सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अबको आवश्यकता : बौद्धिक आतङ्कबाद


  •    न्युजभित्तो/२६ बैशाख २०७७, शुक्रबार १९:२७ 
  • मनोज विष्ट
    प्रजातन्त्र पुनःस्थापनापछि हामीले ३० वर्षको समय गुजारिसकेका छौँ । यत्रो प्रजातान्त्रिक/लोकतान्त्रिक इतिहास बोकेको हाम्रो देश मलेसिया, सिङ्गापुर, भारत र चीनको तुलनामा किन यति धेरै पछाडी पर्‍यो ? जबकि यी कुनैपनि देशभन्दा हाम्रो देश प्राकृतिक स्रोत, साधन, मानव संसाधन, सामाजिक सद्भाव र जनचेतनाको दृष्टिकोणबाट कुनैपनि हिसाबले कमजोर हुँदै होइन। फेरिपनि हामी पछि पर्यौँ र आज असन्तुष्टि, बिभेद, बिखण्डनको दाउपेच, क्षेत्रीयताबाद, आपसी खिचातानी र गरीबीको चपेटामा बाँच्न बाध्य भएका छौँ । यद्यपि राजनीतिक नेतृत्वको आह्वानमा सभ्य र समृद्ध समाज निर्माणको लागि बाधकको रुपमा रहेको तत्कालीन राज्य व्यवस्था र संविधान हामीले २००७, २०४६/०४७ र २०६२/०६३ सालमा गरी तिन/तिन पटक जनआन्दोलन गरी फाल्यौँ र फेर्यौँ । फेरिपनि अवस्था ज्यूँका त्यूँ छ । यस्तो किन भयो ? यो प्रश्न आज हाम्रा सामु गम्भीर चुनौती बनेर उभिएको छ।

    यसरी पछाडि पर्नुका विविध कारणहरुको विश्लेषण गर्दै जाने हो भने मूल नीतिको रुपमा रहेको राजनीतिमा गएर हामी टक्क अडिन्छौँ। हामीले व्यवस्था फेर्यौँ तर अवस्था फेर्न सकेनौँ, पात्र फेर्यौँ तर प्रवृत्ति फेर्न सकेनौँ र नीति फेर्यौँ तर नियत फेर्न सकेनौँ । त्यसैले सद्भावलाई घृणामा, विवेकलाई उत्तेजनामा, पदलाई कमाउ धन्दामा र स्रोतलाई अभिषापमा परिवर्तन गर्दै कर्तव्य र उत्तरदायित्व बिनाको अधिकार, क्षमता बिनाको आकाङ्क्षा र उत्पादन बिनाको वितरणको अवाञ्छित सपना देखाउँदै, देख्दै र बाँड्दै हिँड्यौँ। फलस्वरूप हामी आजको स्थितिमा आईपुगेका छौँ।

    इतिहास साक्षि छ, हामीले यो २५/३० वर्षको उर्जाशील समय आपसी दोषारोपण, खिचातानी र राज्य शक्ति हत्याउने दाउपेचमा बिताउँदा विस्तारै भएका उद्योग धन्दाहरु कहिले परिवर्तनको नाममा बन्द गराउँदै गयौँ भने कहिले नव पूँजीवादको नाममा दलाल पूँजीपतिहरुलाई बेच्दै गयौँ । यति मात्र हैन देशको उत्पादनशील क्षेत्रहरूलाई उपेक्षा गर्दै ठूलो युवा जनशक्तिलाई विदेशी मुद्रा भित्र्याउने नाममा खाडी र मलेसियामा बेच्दै गयौँ र क्रमशः परनिर्भरताको दलदलमा भासिदै गयौँ। कानूनी शासनलाई क्रमशः मुर्छित बनाउँदै दण्डहीनता, ढिलासुस्ती र भ्रष्टाचारको बिगबिगीको कारण राष्ट्रिय योजनाहरु कति त अलपत्र परे भने कयौँ कागजमा मात्र सीमित हुन पुगे।

    अब नेपालको ०४६/०४७ पछिको समग्र राष्ट्रिय राजनीति र नेतृत्वको छोटो विश्लेषण गरौँ। चीन र भारतको अकल्पनीय आर्थिक र सामरिक विकासको कारणले नेपाल अमेरिका र पश्चिमा राष्ट्रहरुको लागि भूराजनीतिक रणनीतिको सर्वाधिक महत्त्वको भूमि भएको प्रष्टै छ। यसको शुरुवाती दिनहरुमा अमेरिका र पश्चिममा देशहरुको गतिविधिलाई निगरानी र नियन्त्रण गर्ने जिम्मेवारी पाएको Intelligence Department को पनि निगरानी गर्न तत्कालीन राजा बीरेन्द्रले गठन गरेको Counter Intelligence Department को ०४७ सालको अन्तरिम सरकारको गृहमन्त्रीलाई पनि थाहै नदिइ भङ्ग गरिनुबाट विदेशी हस्तक्षेप किन र कति थियो र छ भन्ने कुरा बुझ्न त्यति गाह्रो छैन।

