सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’


  •    न्युजभित्तो/२४ जेष्ठ २०८३, आईतवार १७:२६ 
  • चितवन, २४ जेठ । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व गर्दै आउनुभएका जनप्रकाश चापागाईंले भोजमा करिब ३० प्रतिशत खाना फालिने गरेको बताउनुभएको छ । विश्व खाद्यसुरक्षा दिवसका सन्दर्भमा कुराकानी गर्ने क्रममा उहाँले विभिन्नथरी खाना राख्दै जाँदा प्लेट भरिने हुनाले त्यसको झण्डै आधा फालिने गरेको उल्लेख गर्नुभयो । 

    “होटल, रेष्टुरेन्ट र पार्टी प्यालेसले गर्ने भोजरभतेरका कार्यक्रममा अधिक खाना फालिन्छ । घरमा पनि बढी खाना पकाउँदा फालिने गरेको पाइन्छ । ग्रामीण क्षेत्रमा फालिएका खाना पशु चौपालयले खाने भए पनि सहरी क्षेत्रमा त्यसरी फालिएका खाना फोहरका रूपमा परिणत हुन्छ”, चापागाईंले भन्नुभयो, “खाना फाल्न रोक्न धेरै प्रयास गरियो । सफल भइएन ।” 

    यसरी खाना फालिँदा खुवाउनेका लागि भोज /भतेर महँगो हुने गरेको भन्दै उहाँले मुलुक बाहिरबाट खाद्यान्न आउने हुँदा समग्र अर्थतन्त्रमा यसले प्रभाव पार्ने बताउनुभयो । बिहानको खानामा कम फालिने भए पनि दिउँसो र साँझ गरिने भोजमा अधिक फालिने गरेको चापागाईंको भनाइ छ । होटलमा मदिरासहितको भोजमा अरु बढी फालिने गरेको उहाँले अनुभव सुनाउनुभयो । 

    देशभर ३० वटा होटल, रेस्टुरेन्ट र क्याफे सञ्चालन गरिरहनुभएका सिद्धार्थ हस्पिटालिटीका प्रमुख कार्यकारी निर्देशक कृष्ण न्यौपानेले ४० प्रतिशत खाना फालिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुसुरुमा हामीले खाना प्याकिङ गरेर घर पनि पठायौँ तर सकेनौँ ।” आफूहरूले व्यानरसमेत राखेर खाना फाल्नबाट बचाउने प्रयास गरे पनि सफल नभएको बताउँदै उहाँले खाना फाल्नेलाई नफाल्न आग्रह गर्दा उल्टै गाली गर्ने गरेका अनुभव सुनाउनुभयो ।  

    आफ्नो कैलालीको होटलमा एक जना जापानिजले गरेको कार्यक्रममा फालिएको खाना देखेर ती जापानिजले ‘दैनिक चार पटक खाने खानाको अड्कल गर्न नसक्नेले के काम गर्न सक्छन्’ भन्ने प्रश्न गरेका न्यौपानेलेअनुभव सुनाउनुभयो । 

    केहीले आफूले खानसक्ने मात्र छानेर खाने गरे पनि धेरैले भोजमा राखिएका सबै चिज खान खोज्दा धेरै फालिने गरेको न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “खाना फाल्नबाट रोक्न सकियो भने भोजभतेरको खर्च कम हुन्छ ।” फालिने खानाको समेत हिसाब गर्नुपरेकाले आयोजकको खर्च बढ्ने गरेको उहाँको भनाइ छ ।

    कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्राडा सूर्यकान्त घिमिरेले विश्वमा फालिएको खाना बचाउने हो भने ३० प्रतिशतलाई खान पुग्ने जानकारी दिनुभयो । आफू विद्यावारिधि गर्दा छ वर्ष जापान बसेको भन्दै उहाँले जापानिज खाना बाँकी रहेमा पोको पारेर घर लैजाने गरेकाले नै अन्य देशमा खानाको सुरक्षा कम हुने गरेको बताउनुभयो । “नेपालमा खाना फाल्ने चलन धेरै छ । यसलाई रोक्न सबैको पहल र ऐक्यबद्धता जरुरी छ । खानालाई कसरी स्वस्थकर बनाउन सकिन्छ भन्नेबारेमा सोच्नुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो ।  

    भारतमा महात्मागान्धीले कसैलाई असहज महसुस हुनासाथ एकछाक खाना छोड्न गरेको अपिल स्मरण गर्दै गान्धीले सधैँ भातको सट्टा खानामा विविधीकरण गर्नुपर्ने बताउनुहुने प्राडा घिमिरेले उल्लेख गर्नुभयो । टर्कीका बासिन्दाले पहिलेपहिले बिहान बेलुका दालभात, तरकारी खाने गरेकामा अहिले एकछाक अन्य परिकार खाने गरेका भन्दै नेपालीले पनि यस विषयमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । खाद्य बचत र स्वास्थ्यका लागि यो उत्तम विकल्प हुनसक्ने उहाँको भनाइ छ । 

    नियमित बिहान बेलुका दालभात तरकारी खाने प्रचलनका कारण कम उत्पादन भए पनि धान रोप्ने नेपाली परम्परालाई परिवर्तन गरेर जे धेरै उत्पादन हुन्छ त्यसमा ध्यान दिन प्राडा घिमिरेले आग्रह गर्नुभयो । नेपालले वार्षिक रु ४५ देखि ५० अर्बको खाद्यान्न मात्र आयात गर्ने जनाउँदै उहाँले खाना नफाल्ने, खानामा विविधीकरण ल्याउने र बाँझो जमिनमा खेती गर्नसके आयात घट्ने बताउनुभयो । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    • सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.