सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँदरमुढे घटनाको १५ वर्ष : न्यायको पर्खाइमा पीडित


  •    न्युजभित्तो/२३ जेष्ठ २०७७, शुक्रबार १३:२४ 
  • चितवन । तत्कालिन माओवादीले माडीको बाँदरमुढे खोलामा यात्रुबाहक बसलाई लक्षित गरी गराएको बिस्फोटले भएको नहसंहारको घाउ अझै निको हुन सकेको छैन । घटनाको १५ वर्ष पूरा हुँदासम्म न त दोषीलाई कारवाही भएको छ न त पीडितले न्याय नै पाउन सकेका छन् ।

    यात्रुले खचाखच भएको बसलाई लक्षित गरी माओवादीले गराएको विस्फोटमा परेर २०६२ साल जेठ २३ गते बिहान आठ बजे घटनास्थलमै ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए । यो अवधिमा ७ जनाको मृत्यु भईसकेको छ भने कतिपय अपांग बनेर पीडा भोगिरहेका छन् । घटनाका पीडितहरु मानसिक, मुटु लगायतका रोग बोकेर बसिरहेका छन् ।

    बाँदरमुढे घटना पीडित संघर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारी पीडितले वर्षेनी घटनास्थल सम्झने बाहेक अरु केही हुन नसकेको गुनासो गर्नुहुन्छ । उहाँले भन्नुभयो “विगतमा पीडितसँग धेरै पटक राहतको सहमति भयो । तर कहिल्यै कार्यान्वयन हुन सकेन ।”

    उक्त घटना लगत्तै माओवादीका तत्कालिन अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धकाल कै सबैभन्दा दुखद् घटना भनेर क्षमा माग्नु भएको थियो । उहाँले अनुकूल समयमा पीडित समक्ष पुगेर माफी माग्ने बाचा समेत गर्नुभयो । तर त्यो वाचा अहिलेसम्म पूरा हुन नसकेको उपाध्यक्ष अधिकारी बताउनुहुन्छ ।

    माडी चितवन क्षेत्र नम्बर तीन अन्तर्गत पर्दछ । सोही क्षेत्रबाट पुष्पकमल दाहाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको हो । तत्कालिन माओवादीका तर्फबाट ठाकुर ढकाल माडी नगरपालिकाको मेयर हुनुहुन्छ । दाहाल अहिले सत्तारुढ दलको अध्यक्ष समेत बन्नु भएको छ ।

    सबै अनुकूल हुँदा समेत आफूहरुले कतैबाट कुनै किसिमको राहत पाउन सकेको अधिकारीको दावी छ । गत निर्वाचन अघि ०७४ मंसिर १७ गते दाहालले घटनाका केही पीडित व्यक्तिहरुसँग तीन बुँदे सहमति समेत गर्नुभएको थियो । उक्त सहमतिमा मृतकका आश्रित परिवारका लागि काम गर्न सक्नेलाई रोजगार वा स्वरोजगार, नसक्नेका लागि जीवनवृत्ति र बालबालिकाका लागि पठन पाठनको व्यवस्था हुने उल्लेख छ । त्यसैगरी घाइतेका लागि उपचारको व्यवस्था, काम गर्न सक्नेलाई रोजगार वा स्वरोजगार तथा नसक्नेलाई जीवनवृत्ति दिने दाहाल र पीडितबीच सहमति भएको थियो । घटनास्थल बाँदरमुढेमा १० विघा क्षेत्रफलमा स्मारक, चिडियाघर, संग्राहालय निर्माण गरेर उक्त ठाउँलाई पर्यटकीय गन्तव्य बनाउने सहमति दाहाल र पीडितहरुबीच भएको थियो ।

    उक्त समयमा पनि समितिले दाहालसँग सम्झौता गर्न इन्कार गरेपछि संस्थागत रुपमा नभएर केही व्यक्तिहरुसँग सहमति भएको थियो । तर दाहालसँग भएका कुनै पनि सहमति कार्यन्वयनमा आउन नसकेको उपाध्यक्ष अधिकारी बताउनुहुन्छ ।

    घटनास्थलमा पीडित र नेपाली सेनाको सहयोगमा स्मारक बनेको छ । त्यस बाहेक अरु केही हुन सकेको छैन । अधिकारीले अगाडि भन्नुभयो “यो मानवता विरोधी क्रुर अपराध हो । सोही अनुसार दोषीर्लाइ कारवाही र पीडितलाई न्याय दिनुपर्छ भन्ने हाम्रो माग हो ।”

    माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल भने पीडितले राहत पाउन नसकेको कुरा इन्कार गर्नुहुन्छ । उहाँले पीडितहरुलाई राहत र पार्क बनाउने काम अगाडि बढेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “गतवर्ष २५ जना पीडितलाई जनही एक÷एक लाख रुपैयाँ राहत दिएको थियौं । यस वर्ष ३५ जनालाई दिने गरी ३५ लाख बजेट विनियोजन गरिएको छ ।” राहतका लागि निवेदन दिएका ६० जना सबैले राहत पाउने उहाँले बताउनुभयो । पीडितका बालबालिकालाई १ कक्षादेखि १२ कक्षासम्म माडी नगरपालिकाले निःशुल्क पठाउने ढकालले बताउनुभयो ।

    बाँदर मुढेमा पार्क बनाउनका लागि डिपिआर तयार भएर भईसकेको बताउँदै उहाँले १२ करोड रुपैयाँ लागतको पार्क बन्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो “सम्भवत् यसै वर्ष टेण्डर हुन्छ ।”

    यसैबीच घटनाको सम्झनामा शुक्रबार बाँदरमुढे खोलामा बनेको स्मारकमा घटनामा आफन्त गुमाएका र घाइते भएकाहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् । औपचारिक कार्यक्रम नगरिएको भए पनि मृतकका नाममा फूल चढाएर दीप प्रज्ज्वलन गरी एक मिनेट मौनधारण गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.