सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कम्युनिष्टहरुले जहिले पनि बेइमानीको राजनीति गरे,इमानको राजनीति गर्ने नेपाली कांग्रेस मात्र हो:युवा नेता कोइराला


  •    न्युजभित्तो/१ माघ २०७७, बिहीबार १२:२७ 
  • चितवन, माघ ०१ । नेपालमा इमानको राजनीति गर्ने नेपाली कांग्रेस मात्र हो । कम्युनिष्टहरुले जहिले पनि बेइमानीको राजनीति गरे । अतित हेर्दा पनि यही देखिन्छ, अहिलेको राजनीतिक परिदृष्य हेरियो भने पनि यही बुझिन्छ ।

    कम्युनिष्टहरु आपसमा बेइमानी गर्छन् नै, कांग्रेसलाई पनि बेइमानीको सिकार बनाउँछन् । अहिले कम्युनिष्टहरु ललिपप बोकेर कांग्रेस नेताहरुको घरदैलोमा पुगिरहेका छन् । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल केही समय पहिले रामचन्द्र पौडेलको घर पुग्नुभएको थियो । अहिले पार्टी सभापति शेरबहादुर देउवाको घर पुग्नुभएको छ ।

    प्रष्ट छ– कांग्रेस नेताहरुलाई ललिपप देखाउन उहाँहरु घरदैलो गरिरहनुभएको छ । प्रचण्डले गुलियो ललिपप देखाउनुहुन्छ तर त्यो विषालु हुन्छ भन्नेमा कांग्रेसजनले प्रष्ट हुनुपर्छ । प्रचण्डले सधैं देशलाई भड्खालामा जाक्नुभयो, अहिले पनि त्यही गरिरहनुभएको छ, अब पनि त्यही गर्ने लक्षण देखिन्छ । देश बर्बाद बनाउने हो भने कांग्रेसलाई भड्खालामा जाक्नुपर्छ भन्ने प्रचण्डले बुझ्नुभएको छ ।

    प्रचण्ड र माधवको घरदैलोलाई कांग्रेसजनले कसरी बुझ्ने ? यहाँ सो विषयमा टिप्पणी गर्दैछु ।

    १– लोकतन्त्र, निर्वाचन, मानव अधिकार, प्रेस स्वतन्त्रता, मौलिक हकको मामिलामा नेपालमा कोही प्रतिवद्ध छ भने नेपाली कांग्रेस नै हो । कम्युनिष्टहरु अझै परीक्षणकालमै छन् । निर्वाचनको बारेमा नेकपाको केपी ओली नेतृत्वको खेमा सकारात्मक देखिन्छ तर प्रचण्ड माधवको खेमा प्रतिवद्ध देखिँदैन । यो कुरालाई कांग्रेसले ‘नोटिस’ गर्नुपर्छ ।

    २– प्रतिनिधि सभा पुर्नस्थापना भएन भने आन्दोलन गर्छाैं भन्ने अभिव्यक्ति प्रचण्डको पक्षबाट आएको छ । ओली पक्षले चाहिँ कुनै हालतमा प्रतिनिधि सभा पुर्नस्थापना हुन सक्दैन भनिरहेको छ । अदालतमा विचाराधीन विषयमा यसरी बोल्नु दुवैको अतिवाद हो । न्यायालयप्रतिको निष्ठामा दुवै चुकेका छन् ।

    ३– चुनाव गर्नका लागि सरकारलाई कांग्रेसले सघाउनुपर्छ । चुनावको विकल्प खोज्नु हुँदैन । चुनावप्रतिको निष्ठालाई हामीले कम्युनिष्टको लेभलमा गिराउनु हुँदैन । चुनावप्रति कांग्रेस प्रतिवद्ध छ । तर, ओली सरकार प्रतिवद्ध छ कि छैन ? यो प्रश्न गर्दै र शंका गर्दै ओली सरकारलाई सघाउनुपर्छ । चुनाव नगर्ने छाँट ल्याएमा ओली सरकारको सती कांग्रेस जान हुँदैन । कांग्रेसले अर्काे बाटो लिनुपर्छ ।

