सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यहीको दूधले पुग्ने भो चितवनलाई


  •    /१० जेष्ठ २०७६, शुक्रबार १६:२८ 
  • – कृष्ण आचार्य

    भरतपुर । चितवन जिल्ला दूधमा आत्मनिर्भर भएको छ । दुग्ध उत्पादक सहकारी, स्थानीय सरकार, पशु विज्ञ केन्द्रलगायतका विभिन्न सङ्घसंस्थाको उपस्थितिमा दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर घोषणा गर्न लागिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले जानकारी दिनुभयो ।

    विभिन्न समिति र उपसमितिहरु गठन गरी दूध र दुग्धजन्य पदार्थको वास्तविक तथ्याङ्क लिइएको उहाँले बताउनुभयो । कृषि तथा पशुपक्षीको क्षेत्रमा आत्मनिर्भर जिल्लाको रूपमा रहेको चितवनले उत्पादन गरेको दूध बाहिरी जिल्लामा समेत निर्यात गर्दै आइरहेको न्यौपानेको भनाइ छ ।

    चितवनमा उत्पादन हुने दूधको ४० प्रतिशतभन्दा बढी बाहिरी जिल्लामा पठाउने गरिएकाले दूधमा आत्मनिर्भर जिल्ला घोषणाको तयारी तीव्र पारिएको चितवन जिल्ला दूध उत्पादक सहकारी सङ्घका सचिव किशोर बगालेले बताउनुभयो । जिल्लामा उत्पादन भएको आधा दूधले यहाँको जनसङ्ख्यालाई पुग्ने बगालेको जिकिर छ । जिल्लामा दूध किसानको तथ्याङ्क सङ्लकन गरेर मन्त्रालयमा पठाउन लागिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “स्थानीय सरकारले गर्नुपर्ने काम स्थानीय सरकारकै समन्वयमा किसानले गर्न लागेका छौँ ।” साविकको जिल्ला पशुसेवा कार्यालयले चितवनलाई दूधमा आत्मनिर्भर घोषणा गर्ने पटकपटक प्रतिबद्धता जनाएको थियो तर बजेट अभावको कारण देखाउँदै कार्यान्वयन गरेको थिएन ।

    चितवनमा अन्य जिल्लामा भन्दा बढी दूध उत्पादन हुँदासमेत आत्मनिर्भर जिल्ला घोषणा नगरिएकै कारण सरकारको आँखामा पर्न नसकेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष एवं राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य भागिरथ तिमल्सिनाले बताउनुभयो । दूधमा आत्मनिर्भर जिल्ला घोषणा गरेपछि विभिन्न सङ्घसंस्था तथा सरकारबाट समेत अनुदानका कार्यक्रम आउने तिमल्सिनाको भनाइ छ । सरकारको नजरमा काभ्रे मात्रै पर्ने गरेको उल्लेख गर्दै तिमल्सिनाले त्यहाँभन्दा चितवनमा गुणस्तरीय र धेरै दूध उत्पादन हुने गरेको जिकिर गर्नुभयो ।

    चितवनलाई दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाएसँगै यहाँका किसानलाई समेत आत्मनिर्भर बनाउनुपर्नेमा भैँसीपालक किसान इन्द्रमणि गैरेले जोड दिनुभयो । दूधको उत्पादनभन्दा बिक्री मूल्य थोरै हुनु, अनुदान कुम्ल्याउनका लागि किसान बन्नेजस्ता समस्या समाधान गर्न सकेको खण्डमा मात्रै किसानसमेत आत्मनिर्भर हुने गैरेको भनाइ छ । अस्थायी किसान बन्ने र अनुदान पाएपछि पेशा छाड्ने प्रवृत्ति बढी देखिएकाले किसान आत्मनिर्भर हुन नसकेको गैरेले बताउनुभयो ।

    सङ्घका अनुसार जिल्लामा दैनिक तीन लाख लिटर दूध उत्पादन हुन्छ भने १३७ दुग्ध उत्पादक सहकारी सङ्घसंस्था रहेका छन् । भरतपुर महानगरपालिकामा ५२, रत्ननगर नगरपालिकामा २१, कालिका नगरपालिकामा आठ, खैरहनी नगरपालिकामा २३, राप्ती नगरपालिकामा छ र माडी नगरपालिकामा एउटा मात्र दुग्ध सहकारी सङ्घ छन् । चितवनका सहकारीमा सङ्कलन भएका दूध काठमाडौँ, पोखरा, हेटौँडालगायतका शहरमा पुग्छ ।

    चितवनका किसानले दूधको मूल्य नपाएको भन्दै विभिन्न समयमा सडकमा नै दूध पोखेर सरकारको ध्यानाकर्षण गर्दै आएका छन् । असली किसान पहिचान गर्दै उनीहरुलाई अनुदान दिएर भए पनि यस पेशामा टिकाउनसमेत जिल्लालाई दूधमा आत्मनिर्भर घोषणा गर्न लागिएको अगुवा किसान बताउँछन् । सरकारले देशलाई नै अण्डा, मासु र दूधमा आत्मनिर्भर बनाउने घोषणा गरिसकेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.