सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुलुकमा युवा नेतृत्वको बहस र आवश्यकता


  •    न्युजभित्तो/२४ मंसिर २०७७, बुधबार १६:३४ 
  • –जेसी अरुणेश्वर खनाल
    मुलुकमा यतीबेला युवा नेतृत्वको आवश्यकता र औचित्यमाथी बहस भइरहेको छ । विश्वका कतिपय देशमा ४० नकटेका युवाहरुले देशको वागडोर सम्हालिरहेको सन्र्दभमा हाम्रो देशमा पनि युवा नेतृत्वको आवश्यकतामाथि बहस शुरु हुनुलार्ई सुखद् मान्नु पर्छ । हुन त यस्तो बहस पहिले पनि नभएको होईन धेरै पटक युवाले देशको नेतृत्व गर्नु पर्छ भन्ने बारेमा बहस भएको छ । तर पनि पछिल्लो केहि दशकयता लगातार हाम्रो मुलुकमा ६० कटेकाहरुले नेतृत्व गरिरहेका छन् । त्यसकारण पनि बेला बेलामा युवा नेतृत्वको आवश्यकतामाथी बहस हुँदै आएको छ ।

    यतिबेला देशका प्रमुख दुई दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसभित्र पनि युवा नेतृत्वको आवश्यकता बारे छलफल शुरु भएको छ । आन्तरिक विवादमा फसेको सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा नयाँ पुस्तालार्ई नेतृत्व हस्तान्तरण गर्न आफु तयार रहेको बताएपछि नेकपा भित्र एक किसिमको तरङ्ग उत्पन्न भएको छ । त्यसले देशका आम युवाहरुमा एक प्रकारको आशाको संचार पनि भएको छ । भलै प्रधानमन्त्रीले आफ्ना दलका अन्य नेताको सेखी झार्नका लागि युवा नेतृत्वको प्रस्ताव गरेका हुन् तर पनि यसले एउटा बहस चाहिँ शुरु भएको कुरालार्ई नकार्न सकिदैन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस यती बेला महाधिवेशन गर्ने तयारीमा जुटेको छ । महाधिवेशनको तयारी शुरु भएसँगै काँग्रेस भित्र पनि युवा नेतृत्वको बहस जोडतोडले उठिरहेको छ । यसको मतलव त्यहाँ पनि नयाँ पुस्तालार्ई अब नेतृत्व हस्तान्तरण गर्नु पर्छ भन्ने बहस शुरु भएको छ । नेपाली काँग्रेसमा आशा लाग्दा युवा नेताहरु छन् , उनीहरुले हिम्तका साथ सबैलार्ई साथ लिएर अघि बढे भने नेतृत्व युवाको हातमा आउन सक्छ । अहिले देशभरिनै काँग्रेस भित्र युवा नेतृत्वको पक्षमा बहस शुरु हुनु सुखद् कुरा हो ।

    हाम्रो देशमा युवा नेतृत्वको परिभाषा व्यक्ति र दल पिच्छे फरकफरक छन् । राजनैतिक दलहरुले आफु अनुकूल हुने गरी युवा नेताको परिभाषा गर्ने कुरा तँपाई हामीलार्ई थाहा भएकै कुरा हो । तर सामान्य अर्थमा भन्नु पर्दा बाल्यावस्था पार गरिसकेका र प्रौढावस्थामा पुगिनसकेका समूहका व्यक्तिलार्ई युवा भनिन्छ । यो समूहका मानिसहरु बढी सिर्जनशील हुन्छन् र राष्ट्रका लागि योगदान गर्न सक्छन् भन्ने आम मान्यता छ । यसको अर्थ अहिले नेतृत्व गरिरहेका पुस्ताले राष्ट्रका लागि केहि गरेनन् भन्ने होईन, उनीहरुले राष्ट्रका लागि ठूलो योगदान पु¥याएका छन् । उनीहरुकै कारण आज हामी एक स्वतन्त्र देशको स्वतन्त्र नागरिक भएर बाच्न पाएका छौं । यसका लागि उहाँहरु सधै सम्मानित हुनुहुन्छ । उनीहरुको योगदानको कदर गर्दै ससम्मान अब नेतृत्व युवा पुस्ताले लिनु पर्छ र अहिले नेतृत्व गरिरहेको पुस्तालार्ई सम्मानसाथ एउटा सल्लाहकारको रुपमा राख्नु पर्छ भन्ने भनाई हो । एउटा युवा भित्र राष्ट्रको भविष्य, वर्तमानका साझेदार तथा समृद्धिको अग्रसंवाहक बन्ने सामर्थ्य लुकेको हुन्छ । युवा भित्र भएको अथाह उर्जालार्ई यतीकै खेर जान दिनु हुँदैन । यो उर्जाको सदुपयोग राज्यले गर्नुपर्छ । त्यस कारण पनि युवा नेतृत्वको बहस शुरु भएको हो ।

