सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुई जना मान्छेखाएको पाटे बाघले अपराधको सजाय भोग्दै


  •    न्युजभित्तो/६ फाल्गुन २०७७, बिहीबार १२:५१ 
  •  चितवन, ६ फागुन  ।  सामान्यतया मानिसले अपराध गरेर कानुनी सजाय स्वरुप जेल जीवन बिताइरहेको हामीले सुनेका वा देखेका छौँ । तर, एउटा जंगली जनावरले पनि अपराध गरेर कैद बिताइरहेको सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । दुई जना मान्छेखाएर चितवन राष्ट्रिय निकुञ्ज कसराको कारागाररुपी खोरमा एउटा बाघ अपराधको सजाय भोगिरहेको छ । त्यहाँ एउटा फलामले घेरिएको पर्खाल छ । त्यही पर्खालभित्र नरभक्षी बाघलाई राख्ने ठूलो खोर छ । फलामले बारिएको खोरभित्र नरभक्षी बाघले सजायको पाँच महिना बिताएको छ ।

    गत सोमबार त्यहाँ पुग्दा सुतिरहेको बाघ मानिसको आवाजले सचेत भयो । कहिलेकाहीँ मानिसको आवतजावतमा चर्को गर्जन निकालेर रिस प्रकट गर्ने उसको हेरचाहमा खटिएका निकुञ्जका संरक्षणकर्मी बताउँछन् । निकुञ्जले दिएको जानकारी अनुसार यो बाघको उमेर ६ वर्ष भएको छ । यो बाघ नेपालको सबै भन्दा ठूलो भाले बाघ हो ।

    बाघ विज्ञका अनुसार बाघले मान्छे नै खान्छु भनेर खाएको हुँदैन । उसले मानिसलाई खानु रहर नभइ बाध्यता हो । नरभक्षी बाघ सानोमा चुलबुले थियो । पछि यो ठूलो हँुदै गएपछि यसले आफ्नो क्षेत्र बढाउन थाल्यो ।

    राप्ती नदी पारीको जंगलभित्र बघिनीले आफ्नो छुट्टै क्षेत्र बनाउन थालेपछि अहिले कसाराको खोरमा राखिएको नरभक्षीले पनि पोथी बाघको नजिकैतिर आफ्नो छुट्टै क्षेत्र बनायो । यसलाई आफ्नो क्षेत्रमा अरु जीवजन्तुहरु आएको मन पर्दैनथ्यो । उसले चित्तल, मृगलगायतका जीवजन्तुहरु आहारा बनाउने गर्दथ्यो । जंगलभित्र सबैभन्दा ठूलो, मोटो भएकोले पनि नरभक्षीको छेउतिर जान कोही पनि अघि सर्दैनथे । नरभक्षी आफ्नो आहारा खाएर आनन्दले शीतल छहारीमा बस्थ्यो । निकुञ्जका रेन्जर पुष्पदीप श्रेष्ठका अनुसार पेट भोको भएको बेला मात्रै नरभक्षीले अन्य जीवजन्तुलाई आक्रमण गर्दथ्यो ।

    यसरी नै नरभक्षीको दिनहरु बितिरहेको थियो । तर, उसलाई नै आक्रमण गरी उसले विचरण गर्ने क्षेत्रमा अन्य बाघले कब्जा गरे । त्यसपछि उसलाई आहारा पाउन पनि मुस्किल हुँदै गयो । पहिले उ बसेको क्षेत्रमा सहजै आहारा फेला पर्न छाड्यो । बिस्तारै उसको तौल घट्दै गयो । उसलाई आहाराको लागि धेरै सकस हुँदै गयो । शिकार गर्दा नरभक्षी घाइते भयो । उसले शिकार गर्न पनि सकेन ।

    त्यसपछि उसले जंगल छोडेर मानिसले घाँस दाउरा काट्ने क्षेत्रतिर आउन थाल्यो । अन्तिम अवस्थामा केही नपाएपछि उसले वनमा घाँस काट्न गएका एक पुरुषलाई मारेको थियो । बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्ने क्रममा भरतपुर महानगरपालिका–१३ का ६० वर्षीय बाबुराम महतोलाई भदौ २२ गते नरभक्षीले आफ्नो आहारा बनाएको थियो । यसपछि नै यसको बारेमा जान्न सबैको ध्यान केन्द्रित भयो ।

    महतो घर नजिकैको सामुदायिक वनमा घाँस काट्न गएका थिए । बिहान करिब साढे १० बजे नरभक्षीले महतोलाई खाएको थियो । उसले महतोको शव आधा शरीर खाएको अवस्थामा निकुञ्जभित्र छाडेको थियो । चितवन राष्ट्रिय निकुञ्जका रेञ्जर श्रेष्ठका अनुसार नरभक्षी बाघले एउटा मानिस खाएर अरु मानिसलाई पनि आक्रमण गर्दैन भन्ने अनुमान गरेको थियो । नरभक्षीले पनि अन्य मान्छेलाई आक्रमण गर्दैन भन्ने विश्वासले उसको खोजी नगरेको रेञ्जर श्रेष्ठले बताउनुभयो ।

