटर प्रयोगमा आउन सकेको छैन । “नेपाल सरकारको आइसिटी कार्यक्रमअन्तर्गत विद्यालयलाई कम्प्युटर प्राप्त भएका हुन्”, विद्यालयका प्रधानाध्यापक महेश्वर रायले भने, “तर शिक्षक अभावमा प्रयोगात्मक सिकाइ हुन नसक्दा लाखौँ मूल्यका कम्प्युटर बिग्रँदैछन् ।”

    विषय शिक्षकको प्रबन्धका लागि स्थानीय तह र जिल्लास्थित शिक्षा विकास समन्वय एकाइ कार्यालयमा समस्या राखिए पनि समाधान भने नभएको प्रअ रायको भनाइ छ । शिक्षक प्रबन्ध नै नगरी कम्प्युटर विद्यालयलाई दिने सरकारी नीति नै दोषपूर्ण भएको सम्सीका शिक्षाविद् बताउँछन् ।

    पाठ्यक्रमअनुसार कक्षा ५ देखि नै कम्प्युटर विषय पठनपाठन गराइनु पर्छ । अहिले प्रयोगात्मक अभ्यास गराउने दक्ष शिक्षक नभएपछि कम्प्युटरसम्बन्धी पाठ्यपुस्तक फलाकेर झारा टार्ने काम मात्र भएको शिक्षक नै स्वीकार गर्छन् ।सम्सी गाउँपालिकामा १३ सामुदायिक विद्यालय छन् ।

    तर कुनै पनि विद्यालयमा कम्प्युटरको प्रयोगात्मक अभ्यास भने भएको छैन । विषयको महत्व नै अभ्यासमा रहेको हुँदा आफूहरु कम्प्युटर सिकाइबाट बञ्चित रहेको यहाँका विद्यार्थीको गुनासो छ । “कम्प्युटर विद्यालयमा आउँदा ओहो अब संसारका अन्य विद्यार्थीजस्तै नयाँ प्रविधि सिक्न पाइने आसले रोमाञ्चित बन्यौँ”, कम्प्युटर आउँदाको आफ्ना सबैजसो साथीको खुशी व्यक्त गर्दै जनता मावि सम्सी–७ का कक्षा ८ की एक छात्राले भनिन्, “तर यी त हामीलाई सिकाउन होइनन, फोहरैफोहरको थुप्रो देखिने भण्डारण कक्षमा थन्क्याउन पो ल्याइएका रहेछन् ।”

    सम्सी गाउँपालिकाका कुनै विद्यालयमा व्यवस्थापन समिति बन्न सकेको छैन । गाउँपालिकाले शिक्षामा बजेट नछुट्याउँदा अवसरबाट बञ्चित रहँदै आएका यहाँका गरिबका छोराछोरी गुणस्तरीय शिक्षा पाउनबाट बञ्चित भएका सम्सी गाउँकै बासिन्दा स्थानीय सामाजिक, राजनीतिक कार्यकर्ता मोहम्मद इम्तियाज अहमदको भनाइ छ ।

    सम्सीजस्तै जिल्लाकै भङ्गाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरमा चार वर्षदेखि कम्प्युटर भण्डारण कक्षमा थन्किएका छन् । कम्प्युटर विषयको प्रयोगात्मक अभ्यास गराउने शिक्षक नहुँदा विद्यालयलाई प्राप्त लाखौँ मूल्यका यी सामग्री बिगँ्रदै गएका प्रधानाध्यापक श्रीराम यादवले बताए ।

    यसैगरी जिल्लाकै बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय बनरझुल्लामा विसं २०७५ मै तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफ्नै संसदीय विकास कोषबाट १५ थान कम्प्युटर उपलब्ध गराएका थिए।

    अन्य निकायबाट थप सहयोग प्राप्त भएका समेत विद्यालयमा अहिले २४ थान कम्प्युटर छन् । तर यहाँ पनि विषय शिक्षकको अभावमा कम्प्युटर थन्केर रहेको प्रधानाध्यापक हरिदेव महतोले बताए । यीबाहेक जिल्लाका अन्य थुप्रै ठाउँमा कम्प्युटर विषय शिक्षकको अभावमा प्रयोगात्मक अभ्यास हुनसकेको छैन । आवश्यक भौतिक पूर्वाधार र शिक्षक व्यवस्थापनको चाँजो नै सुनिश्चित नगरी बाँडिएका कम्प्युटर अहिले त्यसै रहेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.