    हिजो नेपालमा प्रजातन्त्र पुनःस्थापना गर्ने रणनीति तयार गर्ने, तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले संसद भङ्ग गरेर मध्यावधिमा जानुपर्नाको बाध्यता र कारणहरु, लोकप्रिय नेता मदन भण्डारीको नियोजित दुर्घटनामा हत्या हुनु, तत्कालीन लोकप्रिय प्रधानमन्त्री मनमोहन अधिकारीलाई हस्पिटलको बेडबाट राजीनामा गराउनुको कारणहरु, सन्त नेता कृष्ण प्रसाद भट्टराईलाई चुनाव हराउनु, जे जस्ता एजेण्डाहरु बोकेर माओवादी ‘जनयुद्ध’ शुरु भयो, राजा बीरेन्द्रको वंश नै नास गर्नेगरी भएको दरबार हत्याकाण्ड, ०६२/०६३ को आन्दोलन, यस बीचमा बनेका अस्थिर सरकारहरु, सरकारको नेतृत्व परिवर्तनको लागि विदेशी हस्तक्षेप र विदेशीलाई गुहार्ने प्रपञ्चहरु, संविधान सभाको विघटन, जे जस्तो व्यवस्थासहित संविधान जारी भयो, मधेस आन्दोलन र भारतीय नाकाबन्दीदेखि आजसम्म जे जस्ता घटनाक्रमहरु देशमा भए यसबाट मुलुक आर्थिक र समृद्धिको दृष्टिकोणबाट त पछाडि परेको छ नै, अघोषित रुपमा मुलुकको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डता नै सङ्कटमा परेकोमा सायदै दुईमत होला। यो सबै अवस्थाप्रति मुलुक हाँक्ने गैरजिम्मेवार, पदलोलुप, स्वार्थी र अनुत्तरदायी राजनीतिक नेतृत्व दोषी रहेको कसैलाई प्रष्ट्याउन जरुरी नै छैन।

    आज जे जस्तो अवस्था छ, एकछिनलाई सोचौँ त्यसलाई एकदिन हामी पार लगाउँछौँ। तर त्यसपछि मुलुक हाँक्ने सम्भावना बोकेका आजका युवा, विद्यार्थी नेताहरुलाई हेरौँ त, स्थिति झन् विकराल देखिन्छ। कारण, आजका यी युवा, विद्यार्थी नेताहरुमा विकसित हुँदै गएको स्वार्थपरक सोच, गुलामी गर्ने चिन्तन, शैली र शक्तिको आडमा बेलगाम चल्ने संस्कार, आफ्नो क्षमतामा भन्दापनि नेताको घोडा बन्नुमा भएको यिनिहरुको बिश्वास ! तर यहाँ सबैलाई भन्दा पनि केहिलाई छोडेर अधिकांश युवा विद्यार्थी नेताहरुमा देखिएको प्रवृत्तिलाई चित्रण गर्न खोजिएको हो भन्ने बिर्सन भने हुँदैन। त्यसैगरी, कर्मचारीतन्त्रलाई हेरौँ। अधिकांश कर्मचारीहरु राणाकालीन मनोवृत्ति र इण्डियन (भारतीय होइन) Legacy बाट चल्ने गरेका छन् भन्दा कुनै प्रश्न उठाउनु पर्छ जस्तो लाग्दैन। यो अवस्थाको मनोदशाबाट चल्ने कर्मचारीतन्त्र रहेसम्म कसरी तय हुन्छ शान्ति, समृद्धि र सुखतिरको हाम्रो यात्रा ?

    अब प्रश्न उठ्छ, के हामी सधैँ आफ्नो भाग्यलाई दोष दिएर यस्तै अवस्थामा रहिरहने हो ? के हामी निकम्मा हौँ ? के हामीले हामी को हौँ, हाम्रो इतिहास के हो र हामी के गर्न सक्छौँ भनेर अब पनि सोच्ने दिन आएन ? तमाम यी विकराल स्थितिबाट यो देश, समाज र जनतालाई हामीले मुक्ति दिन सक्दैनौँ त ?

