सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सम्झनुहोस् त हिजो तपाईंहरु कसरी प्रधानमन्त्री बन्नुभयो ? र, के गर्नुभयो ?


  •    न्युजभित्तो/१८ बैशाख २०७७, बिहीबार १९:३२ 
  • प्रचण्डले किन ओलीको राजिनामा माग्नुभयो ? र, किन आफू प्रधानमन्त्री बन्छु नभनेर नेपाललाई प्रस्ताव गर्नुभयो ? प्रष्टै छ उहाँ पूर्व एमालेभित्र आगो सल्काएर आफू बलियो हुन चाहनुहुन्छ । नेपाललाई प्रधानमन्त्री भन्दिएपछि उनी लोभिन्छन्, ओलीबिरुद्धको मोर्चामा आफूभन्दा चर्कोसँग उभिन्छन् भन्ने चतुर प्रचण्डलाई थाहा नहुने कुरै भएन । किन झलनाथ ओलीको राजिनामा मागिरहेका छन् ? किनभने प्रचण्डले उहाँलाई पनि उधारो राष्ट्रपतिको पद भाग लगाइदिनु भएको छ ।

    आरपी शर्मा 

    काठमाडौँ । नेकपामा दुई अध्यक्ष हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड । बीचमा प्रचण्ड कार्यकारी अध्यक्ष बन्नुभयो । किनकी उहाँले कार्यकारी अध्यक्ष बन्ने इच्छा राख्नुभयो, त्यो पुरा भयो । प्रधानमन्त्री सरकारमा केन्द्रित हुने र प्रचण्ड पार्टीमा केन्द्रित हुने सहमति भयो । त्यसअनुसार दुई अध्यक्ष आआफ्नो जिम्मेवारीमा लाग्नुभयो । ओलीले जिम्मेवारी कसरी निर्वाह गर्नुभयो र प्रचण्डले कसरी गरिरहनुभएको छ, त्यो देखिएकै छ । अझ पार्टीमा मूल्याङ्कन गर्दा हुन्छ । 

    अध्यादेश त पछिल्लो एउटा राजनीतिक कदममात्र थियो । त्यसअघि नै प्रधानमन्त्री ओली र उहाँ नेतृत्वको सरकारलाई विपक्षीसहितको सहयोगमा विस्थापित गर्ने प्रयासमा मालीगाउँमा बैठक भएको सार्वजनिक भएको छ । त्यो बैठकका वारेमा संलग्न भनिएका नेताहरुबाट औपचारिक खण्डन आएको छैन । बैठकलाई छाडिदिउँ, ओलीलाई घेराउमा पार्ने र सरकार संचालन गर्न नदिने प्रयासहरु प्रशस्तै भएका थिए । प्रचण्डको प्रस्तावमा माधव नेपाल प्रधानमन्त्री बन्ने समझदारी भएको भन्दै त्यो मन्त्रिपरिषद्समेत मिडियामार्फत बाहिर आएको थियो । 

    त्यही पृष्ठभूमीमा अध्यादेश आयो र गयो । अध्यादेशपछिको राजनीति अहिले सतहमा देखिएकै छ समस्याका रुपमा । बिषय यही हो । बुधबार सचिवालय बैठकमा नेताहरुले आफ्ना धारणा राख्नुभएको छ । प्रचण्ड, माधव नेपाल, झलनाथ खनालले प्रधानमन्त्री ओलीको दुबै पदबाट राजिनामा मागेको भनिएको छ । त्यसमा नारायणकाजी पनि उभिएको भनिएको छ । इश्वर पोखरेल, बादल, बिष्णु पौडेलले प्रधानमन्त्रीको प्रस्तावको समर्थन गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको प्रस्ताव भने फरक थियो । उहाँले वामदेव गौतमलाई प्रधानमन्त्री, माधव नेपाललाई तेश्रो अध्यक्ष प्रस्ताव गर्नुभयो, जसमा गौतमको सहमति रह्यो ।

    प्रचण्डले किन ओलीको राजिनामा माग्नुभयो ? र, किन आफू प्रधानमन्त्री बन्छु नभनेर नेपाललाई प्रस्ताव गर्नुभयो ? प्रष्टै छ उहाँ पूर्व एमालेभित्र आगो सल्काएर आफू बलियो हुन चाहनुहुन्छ । नेपाललाई प्रधानमन्त्री भन्दिएपछि उनी लोभिन्छन्, ओलीबिरुद्धको मोर्चामा आफूभन्दा चर्कोसँग उभिन्छन् भन्ने चतुर प्रचण्डलाई थाहा नहुने कुरै भएन । किन झलनाथ ओलीको राजिनामा मागिरहेका छन् ? किनभने प्रचण्डले उहाँलाई पनि उधारो राष्ट्रपतिको पद भाग लगाइदिनु भएको छ । आफ्नो पक्षमा एकमात्र शक्तिरहेका झलनाथलाई यो भन्दा आकर्षक प्रस्ताव के हुनसक्छ ? त्यही भएर उहाँ लाग्नुभयो । पद उधारो मात्र हो भन्ने उहाँले बुझ्नुहोला नै ।

