सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत


  •    न्युजभित्तो/१३ जेष्ठ २०८३, बुधबार १५:१७ 
  • काठमाडौँ, १३ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको चलचित्र विधेयक–२०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको छ । उक्त प्रस्ताव पछि प्रतिनिधिसभामा विधेयकको सैद्धान्तिक विषय माथि छलफल सुरु भएको छ ।

    सरकारले २०२६ सालदेखि कार्यान्वयनमा रहेको पुरानो चलचित्र ऐनलाई समयसापेक्ष परिमार्जन गर्दै सङ्घीय संरचना, समावेशिता र नयाँ प्रविधि अनुकूल नयाँ कानुनी व्यवस्था आवश्यक रहेको भन्दै नयाँ विधेयक अघि बढाएको हो । चलचित्र क्षेत्रलाई केबल मनोरञ्जनको माध्यम नभई सामाजिक, सांस्कृतिक तथा सिर्जनशील उद्योगका रूपमा विकास गर्न नयाँ ऐन आवश्यक रहेको भन्दै सञ्चार मन्त्रालयले यो विधेयक अघि बढाएको हो ।

    चलचित्रमार्फत नेपाललाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने, स्वदेशी तथा विदेशी चलचित्र प्रदर्शनअघि अनिवार्य जाँचको व्यवस्था गर्ने तथा नेपाली चलचित्रको विकास, विस्तार, प्रवर्द्धन र नियमनलाई प्रभावकारी बनाउने उद्देश्यले विधेयकमा राखिएको छ ।

    त्यसैगरी, विधेयक तयार पार्दा नेपालको संविधान, राष्ट्रिय आमसञ्चार नीति २०७३ तथा राष्ट्रिय चलचित्र नीति २०७१ लाई आधार बनाइएको जनाइएको छ । संविधानको व्यवस्थाअनुसार सामाजिक तथा सांस्कृतिक रूपान्तरणसम्बन्धी नीतिमा भाषा, लिपि, संस्कृति, साहित्य, कला, चलचित्र र सम्पदाको संरक्षण तथा विकास गर्ने नयाँ कानुन आवश्यक रहेको जनाइएको छ ।

    विधेयकमा चलचित्र विकास बोर्डलाई थप अधिकार सम्पन्न र स्वायत्त निकायका रूपमा विकास गर्ने प्रस्ताव गरिएको छ । हाल बोर्डले सीमित अधिकारका आधारमा काम गरिरहेको अवस्थामा चलचित्र निर्माण, वितरण र प्रदर्शनलाई व्यवस्थित गर्न तथा नियमनकारी भूमिकालाई बलियो बनाउन कानुनी आधार विस्तार गर्न खोजिएको हो । सरकारले अन्तरराष्ट्रियस्तरमा नेपाललाई फिल्म निर्माणको आकर्षक गन्तव्य बनाउने लक्ष्य पनि अघि सारेको छ ।

    चलचित्र विकास बोर्ड एशियन फिल्म कमिशन नेटवर्कको सदस्य भइसकेको र विभिन्न अन्तरराष्ट्रिय फिल्म संस्थासँग सम्बन्ध विस्तार भइरहेका सन्दर्भमा बोर्डलाई थप सक्षम बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।

    विधेयकमा चलचित्र क्षेत्रमा बक्स अफिस प्रणालीलाई प्रभावकारी बनाउने विषयलाई पनि विशेष प्राथमिकता दिइएको छ । टिकट बिक्री, आम्दानी, कर, प्रदर्शन अवधि तथा लोकप्रियतासम्बन्धी विवरणलाई पारदर्शी बनाउन बक्स अफिस प्रणाली अनिवार्य र व्यवस्थित गरिने विधेयकमा उल्लेख छ । यसले चलचित्र क्षेत्रभित्रको आर्थिक कारोबारलाई पारदर्शी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    विधेयकले नेपाली चलचित्र उद्योगलाई औपचारिक उद्योगको रूपमा विकास गर्ने लक्ष्य लिएको छ । चलचित्रकर्मीको श्रम अधिकार संरक्षण, मातृभाषाका चलचित्रको प्रवद्र्धन, आदिवासी जनजाति समुदायका कलात्मक तथा बौद्धिक चलचित्रको संरक्षण र अन्तरराष्ट्रियकरणमा विशेष जोड दिइएको छ ।

    स्वदेशी चलचित्रको बजार विस्तार, विदेशी लगानी आकर्षण र नयाँ प्रविधिको प्रयोगलाई कानुनी रूपमा व्यवस्थित गर्ने प्रावधानसमेत विधेयकमा प्रस्ताव गरिएको छ । नयाँ ऐन लागू भएपछि चलचित्र निर्माण, वितरण र प्रदर्शन थप व्यवस्थित हुने, चलचित्र क्षेत्रमा जवाफदेहिता वृद्धि हुने तथा बोर्डको आयस्रोत र कार्यक्षेत्र विस्तार हुने अपेक्षा गरिएको छ ।

    साथै नेपाली चलचित्रलाई सिर्जनशील, सांस्कृतिक तथा मनोरञ्जन उद्योगका रूपमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा स्थापित गर्न सहयोग पुग्ने जनाइएको छ । प्रतिनिधिसभामा विचार गरियोस् भनी पेस गरिएको विधेयकमाथि अब सैद्धान्तिक छलफल हुने र त्यसपछि दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइने प्रक्रिया अघि बढ्नेछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत
    यसवर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण
    गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
    • मानव अधिकार प्रवर्द्धनमा आयोगको भूमिकाको प्रशंसनीय: सभामुख अर्याल
    • मानव अधिकार संरक्षणको सुनिश्चित घरबाटै सुरुआत हुनुपर्छ: मुख्यमन्त्री आचार्य
    • दूध किसानलाई रु १२ करोड
    • आर्थिक सर्वेक्षण सर्वजनिक हुँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.