सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दासढुङ्गा-नारायणी एकीकृत विकास परियोजनाबारे बृहत छलफल, सबैलाई समेटेर लैजान सुझाव


  •    /७ जेष्ठ २०७६, मंगलवार २१:४६ 
  • चितवन । दासढुङ्गा-नारायणी एकीकृत विकासबारे विज्ञ समूहले तयार पारेको गुरुयोजनामाथि मंगलबार भरतपुरमा बृहत छलफल गरियो । भरतपुर महानगरपालिकाको सभाहलमा आयोजित छलफल कार्यक्रमका सहभागीहरुले सबैलाई समेटेर लैजान सुझाव दिए ।

    मदन भण्डारी फाउण्डेशन चितवन र प्रदेश नीति तथा योजना आयोज प्रदेश नं.३ ले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सहभागी वडाअध्यक्षहरु तथा सरोकारवालाहरुले दासढुङ्गादेखि गोलाघाटसम्मको क्षेत्रमा सरोकार राख्ने सबैलाई समेट्न सुझाव दिए । उनीहरुले निश्चित ठाउँ विशेषलाई मात्रै जोड दिनुभन्दा दासढुङ्गाबाट गोलाघाटसम्म समान रुपमा विकास गर्न सुझाव दिए ।

    जल, वन्यजन्तु र पर्यावरणलाई ख्याल राख्दै स्थानीय आवश्यकता अनुसार विकासको मोडेल तयार पार्नुपर्ने उनीहरुले बताए । जलक्रिडाको प्रचुर सम्भावना भएको नारायणी नदीलाई पर्यटन तथा अन्य व्यवसायिक गतिविधिसंँग जोडेर विकास गर्नुपर्ने भन्दै उनीहरुले सुझाव दिएका हुन् ।
    कार्यक्रममा गुरुयोजनाको बिषयमा प्रस्तुति दिदै परियोजनाका योजना विज्ञ ई.बाबुराम भट्टराइले मदन भण्डारीको दुर्घटनास्थल दासढुङ्गादेखि उहाँको शव भेटिएको स्थल गांँजीपुरसम्मको क्षेत्रलाई पर्यटन तथा आर्थिक विकासको लागि गुरुयोजना अगाडी सारिएको बताउनुभयो । सोही अनुरुप जलगतिविधि, पर्यटन गतिविधि तथा जैविकविविधतालाई चिनाउन एकीकृत परियोजनाको खाका तयार पारेको उहाँले बताउनुभयो । उहाँका अनुसार दासढुङ्गा वरपर रहेको खाली जग्गालाई मदन आश्रित पार्क, म्यूजियम, क्यान्टीन, राजमार्ग सर्भिस सेन्टर तथा अध्ययन, अनुसन्धान केन्द्र बनाउने योजना रहेको छ ।

    यस्तै गाँंजीपुरमा जैविक विविधिताले भरिपूर्ण रहेको क्षेत्र र चितवन राष्ट्रिय निकुञ्ज नजिकै रहेको कारण जैविक विविधता अध्ययन केन्द्रको रुपमा विकसित गर्ने योजना रहेको उहाँले बताउनुभयो । यस योजनामा जैविक विविधिता सेन्टर र बांँस तथा निगालोको पकड क्षेत्र भएकोले त्यस क्षेत्रका लागि यसबाट उत्पादित विभिन्न सामाग्री उत्पादन गर्दै स्थानीयलाई रोजगारी सिर्जना गर्न सकिने यस बृहत योजनामा उल्लेख छ ।

    सो अवसरमा दासढुङ्गादेखि गाँजीपुरसम्म क्षेत्रमा पर्ने भरतपुर महानगरपालिकाका वडाहरुमा पर्ने पर्यटकीय गन्तव्यलाई स्तरोन्नती गर्न जनप्रतिनिधिहरुले सुझाव दिए । वडा नम्बर २९ का वडा अध्यक्ष मानबहादुर रानामगरले कतिपय जनमानसले राजमार्गमा रहेको दासढुङ्गानै थाहानपाएको कारण यसलाई चिनाउने गरी योजना बनाउन सुझाव दिनुभयो । विगत २६ बर्षदेखि यस ठाउंँको संरक्षण गर्न नसकेको भन्दै यसको संरक्षण र मर्मत सम्भार गर्न सके दासढुङ्गाले प्रशस्त पर्यटक तान्न सक्ने उहाँले बताउनुभयो ।