    ४– प्रचण्ड पक्ष चुनाव चाहँदैन भन्ने प्रष्ट छ । उहाँहरुको घोषित नीति नै हो । अदालतले विघटनको पक्षमा फैसला गर्यो भने पनि चुनावमा नजाने, आन्दोलनमै जाने उहाँहरुले घोषणा गर्नुभएको छ । यस्तो घातक नीतिमा कांग्रेस लाग्न सक्दैन, लाग्न हुँदैन । प्रचण्डहरुको सती कांग्रेस किन जाने ?

    ५– प्रचण्डले जातीय, साम्प्रदायिक, धार्मिक, क्षेत्रीयतावादी नारा फेरि पनि उराल्न सुरु गर्नुभएको छ । विघटनले देशलाई जुन विग्रहमा लगेको छ त्यसलाई चुनावको माध्यमबाट सच्याउन सकिन्छ । तर, जातीय साम्प्रदायिक विग्रहमा लाने प्रचण्डको प्रयास सच्याउन धेरै गाह्रो हुनेछ । त्यसकारण नेपाली कांग्रेस प्रचण्डको ललिपपबाट लोभिनु कुनै हालतमा हुँदैन ।

    ६ – कांग्रेस ललिपप खान्छ तर प्रचण्डको हातबाट होइन, जनताको हातबाट । जनताको हातबाट ललिपप खाने हो भने चुनावमा जानुपर्छ । प्रचण्डको विषालु ललिपप र चिप्ला कुरामा फस्न हुँदैन ।

    प्रचण्डलाई कांग्रेसले कुनै हालतमा विश्वास गर्न सक्दैन । विश्वास गर्न चाहँदा पनि सम्भव छैन । किनभने देश र कांग्रेसलाई उहाँले गरेको गद्दारीको सूची लामो छ । यहाँ म कांग्रेसलाई प्रचण्डले गर्नुभएको एकदुईवटा नमूना गद्दारी प्रस्तुत गर्छु ।

    १– जनयुद्धका नाममा गरिएका हत्या आतंकको फेहरिस्त लामो छ । आफूले मारेकाहरुको आत्मालाई शान्ति दिन प्रचण्डले कुनै पहल गर्नुभएको छैन । १७ हजार मारिएका थिए उहाँहरुको कथित जनयुद्धमा । पाँच हजारको मात्र जिम्मा लिन्छु भन्नुभयो प्रचण्डले । पाँच हजार होइन एकजना मार्न पनि बेइमानी हो । एकजना मारेको हो भने पनि सजाय भोग्नुपर्छ । तर, उम्कनका लागि जहिले पनि तिकडम गर्नु बेइमानी हो कि होइन ?

    २– गणतन्त्र स्थापना पछि गिरिजाप्रसाद कोइरालालाई पूर्व सहमति तोडेर राष्ट्रपति बन्न नदिने प्रचण्ड नै हो । प्रचण्डको त्यो बेइमानीका कारण देशले लामो समय क्षति ब्यहोर्नुपरेको छ ।

    ३– प्रचण्डले प्रधानमन्त्री हुँदा सेनापती हटाएर कू गर्न खोज्नुभयो । जनयुद्ध गरेर जे हासिल गर्न सक्नुभएन, कू गरेर त्यो हासिल गर्न खोज्नुभयो । त्यसो गर्नु भनेको कांग्रेसप्रति प्रष्ट गद्दारी थियो ।

    ४– संविधान सभाको चुनावपछि प्रचण्डले रातोदिन कांग्रेससँग गद्दारी गर्नुभयो । कांग्रेस विरुद्ध कहिले जातीय पार्टीहरुलाई उचाल्ने, कहिले एमालेलाई उचाल्ने, कहिले मधेसवादी पार्टीहरुलाई उचाल्ने काम गर्नुभयो ।