    प्रचण्डले सक्नुहुन्थ्यो भने प्राधिकार नै बनाउनुहुन्थ्यो किनकी उहाँ त्यही प्रणलीबाट आउनुभएको थियो । नसकेरै उहाँले ओलीबिरुद्ध लड्न नेपाल, झलनाथ र गौतमलाई माध्यम बनाउनुभयो, बिचरा पूर्वएमालेका यी कामरेडहरु पत्तै नपाई प्रचण्डका कार्यकर्ता बनिहाल्नुभयो । अव गौतम त्यो क्याम्पमा रहनुभएन किनकी उहाँले ओलीलाई हटाएर नेपाल प्रधानमन्त्री बन्ने खेलमा नरहेको बताइसक्नुभएको छ । त्यसो त प्रचण्डले गौतमलाई नै प्रधानमन्त्री बनाउने उधारो बाचा नेपाललाई भन्दा अघि गरिसक्नुभएको थियो ।

    त्यसैले प्रचण्ड, नेपाल र खनालले सरकार र पार्टी बदनाम भयो भन्नेजस्ता जे धारणा राख्नुभएको छ, त्यो वास्तविक मुद्दा नै होइन । सरकार र पार्टीको चिन्ता लागेको भए यस्तो संकटमा बेला निर्वाचित प्रधानमन्त्री र अध्यक्षबिरुद्ध मोर्चाबन्दी कसैले गर्दैन । प्रचण्ड पूर्वमाओवादी अध्यक्ष कति बर्ष बन्नुभयो ? माधव नेपाल कति बर्ष एमालेको महासचिव बन्नुभयो ? प्रचण्ड अध्यक्ष रहँदा वावुराम भट्टराईलगायतको हालत पार्टीभित्र के थियो ? नेपाल महासचिव हुँदा ओलीलगायतका नेताहरुको अवस्था पार्टीभित्र के थियो ? आफ्नो अनुहार नहेर्ने, विगतको राजनीति बिर्सने र प्रधानमन्त्रीबिरुद्ध लागिरहने ? प्रचण्डले एमाओवादीलाई चार टुक्रा बनाउनुभएको हैन ? माधव नेपालले एमालेलाई तेश्रो पार्टीमा सिमित गर्नुभएको हैन ?

    हिजो के गर्नुभयो, त्यही गर्नुपर्छ भन्ने होइन । समय पनि त्यो रहेन । पाँच बर्षको म्याण्डेट पाएको सरकारले पाँच बर्षको कार्यकाल पुरा गर्नुपर्छ । एउटा अधिवेशनले निर्वाचित भएको अध्यक्षले अर्को अधिवेशनसम्म नेतृत्व गर्न पाउनुपर्छ । निर्वाचित अध्यक्षको विकल्प पराजित व्यक्ति अध्यक्ष बन्ने होइन । ठिकै छ पार्टी मिलाउन खोजिएको हो भने नेपाललाई पनि अध्यक्ष थप्दा भयो । अध्यक्षमण्डलको संरचनामा जाँदा हुन्छ । तर आफू र आफ्ना केही मान्छेले ठाउँ पाएनन् भनेका आधारमा लफडा झिक्ने र अझ जनमतको अपमान गर्ने कार्य सह्य हुँदैन । प्रचण्डले सरकारको नेतृत्व गर्दा के गर्नुभयो ? माधव नेपालले के गर्नुभयो, झलनाथ खनालले के गर्नुभयो ? सबैलाई थाहा छ । ईतिहासमा सम्झन लायक के गर्नुभयो ? त्यो पनि भन्दा हुन्छ ।

    चीन भ्रमणमा गएर फर्कने बित्तिकै एयरपोर्टबाटै पहिलो राजनीतिक भ्रमण भारतबाट गर्छु भनेर प्रचण्डले किन भन्नुभयो ? सार्वभौम प्रधानमन्त्री जतापनि जान सक्थ्यो तर त्यति आत्माविश्वास पनि प्रदर्शन गर्न नसकेको यथार्थ होइन र ? लगत्तै आफ्ना दूत नयाँदिल्ली पठाएर भारतीय सामरिक र सुरक्षा चासोबाहिर नजाने प्रतिबद्धता बनाएको हैन ? सेनापति कटुवाल हटाउनुअघि भारतको सहयोग खोजेको तर जवाफ नआएको उहाँले सगौरव बताउनुभएको होइन र ? यस्ता सूची दर्जन पुग्छन् । प्रधानमन्त्रीका रुपमा देशलाई के दिनुभयो ? त्यसमा वहस गर्नुपर्छ । 

