सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको सम्पूर्ण तयारी पूरा


  •    न्युजभित्तो/१९ फाल्गुन २०७६, सोमबार २३:३५ 
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको सम्पूर्ण तयारी पूरा भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । उहाँका लागि आवश्यक मिर्गौला दिने व्यक्ति पनि आजै अस्पताल भर्ना भइसक्नुभएको छ । आजै साँझदेखि नै प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण शुरु भएको छ ।

    शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले भन्नुभयो, “कुनै पनि ‘अप्रेशन’ गर्नका लागि केही तयारी गर्नुपर्छ, त्यही तयारीका लागि प्रधानमन्त्रीलाई आजै अस्पताल भर्ना गरिएको हो ।” प्रधानमन्त्री ओली शिक्षण अस्पतालको अतिविशिष्ट व्यक्तिका लागि छुट्टयाइएको ‘डिलक्स’ कक्षमा भर्ना हुनुभएको छ । उहाँ ६०१ नं शय्यामा भर्ना हुनुभएको छ ।

    प्रधानमन्त्रीले स्वदेशमै मिर्गौलाको प्रत्यारोपण गर्ने निर्णय लिएपछि यसलाई शिक्षण अस्पतालका चिकित्सकले अवसरका रुपमा लिएका छन् । “हामीले अवसरका रुपमा लिएका छौँ”, प्रा डा खड्गाले भन्नुभयो, “शिक्षण अस्पतालप्रति सबैको विश्वास थियो, यो झन् बढेर गएको छ ।”

    छ दिनमा घर पठाउँछौँः कार्यकारी निर्देशक
    मिर्गौला प्रत्यारोपण गरेका बिरामी सामान्यतयाः छ दिनमा घर फर्कन सक्नेछन् । कार्यकारी निर्देशक खड्गाले प्रत्यारोपण सम्पन्न भएको छ दिनमा प्रधानमन्त्रीलाई घर पठाइने बताउनुभयो । “अहिलेसम्मको हाम्रो अनुभवले त्यही बताउँछ”, उहाँले भन्नुभयो, “हाम्रो लक्ष्य पनि त्यही छ, प्रत्यारोपण भएको छ दिनमा ‘डिस्चार्ज’ गर्छौँ, हाम्रो ‘रुटिन’ त्यही हो, कुनै पनि बिरामीलाई पाँचदेखि छ दिनमा घर पठाउँछौँ ।”

    शिक्षण अस्पतालमा साताको एक दिन बुधबार मिर्गौला प्रत्यारोण हुँदै आएको छ । एक जनामा मिर्गौला प्रत्यारोपण गर्न तीनदेखि चार घण्टा लाग्ने उहाँले बताउनुभयो । सातामा दुई वटा मिर्गौला प्रत्यारोपण हुँदै आएको कार्यकारी निर्देशक खड्गाले जानकारी दिनुभयो ।

    सेवा शुभारम्भ गरिएको एक दशकको अवधिमा शिक्षण अस्पतालमा हालसम्म करीब ८ सय जनामा मिर्गौलाको सफल प्रत्यारोपण भइसकेको उहाँले जानकारी दिनुभयो । शिक्षण अस्पतालमा २०६५ साउनमा पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो ।

    स्वदेशमै मिर्गौलाको प्रत्यारोपण गर्ने देशका कार्यकारी प्रमुखको निर्णयको जनस्तरमै तारिफ भएको छ । सानोभन्दा सानो स्वास्थ्य समस्याको उपचारका लागि विदेश जाने परम्परा त्यागेर स्वदेशमै उपचार गर्ने प्रधानमन्त्रीको निर्णय धेरै राम्रो भएको सर्वसाधारणको प्रतिक्रिया छ ।

    शिक्षण अस्पताल परिसरमा भेटिनुभएका काठमाडौँ धापासीका दीपक शर्माले प्रधानमन्त्रीले स्वदेशमै मिर्गौला प्रत्यारोपण गर्ने निर्णय लिएर निकै राम्रो सन्देश दिनुभएको बताउनुभयो । “प्रधानमन्त्रीको निर्णय मलाई निकै राम्रो लागेको छ”, उहाँले भन्नुभयो, “शिक्षण अस्पतालमा धेरै राम्रो सेवा छ, अन्य नेताले पनि यहीँ उपचार गराए हुन्छ ।”

