सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुन्तलाले मनग्य मूल्य पाएपछि चितवनका किसान उत्साहित


  •    न्युजभित्तो/९ माघ २०८२, बिहीबार १३:१५ 
  • चितवन, ८ माघ । जिल्लामा सुन्तलाखेती गर्ने किसानले राम्रो मूल्य पाएपछि उत्साहित भएका छन् । विगतको तुलनामा यस वर्ष सुन्तलाले राम्रो मूल्य पाएपछि किसान उत्साहित भएका हुन् । जिल्लाको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका– २९ मा सुन्तला खेती हुँदैआएको छ ।

    इच्छाकामना गाउँपालिका–५ का किसान रामप्रसाद बोहोरा अहिले गत वर्षको तुलनामा सुन्तलाको मूल्य राम्रो पाएपछि खुसी हुनुहुन्छ । उहाँले भन्नुभयो “गत वर्षको तुलनामा यसवर्ष किसानले सुन्तलाको मूल्य पाएका छांैँ । खुसी छौँ ।” गत वर्षमा मूल्य नपाउँदा निकै समस्या हुने गरेको भए पनि यसवर्ष बोटबाटै प्रतिकिकलो रु १०० भन्दा बढीमा बिक्री हुँदै आएको उहाँले बताउनुभयो ।

    किसानले अहिले सुन्तलालाई ग्रेडिङ्ग (वर्गीकरण) गरेर बिक्री वितरण गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “आफ्नो वडाले मात्रै सुन्तलाबाट रु ६० लाख हाराहारी कमाएको छ । अझै सुन्तला बिक्री गर्न बाँकी छ ।” कतिपय किसानले पहिलेनै बिक्री गरिसकेका छन् भने कतिपयको अझै बिक्री गर्न बाँकी रहेको उहाँले बताउनुभयो । माघ १५ गतेसम्ममा उत्पादित सुन्तला बिक्री भइसक्ने उहाँले बताउनुभयो ।

    यस्तै भरतपुर महानगरपालिका–२९ चौकिडाँडाका किसान हिक्मत चेपाङ् अहिले सुन्तलाको मूल्य राम्रो पाएको भन्दै खुसी हुनुहुन्छ । उहाँहरुले चेपाङ कृषि समूह बनाएर समूहका सदस्यहरुले व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आउनु भएको छ । उहाँले भन्नुभयो “हामी सबैले धेरै थोर क्षेत्रफलमा सुन्तला खेती गरेका छौँ । मूल्य पाएको छ । खुसी छौँ ।” अहिले किसानको बारीबाटै व्यवसायीले सुन्तला उठाउने गरेको उहाँले बताउनुभयो । प्रतिकिलो रु १०० भन्दा बढीमा सुन्तला बिक्री भएको उहाँले बताउनुभयो ।

    सुन्तलामा विषादी हाल्दा धेरै बचाउन सकिने तर प्राङ्गारिक उत्पादन गर्दा कम बच्ने भएकाले केही समस्या भए पनि अहिले मूल्य पाएकाले आफूहरु उत्साहित भएको उहाँको भनाइ छ । इच्छाकामना गाउँपालिका कृषि अधिकृत समीक्षा पौडेल व्यावसायिक किसानले सुन्तालालाई ग्रेडिङ्ग गरेर बिक्री गर्दै आएको बताउनुहुन्छ । उहाँका अनुसार सानो, मझौला र ठूलो गरेर छुट्याएर बिक्री गर्दै आएको छ । यसरी ग्रेडिङ् गरेर बिक्री गर्दा किसानले उचित मूल्य पाउन सफल भएको उहाँले बताउनुभयो ।

    इच्छा कामना गाउँपालिकामा मात्रै यसवर्ष सुन्तला उत्पादनमा कमी आएको छ । उहाँका अनुसार ९२ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिँदै आएको यस क्षेत्रमा यो वर्ष एक हजार दुई दशमलब आठ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । उहाँले भन्नुभयो “गत वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादन घटेको छ ।” गत वर्ष एक हजार १२० मेट्रिकटन सुन्तला उत्पादन भएको उहाँले जानकारी दिनुभयो । सुन्तलाका रुख बुढो हुनु र जलवायु परिवर्तनका कारण रोग लाग्दा उत्पादनमा कमी आए पनि किसानले मूल्य भने राम्रो पाएका हुन् । पौडेलका अनुसार इच्छाकामना गाउँपालिकामा आर्थिक वर्ष २०७९/८० मा १०८० मेट्रिक टन उत्पादन भएको थियो । २०८०/८१ मा केही उत्पादन घटेर १०३६ मेटिक टन उत्पादन भएको थियो । २०८१/८२ मा ११२० मेट्रिकटन र २०८२/८३ मा १००२.८ मेट्रिकटन उत्पादन भएको उहाँले जानकारी दिनुभयो ।

    गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ यहाँको सुन्तलाको स्वाद मिठो भएका कारण बजार पाउन गाह्रो छैन । उहाँले भन्नुभयो “यहाँको सुन्तलाको स्वाद राम्रो भएकाले नारायणगढ, मुग्लिन, फिस्लिङ, काठमाडौँ र पोखरामा माग उच्च छ । व्यवसायी बगैँचामै आएर खरिद गर्छन् ।” इच्छाकामनामा सुन्तला खेतीको सम्भावना प्रचुर रहेको भन्दै उहाँले गाउँपालिका सुन्तलाखेती प्रवद्र्धनमा लागिरहेको बताउनुभयो । उहाँले बीउबाट उत्पादित बिरुवा किसानलाई निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको बताउनुहुन्छ ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र बस्नेत सन्तुलाका बोटमा लाग्ने रोग नियन्त्रणका लागि जैविकि औषधि, पुराना बोट हटाएर नयाँ बिरुवा रोप्ने कार्यक्रम, किसानलाई थप तालिम र अनुदान जस्ता कार्यक्रम गाउँपालिकाले अघि सारेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “कृषि एम्बुलेन्सको व्यवस्था गरेर सुन्तला लगायतका कृषि उपजलाई बजारसम्म पु¥याउन पालिकाले सहयोग गर्दै आएको छ ।”

    कृषि विकास कार्यालय चितवनकी अधिकृत स्वस्तीका चौहान जिल्लामा सुन्तला उत्पादन राम्रो भएपछि उचित मूल्य पाएको बताउनुहुन्छ । १४५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको बताउँदै उहाँले अहिले किसान सन्तुष्ट भएको बताउनुभयो ।

    अझै केही ठाउँको उत्पादन टिप्न बाँकी रहेकाले यस वर्षको उत्पादन कति भन्न सक्ने अवस्थामा नरहेको उहाँको भनाइ छ । भरतपुर महानगरपालिका–२९ को विभिन्न स्थानमा अझै सुन्तला टिप्न बाँकी रहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु
    • सुनचाँदीको मूल्यमा सामान्य गिरावट
    • डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.