    हाम्रो मुलुकको यो अवस्था हुनुमा मुलतः बौद्धिक वर्ग जिम्मेवार देखिन्छन्। मुलुक बुझेका बौद्धिक वर्गका सचेत नागरिकहरु पनि आफ्नो स्वार्थका लागि नेताहरुको बँधुवा मजदुर जस्तो हुनु नै यसको प्रमुख कारण हो भन्नेमा दुईमत हुनै सक्दैन । सायद यिनिहरुमा बौद्धिकता सङ्गसङ्गै जीवनको मूल्य र अर्थ नमिसिएको एउटा कारण हुनसक्छ। अर्को कारण समाजप्रति हेर्ने दृष्टिकोणमा भएको खोट हुनसक्छ। तेस्रो कारण विद्वताको अर्थ सामाजिक रुपान्तरण र मानवीयतासङ्ग जोडिएर मात्र पुष्टि हुन्छ भन्ने ज्ञानको कमी वा बेवास्ता पनि हुनसक्छ। र, यस्ता अन्य धेरै कारणहरु हुनसक्छन्। तर मूल कारण भनेको एउटा सक्षम बौद्धिक मान्छे पनि एकदिन यो धर्तीबाट सबैचिज छोडेर बिदा हुनुपर्छ र बाँचुन्जेल आफै मात्र खाएर बाँच्न मात्र जन्मेको होइन भन्ने सत्यलाई कहिँ न कहिँ नजरअन्दाज गर्नु नै हो।

    त्यसैले अब सम्पूर्ण बौद्धिक व्यक्तित्वहरु म सक्षम छु, आफै बाँच्न सक्छु र मेरो क्षमता र बौद्धिकता नै मेरो लागि सबैभन्दा ठूलो उपाधी र पद हो भन्ने सत्यलाई आत्मसात गरेर सम्पूर्ण लोभ, लालच, इर्श्या र चाकरी त्यागेर देश, समाज र जनताको पक्षमा उभिएर गलतलाई गलत भन्ने अठोटका साथ सामाजिक न्यायको पक्षमा हस्तक्षेपकारी भूमिकासहित सतीसाल झैँ अडिग हुन जरुरी छ। र, त्यसपछि थाहा हुनेछ, बौद्धिक व्यक्तित्वहरु इतिहासको गर्भमा हराउने छन् कि सुनौला अक्षरमा इतिहासकै पानाहरुमा समेटिने छन्।

    अर्को सत्य के पनि हो भने जब सबै बौद्धिक व्यक्तित्वहरु, व्यक्तिगत र पार्टीगत स्वार्थ त्यागेर सामाजिक न्यायको पक्षमा उभिन्छन्, तब सबै गलत नियत भएका नेता, कर्मचारी र युवा, विद्यार्थी नेताहरुको गलत चक्रब्यूह तोडिन्छ्न् र कसैको पनि यसको विरुद्धमा उभिने हिम्मत र ताकत हुनेछैन। अनि शुरु हुन्छ, स्वाधीनता, आत्मनिर्भरता, न्याय, समृद्धि, सुख र शान्ति तर्फको हाम्रो यात्रा र यो नै हो आजको आवश्यकता : बौद्धिक आतङ्कवाद।

    हो, यथार्थमा आजको आवश्यकता बौद्धिक आतङ्कवाद नै हो, हस्तक्षेप मात्र हैन। त्यसैले अब देश र जनतालाई हेपेर पद र सत्तालाई आफ्नो शान र शौकतको हतियार बनाउने नेताहरु, विभिन्न तह र तप्काका कर्मचारी र राज्यका विभिन्न निकाय तथा प्रशासनिक तहमा रहेका मानिसहरुमाथि बौद्धिकहरुले मिलेर ठाउँको ठाउँ कानुनी हतियार उठाएर उनीहरुमाथि आतङ्क नै मच्चाउनु पर्छ। किनभने यिनिहरुलाई पदीय दायित्वबोध नभएको होइन, यिनिहरुले राष्ट्रिय समस्या, चुनौती र आवश्यकता नबुझेका पनि पटक्कै होइनन्। फेरि यिनिहरुलाई कानुनी राज्य, सामाजिक न्याय र आर्थिक नियमितताको बारे थाहा नभएको पनि होइन। हो त केबल यिनिहरुको हेपाहा प्रवृत्ति, दण्डहीनताको पक्षधरता, जनताको शक्तिको अवमूल्यन। त्यसैले बौद्धिकहरु जाग्नु पर्छ, जुट्नुपर्छ र जुरुक्कै उठ्नुपर्छ।

    बौद्धिकता ब्रह्माण्डकै सबैभन्दा ठूलो सम्पत्ति हो। आज संसार जहाँ छ, त्यो बौद्धिकताको उपज हो । तर हाम्रो परिप्रेक्ष्यमा तपाईंको बौद्धिकताले तपाईं बौद्धिकहरुलाई कुनै कुनाबाट गिज्याईरहेको जस्तो भान भइरहेको छ। के अझैपनि समयले दिएको यो गहन जिम्मेवारी बुझ्ने क्षमता हाम्रा बौद्धिक व्यक्तित्वहरुले राख्दैनन् त ? यसको जवाफ आउने समयमा बौद्धिक वर्गहरुले गर्ने आत्ममूल्याङ्कन र चालिने कदमहरुले नै दिनेछन्। र, यसबाटै निर्धारण हुनेछ कि पुर्खाहरुले धिक्कार्ने छन् या भावी पुस्ताले गर्व गर्नेछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
    • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
    • राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित
    • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
    • चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.