    नेपालको राष्ट्रिय युवा नीति, राष्ट्रिय युवा परिषद् ऐन २०७२ को परिभाषामा १६ देखि ४० बर्षको वर्ग युवा मानिन्छ । नेपालमा ०६८ को जनगणना अनुसार १६ देखि ४० वर्षको संख्या ४०.३५ प्रतिशत (१ करोड सात लाख) रहेको छ । तर पनि पछिल्लो केही दशक यता युवाहरुले मुलुकको नेतृत्व गर्न पाएका छैनन् । केहि अपवाद बाहेकलार्ई छाडेर हेर्ने हो भने युवाहरुको समय खाली नेताका कुरा सुन्ने, उनीहरुको पछि लाग्ने र जिउहजुरीमा बित्ने गरेको छ । मुलुकले युवाहरुको सिर्जनशीलता, उर्जा र भिजनलार्ई सदुपयोग गर्न सकेको छैन । यो यतीकै खेर गईरहेको छ ।

    त्यसो भए के हाम्रो देशमा नेतृत्व गर्न लायक युवा नेतानै छैनन् त ? के युवाहरुले आजसम्म अवसरनै नपाएका हुन् त ? त्यसो पनि होईन , सत्तारुढ दल भित्र र प्रतिपक्षी काँग्रेस भित्र यस्ता प्रशस्त सम्भावना बोकेका युवा नेताहरु छन् । जसलार्ई हामीले नजिकबाट नियाली रहेका छौं, उनीहरु सांसद भएका छन् , मन्त्री भएका पनि छन् तर महत्वपूर्ण निर्णायक तहमा उनीहरु पुग्न नसक्दा समस्या उत्पन्न भएको छ । कुनै राजनीतिक दल बिषेषभन्दा पनि युवाहरुले अब जर्वजस्त नेतृत्वका लागि हस्तक्षेप गर्नुपर्छ भन्ने कुरा हो ।

    युवाहरुले नेपालमा अवसरनै नपाएको पनि होईन, उप–निर्वाचन बाहेकको नतिजा हेर्दा स्थानीय तहमा ३९.६४ प्रतिशत (मेयर १७.७४ प्रतिशत, उपमेयर ३७.८८ प्रतिशत गापा अध्यक्ष २४.३४ प्रतिशत उपाध्यक्ष ५१.५२ प्रतिशत), प्रदेश तहमा २३.६३ र राष्ट्रिय सभा ६.७७ प्रतिशत, संघीय संसदमा १३.०९ प्रतिशत युवाको प्रतिनिधित्व हेर्ने हो भने राष्ट्रिय सभा बाहेक अन्यमा सहभागिताको दृष्टीकोणले निराश हुनु पर्ने ठाउँ छैन । हो यही उत्साहलार्ई कायम राख्दै अब युवाले मुलुकको प्रमुख शासकीय बागडोर सम्हाल्ने तर्फ अघि बढ्न आवश्यक देखिन्छ । अझै पनि राज्यको नीति निर्माण र निर्णय प्रक्रियामा युवाको सहभागीता सुनिश्चित हुन सकिरहेको छैन ।

    हुनत अहिलेको युवा पछि गएर बृद्ध हुन्छ, त्यो बेला फेरी त्यो बेलाको युवाले नेतृत्व लिन पर्छ । अविछिन्न उत्तराधिकारीवाला शासन व्यवस्थामा योग्य शासक निर्माण हुन धेरै समय लाग्न सक्छ त्यसकारण अहिलेदेखि नै युवाहरुलार्ई नेतृत्व हस्तान्तरण गरियो भने त्यसले पुस्तौसम्म एउटा राम्रो अभ्यासको जग बसाल्न सक्छ । यती कुरालाई हरेक राजनैतिक दलले बुझ्न आबश्यक छ । युवा नरहेको, वृद्ध नभएको कोही पनि छैन तर सवाल हामी त्यो समयमा रहँदा भावी पुस्तालार्ई के सन्देश दियौँ भन्ने हो । युवा भनेको सबैको साझा नै हो, चाहे उ जुनसुकै पार्टीको, विचारको किन नहोस् । एउटा युवाले बोक्ने एजेण्डा सिंगो देशसँग जोडिएको हुनु पर्छ, सीमित स्वार्थ पाल्ने व्यक्तिले युवालार्ई एजेण्डा बनायो भने त्यसले नाफा र घाटामा हिसाव गर्न थाल्छ जसले गर्दा युवा शब्दमा व्यपार शुरु गर्छ । त्यसकारण यस्ता स्वार्थ जोडिएका मानिसहरु संग युवाहरु सचेत हुन आवश्यक छ । युवालाई प्रयोग गरेर कयौं नराम्रा काम भएका दृष्तान्ट हामी सामु छन् । यस तर्फ युवा सचेत हुन आवश्यक छ । युवालार्ई राज्य सञ्चालन प्रकृयामा समावेश गर्न नसके राष्ट्रले उनीहरुको उर्जा र प्रतिभाबाट लाभ लिनुको सट्टा कुलत, विकृति, द्वन्द्व र अस्थिरताको सामना गर्नुपर्छ ।

