सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना भित्रिन नदिन सावधानी, अत्यावश्यक वस्तुको आपूर्तिमा सरकार सजग


  •    न्युजभित्तो/२२ फाल्गुन २०७६, बिहीबार २२:०६ 
  • नारायण ढुङ्गाना
    काठमाडौँ । सरकारले कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन मुलुकमा थप सावधानी अपनाउन थालेको छ । मास्क, औषधिलगायत अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था मिलाउँदै स्वास्थ्य परीक्षण र सामाजिक सचेतनालाई प्रभावकारी बनाउने सरकारले निर्णय गरेको छ ।

    विदेशबाट आउने व्यक्तिको स्वास्थ्य जाँचलाई थप व्यवस्थित बनाउँदै आन्तरिकरुपमा पनि स्वास्थ्य जाँच र सचेतनालाई प्रभावकारी बनाउने निर्णय भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

    सिंहदरबारमा आज बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको दोस्रो बैठकले छिमेकी मुलुकमा समेत फैलिएको कोभिड–१९ नेपालमा भित्रिनसक्ने जोखिम रहेकाले सबै संयन्त्र परिचालन गरेर सावधानी अपनाइने समितिका संयोजक पोखरेलले जानकारी दिनुभयो ।

    रक्षामन्त्री पोखरेलले भन्नुभयो, “बाहिरबाट आएकाहरुलाई व्यवस्थित र ठीक ढङ्गले जाँच गर्ने, सङ्क्रमण प्रभावित व्यक्ति भरसक आउन नदिने र जनसचेतना कार्यक्रमलाई तीव्ररुपमा अघि बढाइनेछ ।” उहाँले बैठकमा यसअघि गरिएका प्रयासका विषयमा समीक्षा गरिएको जानकारी पनि दिनुभयो ।

    छिमेकी मुलुकसहित विश्वका ८४ देशमा कोभिड–१९ को सङ्क्रमण फैलिइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार ९५ हजार ४८१ जनामा रोग देखिएकामा तीन हजार २८५ जनाको मृत्यु भइसकेको छ । कोरोनाका कारण छ हजार ४२० जना उच्च जोखिममा छन् । अहिलेसम्म ५३ हजार ६८८ जना निको भएर घर फर्किसकेका छन् ।

    नेपालमा गत माघ ९ गते चीनको सबैभन्दा बढी सङ्क्रमण फैलिएको उहान प्रान्तबाट आएका एक जनामा सङ्क्रमण देखिएको थियो । उनी अहिले कोरोनामुक्त रहेको र त्यसपछि अहिलेसम्म नेपालमा कुनै सङ्क्रमण नदेखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोनासँग सम्बन्धित काममा बढी ध्यान दिनसमेत बैठकले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । सरकारले यसअघि नै धेरै सङ्ख्यामा उपस्थित भएर गरिने कार्यक्रम नगर्न भनिसकेको छ । विद्यालयमा विशेष ध्यान दिँदै स्वास्थ्य परीक्षणमा थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको छ ।

    बजारमा मास्क अभाव हुने सम्भावना रहेकाले नेपाल उद्योग वाणिज्य महासङ्घसँगको समन्वयमा तत्कालै उत्पादन गर्ने विषयमा सरकार गम्भीर रहेको उपप्रधानमन्त्री पोखरेलले बताउनुभयो । “सस्तोमा मास्क उत्पादन गर्न छलफल भइरहेको छ, अनुदान दिनुपर्ने विषयमा पनि राज्य गम्भीर छ”, समितिका संयोजक पोखरेलले बैठकपछि पत्रकारसँग भन्नुभयो, “राज्यले कुनै पनि वस्तुको अभाव हुन दिँदैन, अभाव नहोस् भन्नेमा सावधानी अपनाएको छ ।”

    भारतले केही औषधि र कच्चापदार्थ निर्यातमा प्रतिबन्ध लगाएको भन्ने विषयमा पत्रकारले सोधेको जिज्ञासामा उपप्रधानमन्त्री पोखरेलले नेपाललाई अत्यावश्यक औषधि उपलब्ध गराउन भारत सहमत रहेको स्पष्ट गर्नुभयो । महत्वपूर्ण घडीमा आपूर्तिका विषयमा केही समस्या देखिने उल्लेख गर्दै उहाँले आपूर्ति व्यवस्था मिलाउने र अनुगमन गर्ने विषयमा सरकार गम्भीर छ भन्नुभयो ।

    बजारको अवस्था मूल्याङ्कन गरी तत्काल गर्नुपर्ने विषयमा सरकारले यसअघि नै मुख्य सचिवको नेतृत्वमा एक्सन कमिटी गठन गरिसकेको छ । उच्चस्तरीय समन्वय समितिलाई नीतिगत निर्णय गर्ने अधिकारसमेत छ । समितिले निर्णय गरेर कार्यान्वयन गर्न एक्सन कमिटीलाई निर्देशन दिनसक्छ । चीनबाट सङ्क्रमण फैलिएको कोरोना भाइरसबाट विश्वका कुनै पनि मुलुक सुरक्षित नभएको विश्व स्वास्थ्य सङ्गठनले बताइसकेको छ । सङ्गठनले नेपाललाई उच्च जोखिममा राखेको छ । विकासोन्मुख र उच्च जोखिममा रहेका मुलुकलाई विश्व बैंकले सहयोग गर्ने घोषणा गरिसकेको छ ।

    आजको बैठकले विश्व बैंकले गर्ने सहयोग लिने निर्णयसमेत गरेको छ । बैठकले विमान कम्पनीलाई डिक्लेरेशन फाराम भर्न लगाउने, सीमा आवागमन घटाउने, थप स्वास्थ्य टोली परिचालन गर्ने तथा प्रदेश र स्थानीय तहलाई आपूर्ति व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै निकासी नियन्त्रण गर्ने, लागत सहभागितामा मास्क उत्पादन गर्ने, क्रस बोर्डर बैठक बस्ने, सीमा नाकामा क्वारेन्टाइन भवन व्यवस्थापन गर्ने, सङ्क्रमित मुलुकमा स्वास्थ्य चेतना बढाउने, क्वारेन्टाइन भवन कायम राख्नेलगायत निर्णय भएको रक्षा मन्त्रालयले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.