सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सन्तुलितरुपमा जडिबुटिको प्रयोग गर्न सुझाव


  •    न्युजभित्तो/२० भाद्र २०७७, शनिबार ११:१३ 
  • चितवन । कोरोना भाइरस सङ्क्रमणका बेला प्रतिरोधी क्षमता बढाउन खाइने जडिबुटि सन्तुलित रुपमा प्रयोग गर्नुपर्ने विज्ञहरुले बताएका छन् । चिकित्सकको सल्लाह र सुझावविना यसको अधिक मात्रामा प्रयोग गर्दा हानिकारक हुने उनीहरुको सुझाव छ । बेसार, गुर्जो, तुलसी, मरिच, अदुवा, टिमुरलगायत जडिबुटीको प्रयोग हावापानी, भौगोलिक अवस्था र प्रयोगकर्ताको शारीरिक क्षमताअनुसार मात्रा मिलाएर प्रयोग गर्न उनीहरुले सुझाएका हुन् ।

    कोभिड–१९ को विश्वव्यापी महामारीसँगै नेपाललगायत विभिन्न मुलुकमा जडिबुटी एवं आयुर्वेदिक औषधिको प्रयोग बढेको छ । मानिसले घरघरमा यसको आफूखुसी प्रयोग गरेका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनका प्रमुख डा कोपिला अधिकारी आफूखुशी जडिबुटीको प्रयोग गर्नु उचित नहुने बताउनुहुन्छ । उहाँका अनुसार आयुर्वेदमा आहार द्रव्य (खानाको रुपमा) र औषध द्रव्य (औषधिको रुपमा) यसको प्रयोगको स्पष्ट भिन्नता दिइएको छ । खानामा मसलाको रुपमा प्रयोग गरिने बेसार, अदुवा, टिमुर, मरिच मौसम, परिकारको गुण परिणाम, भौगोलिक परिवेश, हावापानी, व्यक्तिको प्रकृति, रोग अवस्थाअनुसार मात्रा विचार गरेर प्रयोग गर्नुपर्ने उहाँ सुझाउनुहुन्छ । सामान्य रुपमा तरकारी, दाल, अचार, चियामा गर्मी ठाउँमा कम र चिसो ठाउँमा ठिकै मात्रामा यस्ता मसलाजन्य जडिबुटीको नियमित प्रयोग गर्न सकिन्छ ।

    उहाँका अनुसार बेसार उचित मात्रामा प्रयोग गरेमा छालाको रोग, नाकको एलर्जी, घाँटीको सङ्क्रमण, ब्रोङ्काइटिस, नेत्राभिष्यंद (आँखा पाक्ने), जीर्ण व्रण (पुरानो घाउ खटिरा), ढुसीजन्य सङ्क्रमण, क्यान्सर विरुद्ध लड्ने क्षमता बढाउने काम गर्दछ । विभिन्न अनुसन्धानबाट पुष्टि भएअनुसार हरिद्रा (बेसार) को प्रयोग हेपाटाइटिस बि भाइरस, पारा ईन्फ्लुएन्जा भाइरस टाइप ३, रेस्पिरेटरि सिनसाइटल भाइरस, ईन्फ्लुएन्जा भाइरस विरुद्ध प्रभावकारी रहेको पाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यसमा विशेष गरी कर्कुमिन (रासायनिक तत्व) लगायत रासायनिक सक्रिय तत्वको मुख्य भूमिका रहेको हुन्छ । जसले शरीरमा भाइरसको वृद्धि एवं प्रभावलाई निस्तेज पार्दछ ।”

    पित्त थैलीको पत्थरी भएका, एस्पीरिन, वार्फारिनको नियमित सेवन गर्ने व्यक्तिले बेसारको सेवन सावधानीपूर्वक कम मात्रा गर्नुपर्ने उहाँको सुझाव छ । त्यसैगरी पित्त प्रकृति (गर्मी शरीर) हुने व्यक्तिले बेसारको प्रयोग कम मात्रामा गर्नुपर्ने उहाँको भनाइ छ । सामान्यता नेपालीको खानामा प्रयोग गरिने बेसारले शरीरलाई आवश्यक पर्ने मात्रा पुग्ने गरेको उहाँले बताउनुभयो । त्यसबाहेक राति सुत्नु अगाडि तातो दूधमा एक ग्राम बेसार राखेर पिउनु राम्रो हुने उहाँको भनाइ छ । यसरी पिउँदा बढीमा २१ दिनसम्म मात्र पिउनु राम्रो हुने अधिकारीले सुझाव दिनुभयो ।

    गुर्जो विशेषतः रसायन एवं शरीरमा बल दिनको लागि र रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि प्रयोग गरिने उहाँको भनाइ छ । तीर्खा लाग्ने, घाउखटिरा, मधुमेह, रुघाखोकी, दम, एनिमिया, जण्डिस, छालाको रोग, युरिक एसिड, ज्वारोलगायत अन्य रोगमा आवश्यकताअनुसार प्रयोग गरिन्छ । समय समयमा देखापर्ने डेङ्गु ज्वरो, स्वाइन फ्लु, एवं अन्य भाइरसजन्य रोग (रुघा, खोकी, ज्वोरो), रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न र एन्टीभाइरल विरुद्ध यसको प्रयोग गरिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यो आफैँमा मधूमेहको औषधि भएकाले रगतमा चिनीको मात्रा कम भएका र सुगरको औषधि खाइरहेका व्यक्तिहरुले चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्र गुर्जोको सेवन गर्नु उपयुक्त हुन्छ । लामो समयसम्म प्रयोग गर्दा यसले उच्च रक्तचाप कम हुने सम्भावना रहन्छ ।”

    पाँच ग्राम गुर्जोको चूर्ण पानीमा उमालेर मिश्री मिलाएर चियाको रुपमा पिउन सकिन्छ । उहाँले भन्नुभयो, “ताजा गुर्जोको रस २०–२५ मिलिग्राम दिनमा एकपटक र ताजा गुर्जोको डाँठ थिचेर साँझ पानीमा भिजाएर मिश्री मिलाएर राख्ने बिहान छानेर ५० मिलिग्राम पिउने गर्नाले फाइदा हुने गर्दछ ।” यसरी खाँदा पनि २१ दिनसम्म मात्रै सेवन गर्नु उत्तम हुने उहाँको भनाइ छ । तुलसी, ज्वानो, टिमुर, अदुवा जस्ता जडिबुटी रुघा, खोकी, ज्वोरो, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न र एन्टी भाइरल विरुद्ध प्रयोग गर्न सकिने भए पनि यसको सेवन मात्रा मिलाएर सात दिन मात्रै गर्नुपर्ने उहाँको सुझाव छ । टिमुर र अदुवा पाइल्स, फिसरको रोगी, पित्त प्रकृतिको व्यक्तिले सेवन गर्न नहुने उहाँले बताउनुभयो ।

    आयुर्वेदका चिकित्सक पि एन भुसाल जेसुकै पनि मात्रा मिलाएर नखानु मानव स्वास्थ्यका लागि हानिकारक हुने बताउनुहुन्छ । उहाँले बेसार, गुर्जोलगायत जडिबुटी मात्राअनुसार मात्रै प्रयोग गर्न सुझाव दिनुभयो । औषधिका रुपमा प्रयोग गरिने जडिबुटीको प्रयोग जथाभावी धेरै मात्रामा गरेमा त्यसको नकारात्मक प्रभावहरु देखिने उहाँले बताउनुभयो । यसको प्रयोग गर्नु अघि आयुर्वेदिक चिकित्सकसँग परामर्श गर्न पनि उहाँले सुझाव दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.