    वडा नम्बर २८ का अध्यक्ष आशबहादुर कुमालले यस वडा पर्यापर्यटनको लागि उपयुक्त स्थान भएको भन्दै यहाँको दुई नदीको संगमस्थलमा रहेको ऐतिहासिक मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सुझाव दिनुभयो । उहाँले राप्ती र नारायणी नदीको संगमस्थल गोलाघाट आफैमा धार्मिक तीर्थस्थल रहेको भन्दै यसलाई सोही अनुसार विकास गर्न सुझाव दिनुभयो ।

    उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले नारायणी नदीको बीचमा रहेको नगरवनलाई खुल्ला चिडियाखानाको रुपमा विकास गर्नुपर्नेमा जोडद दिनुभयो । ठिमुरामा ५० विघा सार्वजनिक जमिन खाली भेटिएको जानकारी दिंदै उहाँले उक्त जग्गालाई जलगतिविधिको रुपमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।

    उद्योग संघ चितवनका उपाध्यक्ष लक्ष्मण अर्यालले नारायणी नदी किनारलाई पर्यटकीय रुपमा विकास गर्दा उक्त क्षेत्रमा होटल तथा रिसोर्टहरु निर्माणमा पनि जोड दिनुपर्ने बताउनुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवका प्रमुख कृष्णकुमार डल्लाकोटीले योजना कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । धेरै योजनाहरु बनेका तर ति कार्यान्वयन हुन नसकेको स्मरण गराउँदै उहाँले दराजमा थन्किने गुरुयोजना बनाउन नहुने बताउनुभयो ।

    विशिष्ट अतिथि भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाहले चितवनमा प्रशस्त सम्भावना बोकेको दुई नदी नारायणी र राप्ती रहेको भन्दै ठीक समयमा ठीक निर्णय गर्न सकेको खण्डमा चितवनले पर्यटन क्षेत्रमा फड्को मार्ने बताउनुभयो । कुनैपनि योजना कार्यान्वयन र व्यवस्थापन गर्न कठिनाई हुने भन्दै उहाँले सम्बन्धित सबैसंँग छलफल गरी अघि बढेको खण्डमा योजना सफल हुने बताउनुभयो ।

    नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य देवीप्रसाद ज्ञवालीले मानव सभ्यताको विकास नदी किनारबाट भएको भन्दै यस परियोजनाले सिंगो देशलाइनै पाठ सिकाउने गरी नमुना मोडलको विकास गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रम मदनभण्डारी फाउण्डेशनका अध्यक्ष एवं विज्ञ समूहका संयोजक डा. तिलचन्द्र भट्टराईले दासढुङ्गादेखि गांँजीपुरसम्मको एकीकृत विकासका लागि गुरुयोजनाको खाका कोरिएको र अन्य स्थानका गुरुयोजना निर्माण गर्न सुझाईएको जानकारी दिदै सबै पक्षको सुझाव अनुसार स्थानीय, प्रदेश र संघीय सरकारमा गुरुयोजना पेश गरिने बताउनुभयो ।

    यस परियोजनाको काम अगाडि बढाउन आर्थिक बर्ष ०७६/०७७ को बजेटमा योजना पार्ने गरी काम भईरहेको उहाँले जानकारी दिनुभयो ।
    परियोजनामा सो दुरीका क्षेत्रहरुमा दुईदेखि चारलेन सहितको मोटरबाटो, फुटपाथ, साईकल लेन निर्माण गर्नुका साथै हरियाली वातावरण कायम गरिने बताइएको छ । कार्यक्रममा विज्ञ टोलीका वरिष्ठ सिभिल इञ्जिनयर गुनराज घिमिरे, वातावरण इञ्जिनियर अभिशेक यादव, अर्थशास्त्री, कपिल सुवेदी, जनसम्पर्क संयोजक शम्भु सुवेदी र आर्टिटेक्ट नवीन घिसिङ्गको सहभागिता रहेको थियो ।

    फाउण्डेशनका सचिव श्याम बिष्टले सञ्चालन गर्नुभएको कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकाल, शिक्षाविद् रमाकान्त सापकोटा, भरतपुर महानगरपालिकाका नारायणी नदी किनारमा पर्ने वडाका अध्यक्षहरुलगायतले सुझाव दिनुभएको थियो । यसअघि फाउण्डेशनले यस विषयमा पटक पटक छलफल गरी प्राप्त सुझावका आधारमा परियोजनाको काम अघि बढाईएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचक ३३ अङ्कले बढ्यो
    परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट
    पूर्वउपसभापति खड्कालाई सातदिने स्पष्टीकरण
    • आरोग्य दिवस मनाइयो
    • कूटनीतिबारे लेख्न महिला पत्रकारलाई प्रोत्साहन गर्नुपर्ने
    • सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन
    • मल्कवाङमा खानेपानीको पहुँच पुग्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.