सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माडी नगरपालिकाले फोहर व्यवस्थापनमा ‘कलेक्ट एण्ड पे’ ढाँचा लागू गर्ने


  •    न्युजभित्तो/२३ पुष २०८२, बुधबार १५:१० 
  • नारायणगढ, (चितवन), २३ पुस । ‘सम्पदा सम्पन्न माडी नगर, इको कृषि र पर्यटनको सहर’ भन्ने नारासहित अघि बढ्दै आएको चितवनको माडी नगरपालिकाले फोहर व्यवस्थापनमा नयाँ विधि अपनाउने भएको छ । नगरले घरघरबाट सङ्कलन हुने फोहर वर्गीकरण गरी तौलका आधारमा पैसा दिएर किन्ने ‘कलेक्ट एण्ड पे’ ढाँचा लागू गर्न लागेको हो । 

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार नगरभित्रका घरधुरीबाट सङ्कलन हुने फोहर घरबाटै वर्गीकरण गरिनेछ र टोल विकास संस्थामार्फत तौलका आधारमा रकम भुक्तानी गरिनेछ । उहाँले भन्नुभयो, “हामीले फोहर व्यवस्थापनमा पारम्परिक तीन प्रकारको वर्गीकरणभन्दा फरक सात प्रकारको वर्गीकरण लागू गर्ने निर्णय गरेका हौँ ।” यस ढाँचाअन्तर्गत फोहर सङ्कलन गर्ने गाडीमा सात प्रकारका छुट्टाछुट्टै टोकरी राखिनेछन् । 

    वर्गीकरणमा कागज, प्लास्टिक झोला (सादा), प्लास्टिक बोतल, प्रयोगयोग्य सिसाका बोतल, धातुजन्य सामग्री, रङ्गीन मेटालिक प्लास्टिक र अन्य वर्गीकरणमा नपरेका फोहर रहने प्रशासकीय अधिकृत भुसालले जानकारी दिनुभयो । उहाँले सोहीअनुसार कुन फोहर कति तौलको छ र अवस्था कस्तो छ भन्ने आधारमा प्रत्येक महिनाको अन्त्यमा घरधुरीलाई रकम भुक्तानी गरिने बताउनुभयो ।

    भुसालका अनुसार बजार मूल्यका आधारमा बिक्रीयोग्य फोहरको मूल्य निर्धारण गरिनेछ । “घरमा एकै दिन धेरै फोहर जम्मा हुँदैन र सबै प्रकारका फोहर बिक्रीयोग्य पनि हुँदैनन् । बिक्ने फोहरको पैसा दिइन्छ, औषधिजन्य वा प्रयोगमा नआउने खतरनाक फोहर छुट्टै व्यवस्थापन गरिन्छ”, भुसालले भन्नुभयो । 

    चाउचाउ, बिस्कुट, गुट्खालगायत प्लास्टिकजन्य फोहरबाट टायल, इन्टरलक, टाँकजस्ता निर्माण सामग्री उत्पादन हुने भएकाले वातावरणमा बढी असर पार्ने यस्ता फोहरलाई नगरपालिकाले अन्य फोहरभन्दा महँगो मूल्यमा किन्ने प्रशासकीय अधिकृत भुसालले उल्लेख गर्नुभयो । 

    उहाँका अनुसार ती फोहर लुम्बिनी प्रदेशको राप्ती गाउँपालिकामा रहेको प्लान्टमा पठाउने योजना बनाइएको छ । “यस्ता फोहर बढी हुने भएकाले वातावरणमा असर पर्छ, त्यसैले सरसफाइमा टेवा पुग्नेगरी ती फोहर किन्ने व्यवस्था गरेका हौँ”, उहाँले थप्नुभयो 

    भुसालले यस ढाँचाले फोहर व्यवस्थापन थप प्रभावकारी हुने र नागरिकमा सरसफाइ तथा फोहर छुट्टयाउने बानी विकास हुने विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाले योजना कार्यान्वयनको तयारी गरिरहेको बताउँदै हाल टोल विकास संस्थाहरूलाई अभिमुखीकरण गरिरहेको उहाँले जानकारी दिनुभयो ।

    माडी नगरपालिकामा दैनिक करिब आठ टन फोहर सङ्कलन हुने गर्दछ । पूर्व, पश्चिम र उत्तरतर्फ चितवन राष्ट्रिय निकुञ्ज, चुरे पहाड तथा दक्षिणतर्फ सोमेश्वर पर्वतमालाले घेरिएको हरियाली उपत्यका तथा जैविक विविधताले सम्पन्न माडीमा करिब १० हजार घरधुरी बसोबास गर्दै आएका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    • घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.