सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छापामारको छलाङ : उज्यालोको खोजीमा सङ्घर्षका पाइला


  •    न्युजभित्तो/११ जेष्ठ २०७७, आईतवार १५:४३ 
  • बसन्त पराजुली

    भूमिका :
    खिमा रिजाल, माओवादीको एक दशक लामो सशस्त्र युद्धकी छापामार । उनको यात्रा फेरिएको छ अहिले । बन्दुक त्यागेकी उनले कलम उठाएकी छिन् । कलम उनलाई यति प्रिय लाग्न थालेको छ कि, एकपछि अर्को कृति आइरहेका छन्, निरन्तर । ‘उज्यालोको खोजीमा सङ्घर्षका पाइला’ उनको तेस्रो कृति हो । यस अघि उनका ‘अविचलित यात्रा’ (वि.सं २०७१) र ‘कालजयी योद्धाहरु’ (वि.सं २०७३) प्रकाशित छन् । उज्यालोको खोजीमा सङ्घर्षका पाइला’ पुस्तकमा माओवादीको दश वर्षे युद्धमा महिला सहभागिता र शान्ति प्रकृयामा आएपछि माओवादीमा देखिएको ‘विचलन’ देखाउन खोजिएको छ । यो पुस्तक वि.सं २०७६ मा प्रकाशन गरिएको हो ।

    झट्ट हेर्दा संस्मरण जस्तो लाग्ने यो पुस्तकमा लेखिकाले २२ वटा लेख समावेश गरेकी छिन् । प्रायः लेखहरुमा महिलाले माओवादीमा लागेर युद्ध लडेका घटनाहरु देखाइएका छन् । भूँडी पुराण प्रकाशनले प्रकाशन गरेको यो पुस्तक १७८ पेजको छ । कृतिको मूल्य दुई सय ९० रुपैयाँ राखिएको छ ।

    २०५२ माघ १८ गते सिन्धुपाल्चोकको कुभिण्डेमा शिक्षकको गिरफ्तारीमा निशस्त्र महिलाले प्रहरीलाई लखेटेका घटनादेखि सशस्त्र द्वन्द्वमा सुरक्षाकर्मीबाट २०५२ चैत १५ गते मारिएकी धनमाया श्रेष्ठको जीवनीसम्म यो पुस्तकमा समावेश गरिएको छ । श्रेष्ठ माओवादी युद्धमा मारिने पहिलो महिला हुन् । कुमारी बुढाको २०५३ मंसिर १ गते भएको हत्या, पहिलो माओवादी लडाकु दिलमाया योञ्जन मारिएको घटनादेखि २०५४ कात्तिकमा देवी खड्का माथिको बलात्कार, शान्ति प्रक्रियामा आईसकेपछि आफैले विश्वास गरेको पात्रबाट आफैमाथि परेको यौन हिंसाको प्रसङ्गसमेत पुस्तकमा पढ्न पाइन्छ । माओवादी युद्धकै चर्चित भैरवनाथ गण भित्रको घटना पनि पुस्तकमा सङ्क्षिप्त रुपमा प्रस्तुत गरिएको छ ।

    “विश्व इतिहासमा नेपालमा माओवादीको नेतृत्वमा दशवर्षे जनयुद्धमा महिला वीरङ्गनाहरुले लडेका साहस, शक्ति, धैर्य र राष्ट्रप्रतिको इमानदारी स्वर्ण अक्षरले लेखिएको छ”, पुस्तकको भूमिकामा अधिकारकर्मी एवम् महिला संगठनकि संस्थापक शान्ता श्रेष्ठले लेखेकी छन्, “सुन्दैमा शरीरमा काँडा उम्रने अनेकौँ घटना यस कृतिमा छन् ।”

    सवल पक्ष :
    लेखकको आत्म संघर्षको द्वन्द्वबाट निस्किएको तीतो र यथार्थ चित्रण नै ‘उज्यालोको खोजीमा सङ्घर्षका पाइला’ कृति भएकाले यसले माओवादीको सशस्त्र युद्धलाई चित्रण गरेको छ । युद्धको समयमा भएका घटनालाई जस्ताको तस्तै प्रस्तुत गरिएकाले पढ्दै जाँदा पाठकको मन तान्छ । माओवादीमा आधा लडाकु महिला थिए भन्ने पनि यो पुस्तबाट पाठकले सहजै जानकारी लिन सक्छन् ।