    दुई दुइ ठाउँबाट हारेर माधव नेपाल प्रधानमन्त्री बन्नु भएको होइन ? के यो नैतिक र प्रजातान्त्रिक अभ्यास थियो ? नेपालभन्दा पहिला यो प्रस्ताव ओलीलाई आएको थियो तर उहाँले निर्वाचनमा पराजित भएको व्यक्ति फेरी संसद प्रवेश गर्नु उचित हुँदैन भन्दै अस्वीकृत गर्नुभयो । तर नेता नेपाल जानुभयो । उपेन्द्र यादवको फोरम बिभाजन गरेर उहाँ प्रधानमन्त्री बन्नुभएको होइन ? नेपाललाई बन्न प्रस्ताव आउँदा अध्यक्ष झलनाथ खनालले बिरोध गर्नुभएको थियो । त्यसबेला गिरिजाप्रसादले एमालेभित्र खेल्न अध्यक्ष खनालको सट्टा नेपाललाई प्रधानमन्त्रीका प्रस्ताव गरेका थिए । अहिले प्रचण्डको नेपाललाई प्रधानमन्त्री बन्ने प्रस्ताव त्यसैको सिको भन्ने प्रष्टै छ । त्यसैपनि प्रचण्ड बेलाबेला गिरिजाप्रसाद कोइरालालाई सम्झेर भावुक बन्नुहुन्छ । त्यसबेला प्रचण्डले माधवलाई अवैध घोषणा गर्नुभएको थियो । नेताहरुले फर्केर आफूलाई पनि हेर्दा हुन्छ बेलाबेलामा । 

    आफू अनुकूल अर्काको पार्टीमा खेल्न कसले बाँकी राख्यो र ? कोइरालाले नेपाललाई प्रधानमन्त्री बनाएपछि प्रचण्डले खनाललाई प्रधानमन्त्री बनाउनुभएको हैन ? पार्टीका बैधानिक संचरनालाई थाहा नदिई प्रचण्ड र खनालले सहमति गरेको उहाँहरुले बिर्सनुभएको हो ? उपाध्यक्ष बाबुराम भट्टराईको सहमति विपरित प्रचण्डले यो कदम चालेकोमा अन्तरद्धन्द्ध बढेको थियो । भट्टराईले लिखित असहमित नै राख्नुभएको थियो । अर्थात् नेकपामा रहेका र प्रधानमन्त्री भएका नेताहरुले केपी आली के गर्नुभयो भनेर प्रश्न त गर्न सक्नुहुन्छ तर त्यसैलाई आधार बनाएर षड्यन्त्र गर्न सक्नुहुन्न । ओलीले त ऐतिहासिक काम गर्नुभएको छ, जो नेपालको इतिहासमा कसैले गर्न सक्नुभएको थिएन । भारत र चीनलाई प्रधानमन्त्री बनाइदेउ भन्दै आग्रह गर्नेहरुले ओलीलाई हेर्दा हुन्छ – सार्वभौम र स्वतन्त्र राष्ट्रको स्वतन्त्र प्रधानमन्त्री कसरी बन्न सकिन्छ, कसरी नेपाली स्वार्थको नेतृत्व गर्न सकिन्छ । संविधान जारी गर्ने कार्यको नेतृत्व कसले गर्यो ? नाकाबन्दीबिरुद्ध कसले लड्यो ? भारतसँगको मात्र यातायात र पारवहन निर्भरता कसले तोड्यो ? चीनसँग पारवहन सम्झौता कसले गर्यो ? सूची लामो हुन्छ । 

    अनि आफ्ना निहित स्वार्थ पुरा भएनन् भनेर राजिनमा माग्ने ? किन उहाँहरुले सपना देख्न सक्नुभएन ? विकासको सपना देख्नु अपराध हो ? सपना पनि ज्ञान र सामथ्र्यले मात्र देख्न सकिन्न होला । निश्कर्ष प्रष्टै छ प्रधानमन्त्रीलाई पुरा कार्यकाल हेरौं, अध्यक्षबाट हटाउन एकता महाधिवेशनसम्म पर्खौ । आवश्यकता अनुसार, मन्त्रीहरु परिवर्तन गरौं, मुख्यमन्त्री परिवतर्न गरौं । नियुक्तिहरुमा योग्य र सक्षमलाई पठाऔं, सकेसम्म गुट नहेरौं, हेर्दा पनि सन्तुलन मिलाऔं । होइन एक अर्कालाई समाप्त पाछौं भन्ने हो भने कम्युनिष्ट पार्टीकै अवसान हुन्छ पश्चिम बंगालमा भएजस्तो । एउटाले अतिवादी कदम चाल्दा अर्काले पनि त्यस्तै कदम चाल्छ । प्रचण्ड र माधव नेपालका चलखेलको काउन्टर ओलीले पनि गर्नुहुन्छ । यस्तो श्रृखला अव रोकौं । समाधान यही हो ।

    चक्रपथ डटकमबाट

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.