सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महाशिवरात्रि तथा सेना दिवसको अवसरमा नेपाली सेनाद्वारा टुँडिखेलमा बढाइँ


  •    न्युजभित्तो/९ फाल्गुन २०७६, शुक्रबार १९:०७ 
  • काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ ।

    सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जलि अर्पण गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गर्नुभयो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ । भगवान् शिवका प्रतीकहरू अङ्कित लोगोले साङ्केतिक रूपमा सेनाको शक्तिलाई जनाउँछ । यसबाट नेपाली सेना देशका सबै प्रकारका राष्ट्रिय सङ्कटहरू निराकरण हुने विश्वास गरिँदै आएको छ ।

    समारोहमा राष्ट्रपति भण्डारीले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०७६’ नामक वार्षिक पत्रिकाको विमोचन गर्नुका साथै ‘फ्री फल जम्प’मा प्रथम हुने हुद्दा लक्ष्मण बजगाईं र दोस्रो हुने जमदार राम बस्नेतलाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नुभयो ।

    सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘सेना दिवस–२०७६’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो । समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गरेको थियो । बढाइँ कवाजअन्तर्गत लहरे र एकट्ठा प्रस्तुत गरियो । त्यस्तै सैनिक र नेपाली परम्परागत वेषभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो ।

    कार्यक्रमलाई रोमाञ्चक तुल्याउने क्रममा सैनिक मञ्चमा मास पिटी प्रस्तुत गरियो । त्यसअन्तर्गत पिटी, तेक्वान्दो, खुकुरी ड्रिल प्रस्तुत भयो । नेपाली सेनाको व्यावसायिक कार्यकुशलतालाई झल्काउने केही सैनिक कौशलसमेत प्रस्तुत भएको थियो ।

    उक्त अवसरमा सैनिक हवाई महानिर्देशनालयको हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शनी र सैनिक ब्याण्डबाट ब्याण्ड डिस्प्लेसमेत प्रस्तुत गरियो । नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो । सो अवसरमा आगलागी नियन्त्रणमा सैन्य कौशलको नमूना अभ्यास प्रस्तुत भयो ।

    उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्याधीश चोलेन्द्र शम्सेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समारोहमा उपस्थित हुनुहुन्थ्यो । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसहित मन्त्रिगण, सांसद, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि र समाजका लब्ध प्रतिष्ठित महानुभाव पनि शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल पुग्नुभएको थियो । समारोहमा नेपाल भ्रमणमा रहनुभएका बेलायती सेनाध्यक्ष मार्क कार्लटन स्मिथ अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

    शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो लागेको थियो । समारोहपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सञ्चारमाध्यममा सेना बिटमा समाचार लेख्दै आउनुभएका पत्रकारलाई प्रधानसेनापति प्रशंसा पदक प्रदान गर्नुभयो ।

    त्यस अवसरमा समाजका विभिन्न क्षेत्रबाट विशिष्ट योगदान पुरयाएका महानुभावलाई पनि प्रधानसेनापति प्रशंसा पदक प्रदान गरियो । समारोहमा उत्कृष्ट कार्य गर्ने सेनाका विभिन्न गणलाई पुरस्कार एवं निशान चिह्न प्रदान गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.