    तर, नरभक्षीले बाटुली पोखरीमा मान्छे खाएको एक महिना नपुग्दै फेरि अर्को पुरुषको पनि ज्यान लियो । असोज १० गते बेलसहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर–१३ का ६३ वर्षीय जन्हु चौधरीलाई खाएको थियो । वनको गेटको नजिकै घर भएका चौधरीलाई वनको गेटबाट करिब ४०० मिटरभित्र घाँसे मैदानमा घाँस काट्दै गरेको अवस्थामा बाघले आक्रमण गरेको थियो ।

    मृतकका छोराले बाबुलाई बाघले खाँदै गरेको देखेपछि अन्यलाई खबर गरेका थिए । यसले राप्ती नदी तरेर पारी जंगलभित्र लगेर चौधरीलाई खाएको निकुञ्ज स्रोतले बताएको छ । त्यसपछि निकुञ्जले मान्छे खाएको भोलिपल्ट नै बाघको खोजी कार्य शुरु गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत शिव गैरेले जानकारी दिनुभयो । यो बाघलाई खोज्नको लागि निकुञ्जको ६ वटा हात्ती तथा नारायणी सफारीबाट चार वटा हात्ती री १० वटा हात्तीलाई लगिएको थियो । साथै निकुञ्जका कर्मचारी, सेना तथा प्रहरी समेत गएर बाघलाई समातेका थिए । यसलाई करिब पाँच घण्टाको प्रयासपछि नियन्त्रणमा लिइएको गैरेले जानकारी दिनुभयो ।

    यो नरभक्षी बाघलाई औषधियुक्त सुई प्रहार गरी लठ्याएर (डार्ट गरी) समातिएको थियो । त्यसपछि नरभक्षी बाघलाई निकुञ्जको मुख्यालय कसरामा रहेको खोरमा राखियो । त्यो दिन त बाघले खानेकुरा पनि केही खाएन । कसराको गोही प्रजनन् केन्द्र तथा बाघको हेरचाह गर्ने मणिराज महतोले भन्नुभयो, ‘नरभक्षीलाई खोरमा थुनिएको दिन थकित भएको थियो । आहारा पनि खाएको थिएन । छटपटिएर यताउता हिँड्थ्यो, कराइरहन्थ्यो । उसको अनुहारमा रिसाहा देखिन्थ्यो । पानी मात्रै खान्थ्यो ।’

    बाघको दिनचर्या

    फलामको रडले बनाइएको खोरभित्र दुईवटा कोठा रहेका छन् । एउटा खोरमा आहारा खाने ठाउँ छ । नरभक्षी बाघ खोरको वरिपरि घुम्दै गर्जिन्छ । यसलाई खोरमा राखेको पनि पाँच महिना पूरा भएको छ । बिस्तारै नरभक्षीको व्यवहारमा पनि परिवर्तन आएको छ ।

    यसका पञ्जाहरु पनि धेरै फलामका डण्डीमा दलिएर राता र फुुस्रा भएका छन् । यसलाई रातको समयमा उनका बघिनी भेट्न नजिकै आएर छुन खोज्छन् । तर, फलामका बारले गर्दा उनीहरुले पञ्जाको नंगले मात्रै छुन सक्छन् । करिब २÷३ घण्टाको समयमा बघिनीले नरभक्षी बाघलाई छोडेर जान्छन् ।

    जंगलमा भएका चरा, बाँदरहरु कराएको आवाजले बघिनीले भेट्न आएको संकेत हुने महतोले जानकारी दिनुभयो । यसपछि बाघ अलि खुसी हुँदै सुत्न थाल्छ । बिहान अबेरसम्म सुत्छ । दिउँसोको समयमा यसलाई ८ केजी मासु दिइन्छ । नरभक्षीले आहारा खाएपछि एकछिन आराम गरेर सुत्ने महतोले जानकारी दिनुभयो ।

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीको अनुसार यो बाघको लम्बाई २९६ सेन्टिमिटर रहेको छ भने टाउकाको लम्बाई मात्रै ४५ सेन्टिमिटर रहेको छ । अधिकारीले भन्नुभयो, ‘तत्काल नरभक्षी बाघलाई छोड्न सकिने अवस्था छैन । यदि उसको बानीव्यवहारमा राम्रो परिवर्तन आयो भने छोड्न सकिन्छ तर उस्तै व्यवहार भयो भने छोड्न सकिदैन ।’

    चितवन राष्ट्रिय निकुञ्जमा हाल १०० वटा पाटे बाघ रहेका छन् । बाघ १६ देखि २० वर्षसम्म बाँच्छ । अधिकारीले जंगलमा घाँस दाउरा काट्न जाने मानिसहरुले बाघको पिसाब र बाघको गन्ध याद राख्नुपर्ने बताउनुभयो । अधिकारीले भन्नुभयो, ‘बाघको पाइला भएको ठाँउमा रौँहरु वा रगत वा धसारिएको चिन्ह भए पछ्याएर जानु हुँदैन । बाघले शिकार गरेर खान लागेको छ, शिकार बच्चालाई खुवाउन लागेको छ भन्ने अनुमान लगाउनुपर्छ । यस्तो अवस्थामा बाघ खतरनाक हुन्छ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.