    ५– कांग्रेस समतामूलक र सहभागितामूलक समाजमा विश्वास गर्छ । शान्ति र एकता तथा सहअस्तित्वमा विश्वास गर्छ । कांग्रेसको यो मान्यतालाई खण्डित गर्न प्रचण्डले जातीय धार्मिक मुद्दा उठाउनुभयो । त्यस्ता मुद्दा कांग्रेसमा छिराएर कांग्रेसलाई छिन्नभिन्न पार्न खोज्नुभयो ।

    ६– प्रचण्डले स्थानीय चुनावमा कांग्रेसको साथ लिनुभयो । छोरीलाई पनि मेयर बनाउनुभयो । तर, चितवनकै कुरा गर्दा पनि जिल्ला समन्वय परिषद् बनाउँदा भने कांग्रेसलाई गद्दारी गरेर एमालेसँग मिल्नुभयो । अरु जिल्लामा पनि त्यसै गर्नुभयो । कांग्रेसको बुई चढेर चुनाव जित्ने अनि जितेपछि कांग्रेसलाई नै लात हान्ने काम गर्नुभयो । यो चरम गद्दारी होइन र ?

    ७– नाकावन्दीपछि प्रचण्डले ओलीलाई गद्दारी गरेर कांग्रेससँग मिलेर सरकार बनाउनुभयो । कांग्रेसलाई नै लात हान्नुभयो । शेरबहादुर देउवा नेतृत्वको सरकारमा बस्नुभयो । सरकारमै बसेर प्रतिपक्षी एमालेसँग गठवन्धन गर्नुभयो । मन्त्रिमण्डल पनि नछाड्ने र प्रतिपक्षमा पनि बस्ने संसदीय परिपाटीमा विश्वमा कहिँ पनि नहुने काम गर्नुभयो ।

    ८– सत्तामा कांग्रेसको साथमा, चुनावमा एमालेको साथमा गर्नुभयो प्रचण्डले । यो लज्जाजनक थियो । एमालेसँगको गठवन्धन र एकता पनि गद्दारी गर्नकै लागि गरिएको थियो भन्ने अहिले आएर प्रमाणित भएको छ । कांग्रेसको काँधमा चढेर अरुलाई लात हान्ने, अरुको ढाडमा टेकेर कांग्रेसको टाउकोमा हान्ने काम प्रचण्डले निरन्तर गरिरहनुभयो ।

    अहिले प्रचण्ड कांग्रेसको काँध माग्दै हुनुहुन्छ । कांग्रेसको ढाड माग्दै हुनुहुन्छ । कांग्रेसको ढाडमा टेकेर ओलीको टाउकोमा हान्ने प्रचण्डको योजना हो । ओलीको टाउकोमा हानिसकेपछि प्रचण्डले कांग्रेसको टाउकोमा हान्नुहुनेछ । उहाँको अहिलेसम्मको रणनीति र चरित्रले यही देखाउँछ । प्रचण्ड र ओलीको झगडामा कांग्रेस तटस्थ बस्नुपर्छ । ओलीको साथमा लागेर प्रचण्ड विरुद्ध लाग्ने काम पनि गर्न हुँदैन, प्रचण्डको ललिपप खाएर ओली विरुद्ध लाग्ने काम पनि गर्न हुँदैन । यी दुई कम्युनिष्टको झगडामा कांग्रेस तटस्थ बस्नुपर्छ । यिनले दिएको ललिपप कांग्रेसले खान हुँदैन ।

    चुनाव, चुनाव र चुनाव । यही हुनुपर्छ कांग्रेसको नीति । प्रचण्ड या अरुको ललिपपबाट लोभिएर कांग्रेसले यो नीति छाड्न हुँदैन ।

    (लेखक दिनेश काेइराला नेपाली कांग्रेसका नेता तथा नेपाल जेसिजका पूर्व अध्यक्ष हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.