    माओवादी युद्धमा महिलाहरुको बीरता, युद्धमा महिलाले गरेको कठोर संघर्ष र प्राप्त उपलब्धि, त्याग र बलिदानलाई पुस्तकमा लिपिवद्ध गरिएकोले यो कृतिलाई माओवादी युद्धको ऐतिहासिक दस्तावेजका रुपमा पनि लिन सकिन्छ ।

    माओवादी युद्धका क्रममा सरकार र माओवादी दुवै पक्षबाट भएका कमजोरी एवम् सुरक्षाकर्मी र माओवादी छापामारकोतर्फबाट समेत ज्यादती गरिएको विषय पुस्तकमा देखाइएको छ, जसले कृति मौलिक हुन पुगेको छ ।
    …..“माओवादी आन्दोलनभित्र आन्दोलनकै क्रममा पनि कयौँ महिला बालत्कारका शिकार नभएका होइनन्”…..

    कृति भित्रको ‘परिस्थितिको सामना गर्दा’ शीर्षकको लेखभित्र रहेको माथिको हरफले माओवादी युद्धमा सुरक्षाकर्मी र माओवादी भित्रबाट भोग्नु परेका हिंसाको चित्रण गरेको छ । महिलाहरु आफ्नै परिवारभित्र पनि सुरक्षित छैनन् भन्ने कुरा यहि लेखमा यसरी देखाइएको छ,
    …..“आफ्नै परिवार अनि अझै आफ्नै बुबावाट बलात्कृत भएका रहेछन् ”….. ।

    कृतिमा सशस्त्र द्वन्द्वमा महिलालाई सशक्त देखाइएको छ । युद्धमा महिला शीर्षकको लेखको एक हरफ जसले महिलाको बहादुरी देखाएको छ :
    …..“चाहे त्यो गोरखा जेल ब्रेकका क्रममा होस् चाहे पुलिसलाई प्रेममा पारेर हतियार र दुश्मनको सङ्ख्या पत्ता लगाई दुश्मनको क्याम्पमा जिलेटिन र डाइनामाइट बनि पड्किएको कालिकाटारको लडाईँ होस् महिलाहरुले युद्धमा प्राप्त गरेको बीरता कम ऐतिहासिक छैन”….. ।

    कमजोर पक्ष
    आख्यानकार रिजाल आफै माओवादी युद्ध लडेको छापामार भएका कारणले पनि हुन सक्छ उनको लेखनीमा माओवादी पक्षको भन्दा सत्ता पक्षको आलोचना बढी देखिन्छ । लेखाइमा पनि माओवादीहरुले प्रयोग गर्ने शब्दहरु वढी प्रयोग भएका छन्, जुन कृतिको सबैभन्दा ठूलो कमजोरी मान्न सकिन्छ । जस्तै, प्रहरी चौकी भने हुनेमा दुश्मनको चौकी, दुश्मनको हत्कडी तोड्दै, विशाल जनयुद्ध आदि यस्ता धेरै शब्द छन् जुन माओवादीका बोलीचालिका शब्द हुन् ।

    कृतिमा लेखिका आफैले पनि केही कमजोरी स्वीकारेकी छिन् । कतिपय घटनाको चित्रण जस्ताको तस्तै गर्न नकेको उनले आफ्नो भनाईमा उल्लेख गरेकी छिन् ।

    …..“मनले चाहेर पनि वा गर्न खोजेर पनि कतिपय घटनाहरुको मिति नसम्झेर त कतिपय पेचिलो भएकाले पनि हुवहु प्रस्तुत गर्न सकिन ”…..
    …..“कतै संस्मरण जस्तो कतै अनुभूति त कतै जीवनी जस्तो भएको छ”…..
    यो लेखक आफैले कृतिप्रति स्वीकारेको कमजोरी हो ।

    निष्कर्ष : 
    माओवादी युद्धलाई हेर्ने आ–आफ्नै दृष्टि भएपनि खिमा रिजालको ‘उज्यालोको खोजीमा सङ्घर्षका पाइला’ पुस्तक सिङ्गो माओवादी युद्ध झल्कने बिम्ब बोकेको पुस्तक हो । यसमा महिलाहरुलाई वीर वीरङ्गनाको रुपमा प्रस्तुत गरिएको छ, जसले पाठकलाई रोमान्चित बनाउँछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.