    हाम्रो मुलुकको अहिलेको जल्दो बल्दो समस्या भनेको युवाहरु विदेश पलायन हुनु हो । देशको सबैभन्दा बढी सक्रिय, उर्जावान र गतिशील समूह यसरी विदेश पलायन हुँदा यसले मुलुकलाई कती घाटा पु¥याएको होला यसको कुनै लेखाजोखा छैन । हुन त टन्न रेमिट्यान्स आएको छ भनेर हामी मख्ख हौंला तर क्षणिक मात्र हो , केहि समय मात्र रहन्छ । अहिले कोभिडको महामारीका बेलामा लाखौ मानिसहरु रोजगारविहिन भएर घर फर्किय । त्यसकारण यो चुनौतीलाई सामना गर्दै मुलुकमानै रोजगार सिर्जना गर्नु सबैभन्दा बढी चुनौतकिो बिषय हो । वर्षेनी ५ लाख ३८ हजार युवाहरू रोजगारीका लागि विदेशीने गरेको तथ्यांक छ । यो दर प्रतिदिन १ हजार ५ सयको हाराहारीमा हुन आउछ । अहिलेको पुस्ताको नेतृत्वबाट तत्काल यस्ता समस्याको समाधान हुने छाँट देखिदैंन तसर्थ यसका लागि पनि युवा नेतृत्व स्थापित हुन आवश्यक छ । युवाहरुलार्ई स्वरोजगार बनाई देशमानै राख्न सकियो भने मात्र देशको समृद्धि संभव छ । देशको समृद्धिको ठूला ठूला गफ गर्ने तर त्यस तर्फ सिन्को पनि नभाच्ने प्रवृत्तीले देश उँभो लाग्दैन । यसका लागि क्षमता, उर्जा र दृष्टीकोण सहितको युवा नेतृत्वको आवश्कता छ ।

    युवा अवस्थाको उमेर भनेको सधै रहिरहने अवस्था पनि होईन । यो जीवनमा एक पटक प्राप्त गरिन्छ । यही समयको सहि सदुपयोग युवाले गर्नु पर्दछ । युवा भित्रको सिर्जनशीलता, जोश, जाँगर र क्षमतालाई राज्यले उपयोग गर्न पाउनु पर्दछ । यसका लागि छुट्टै नीति बन्न आवश्यक छ । यसका लािग पनि राज्यको निर्णायक तहमा युवाको सहभागिता आवश्यकता पर्दछ ।

    हाम्रो पुस्ताको अघि कयौ चुनौतीहरु छन् । यस्ता चुनौतीहरुलार्ई क्रमैसँग समाधान गर्दै लैजानु पर्ने आवश्यकता छ । यस्ता चुनौतीहरुको सामना गर्न वर्तमानमा भएको युवाको पोजिसनले सक्दैन । यसकारण अब राज्यका हरेक निकायहरुमा युवा सहभागिताको आवश्यकता छ । एकै किसमको उमेर समूहको मान्छेले लामो समय शासन गरिरहँदा देश कुन अवस्थामा छ भन्ने कुरा छर्लङ्ग छ । त्यसकारण अब युवालाई नेतृत्व दिन ढिला गर्नुहुन्न । अहिलेको युवा पुस्ताले मात्र हरेक समुदायका व्यक्तिहरुको आवाजलाई प्रतिनिधत्व गर्न सक्छन् । उनीहरुसँग समस्याहरुको समाधान गर्ने जोश र जाँगर सँगसँगै योजना र दृष्टीकोण पनि छ । यस तर्फ अब सबैले ध्यान दिन आवश्यक छ ।

    अन्त्यमा अहिले देशमा चलिरहेको युवा नेतृत्वको बहसलार्ई एउटा सार्थक निष्कर्षमा पु¥याउन आवश्यक छ । यसका लागि सबै बिचार बोक्ने युवाहरु एकजुट हुन आवश्यक छ । नीतिगत रुपमानै युवा सहभागिताको सुनिश्चितता हुन सके मात्र सबैको पालो आउने हो । त्यसकारण राज्यका महत्वपूर्ण निर्णायक तहहरुमा युवा नेतृत्व सहभागिताको नीतिगत व्यवस्था गर्न तर्फ लागौं । यसो गर्न सकियो भने मात्र हामीले खोजे जस्तो सहभागिताको ग्यारेण्टी होला । युवाहरुनै एक आपसमा फुटेर अघि बढ्दा यसले हाम्रो पुस्ताको युवालाई मात्र घाटा गर्दैन, भविष्यको पुस्तालाई समेत यसले असर गर्छ । भोली हाम्रो छोराछोरीको पुस्ताले हामीलार्ई नधिकारुन् त्यसकारण पनि अहिले एकजुट भएर युवा नेतृत्व स्थापित गर्न लागौं । (लेखक जेसी अरुणेश्वर खनाल नेपाल जेसीजका पूर्व राष्ट्रिय महासचिव र पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष हुनुहुन्छ । सं. )

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.