    प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुने भनिएपछि अपराह्नदेखि नै सञ्चारकर्मी अस्पतालमा पुगेका थिए ।

    उहाँ आउने प्रतीक्षामा सञ्चारकर्मी दिनभरि नै अस्पताल परिसरमा रहेका थिए तर प्रधानमन्त्री बालुवाटारमा विभिन्न कार्यक्रममा सहभागी भएर मात्र साँझ अस्पताल पुग्नुभयो । उहाँ ढोकाभन्दा पर नै गाडी रोकेर हिँड्दै अस्पताल प्रवेश गर्नुभएको थियो । प्रधानमन्त्रीसँगै उहाँकी पत्नी राधिका शाक्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलसमेत रहनुभएको थियो ।

    प्रधानमन्त्री ओलीको बुधबार पुनः मिर्गौला प्रत्यारोपण गरिँदै छ । नाताले भान्जी पर्ने समीक्षा संग्रौला ज्ञवालीले प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्ने हुनुभएको छ । दाताको सबै परीक्षण गरिसकिएको छ ।

    नेकपाका अध्यक्ष ओलीको २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । “त्यतिबेला नेपालमा मिर्गौला प्रत्यारोपणको सेवा नभएकाले भारतमा गरिएको थियो”, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भन्नुभयो, “तर अहिले नेपालमा नै मिर्गौला प्रत्यारोपणको सेवा उपलब्ध रहेको छ । नेपालकै अनुभवी चिकित्सक, विशेषज्ञ र अस्पताल रहेका छन् । मुलुकले हासिल गरेको यो सामथ्र्यमा गौरव गर्दै प्रधानमन्त्रीले स्वदेशमै मिर्गौला प्रत्यारोपण गर्ने निर्णय लिनुभएको हो ।”

    गत कात्तिकयता मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्रीले नियमित डायलोसिस गराउँदै आउनुभएको छ । चिकित्सकको सल्लाहमा नै उहाँ अहिले पुनः मिर्गौला प्रत्यारोपण गर्दै हुनुहुन्छ । प्रेस सल्लाहका थापाले प्रधानमन्त्रीको स्वास्थ्यवस्थाबारे समयसमयमा जानकारी गराइने र अस्पतालले पनि बुलेटिनमार्फत जानकारी दिने बताउनुभयो ।

    शिक्षण अस्पताल, प्रत्यारोपण विभागका प्रमुख प्रा डा प्रेमराज ज्ञवालीको नेतृत्वमा टोली तयारी अवस्थामा छ । प्रा डा ज्ञवालीसँगै अस्पतालका युरोलोजी विभागका प्रमुख डा उत्तम शर्मा, डा पवन चालिसे, प्राडा दिव्यासिंह शाहलगायत चिकित्सकको सहभागिता रहनेछ । प्रत्यारोपण टोलीलाई सघाउन भारतबाट पनि विशेषज्ञ चिकित्सक नेपाल आएका छन् । डा ज्ञवालीले प्रत्यारोपणपूर्व उहाँको रगत, दिसा पिसाबलगायत जाँच हुने बताउनुभयो । “प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई आजदेखि प्रत्यारोपणको पूर्वतयारीमा राखिनेछ”, उहाँले भन्नुभयो ।

    प्रधानमन्त्री ओलीको मुटुको एन्जियोग्राफी गर्दा भने मुटुमा कुनै समस्या नदेखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरका मुटु रोग विभाग प्रमुख प्रा डा अरुण सायमीले जानकारी दिनुभयो । “प्रधानमन्त्रीको एन्जिओग्राफी गरियो, प्रधानमन्त्री प्रत्यारोपणका लागि तयारी अवस्थामा हुनुहुन्छ”, उहाँले भन्नुभयो, “प्रत्यारोपणका लागि प्रधानमन्त्रीको शारीरिक अवस्था अत्यन्त ठीक छ, त्यही भएर आज भर्ना हुनुभएको हो ।”

    अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओली आज दिनभर आफ्नो निवास बालुवाटारमा विभिन्न कार्यक्रममा व्यस्त हुनुहुन्थ्यो । प्रधानमन्त्री अध्यक्ष रहेको राष्ट्रिय योजना आयोगको आजै बसेको पूर्ण बैठकले १५ औँ योजनाको आधारपत्रलाई स्वीकृत गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.