सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज सोनाम ल्होसार, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त


  •    न्युजभित्तो/११ माघ २०७६, शनिबार ०९:१६ 
  • काठमाडौँ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

    मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५६औँ वर्ष शुरु हुन्छ । आजदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

    ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले जानकारी दिनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । यस पर्वका अवसरमा वाग्मती प्रदेशले शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिएको थियो ।

    पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउन लागेको समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिनुभयो ।

    विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रमा सोनाम ल्होसारलाई यसपटक नेपाल भ्रमण वर्षसँग जोडेर समेत प्रचारप्रसार गर्न शुरु भइसकेको पनि उहाँले बताउनुभयो । नेपाल आउने धेरै पर्यटकको रोजाइमा बौद्ध क्षेत्र पनि पर्छ । तामाङ जातिको मौलिक वेशभूषा, सांस्कृतिक गतिविधि, खाना लगायतको प्रदर्शनसमेत गरिने ल्होसारमा धेरै पर्यटक आकर्षित गराउने काम शुरु भएको छ ।

    बौद्ध क्षेत्रमा आज सांस्कृतिक झाँकीसहित बाजागाजाको र्याली निकालिनेछ । दिउँसो महेन्द्र बौद्ध माध्यमिक विद्यालय परिसरमा मूल समारोह समितिका तर्फबाट पर्यटन वर्षसमेत सफल बनाउन आह्वान गर्दै कार्यक्रम गरिने जनाइएको छ । यसैगरी राजधानीको स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाइने जनाइएको छ ।

    यस अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्ने जनाइएको छ । सोनाम ल्होसार महोत्सवमा तामाङ खाना, वेशभूषा, कला संस्कृति लगायतको प्रदर्शन गरिने जनाइएको छ ।

    राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

    राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायले मनाउने महान् पर्व सोनाम ल्होसार जस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको विश्वास व्यक्त गर्नुभएको छ ।

    तामाङ समुदायले मनाउने महान् पर्व सोनाम ल्होसारको अवसरमा आज शुभकामना सन्देशमार्फत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवम् प्रगतिको कामना गर्दै राष्ट्रपति भण्डारीले यस प्रकारका चाडपर्वको अहम् राष्ट्रिय महत्व रहेको उल्लेख गर्नुभएको छ ।

    शुभकामना सन्देशमा भनिएको छ, “यो पर्वलाई तामाङलगायत ह्याल्मो, थकाली, जिरेल, नेस्याङवा, भोटे, दुरा, लेप्चा आदि समुदायले आ–आफ्नै शैली र परम्पराअनुसार मनाउँदै आएका छन्, यस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् ।”

    राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भन्नुभएको छ, “सोनाम ल्होसार पर्वले सबै नेपाली बीचको एकतालाई अझ सुदृढ गर्दै नयाँ उत्साह एवम् उमङ्ग बढाओस् भन्ने शुभेच्छा प्रकट गर्दछु, साथै देशमा शान्ति, सद्भाव र सहिष्णुता कायम गर्दै समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा सबैमा जागृत गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।” चन्द्र पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदादेखि मनाइने यस पर्वमा कूल पूजा, प्रकृति पूजा, बुद्धको पूजा गर्ने एवम् आपसमा भेला भई नाचगान गर्दै हर्षोल्लासका साथ मनाउने प्रचलन रहिआएको छ ।

    बहुमूल्य सम्पत्तिलाई समृद्ध देश निर्माणमा सदुपयोग गरौँ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचलनमा हरेका भाषा, धर्म, संस्कृति, वेशभूषालगायत विविध बहुमूल्य सम्पत्तिलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । तामाङ समुदायले नयाँ वर्षका रुपमा मनाउँदै आएको प्रमुख चाड सोनाम ल्होछारका अवसरमा प्रधानमन्त्री ओलीले आज शुभकामना व्यक्त गर्दै देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको समेत उल्लेख गुर्नभएको छ ।

    उहाँले यस्तो विविधतायुक्त साझा सांस्कृतिक पूँजीलाई संरक्षण गर्दै आएको पनि प्रस्ट पार्नुभएको छ । “हाम्रो सुन्दर देशमा बहुसांस्कृतिक विशेषताहरु मौलिक पूँजीका रुपमा रहेका छन्, एकता र सहिष्णुताको यस पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्दछ, विभिन्न संस्कृतिमा आधारित पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन्”, शुभकामना सन्देशमा भनिएको छ ।

    उहाँले नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकका रुपमा सुनिश्चित गरेको र विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विविध भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदताको संरक्षण गरिँदै आएको उल्लेख गर्नुभयो । उहाँले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुसरण गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो विशेषता हो भन्नुभएको छ ।

    प्रधानमन्त्रीले ओलीले सोनाम ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि एंव उत्तररोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सरकार समृद्ध नेपाल–सुखी नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा रहेको बताउनुभयो । हरेक वर्ष माघ शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्षारम्भका रुपमा तामाङ समुदायले मनाउने सोनाम ल्होछारले उक्त समुदायको परम्परागत संस्कृतिको संरक्षण र संवद्र्धनमा महत्पूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.