सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘मेड इन बागलुङ’मार्फत स्थानीय उत्पादनको प्रवर्द्धन


  •    न्युजभित्तो/१४ पुष २०८२, सोमबार १३:०४ 
  • ढोरपाटन (बागलुङ), १४ पुस । ‘मेड इन बागलुङ’मार्फत बागलुङका साना तथा मझौला उद्यमीले उत्पादन गरेको वस्तुको प्रवर्द्धन र बजारीकरण गर्न थालिएको छ । 

    उद्योग वाणिज्य सङ्घले आयोजना गरेको आठौँ बागलुङ महोत्सवमा स्थानीय उत्पादनका लागि ‘मेड इन बागलुङ’ कक्ष स्थापना गरी प्रवर्द्धन गर्न थालिएको हो । स्थानीय उत्पादन मात्रै राखेर प्रचारप्रसार र बिक्री गर्ने स्टललाई ‘मेड इन बागलुङ’ नाम दिइएको छ ।

    ‘मेड इन बागलुङ’ स्टलमा तमानखोला गाउँपालिकामा उत्पादन भएका ऊन र ढाकाको कपडा, मकैको आटो, कोदोको पीठो, गाईभैँसीको घ्यू र तामाका भाँडाकुँडा राखिएको छ । गाउँपालिकाले छवटै वडाका उद्यमीले उत्पादन गरेका वस्तुलाई लिएर बिक्रीका लागि राखेको हो । 

    तमानखोला–३ की उद्यमी गीता बुढाथोकीले गाउँमा महिला आमा समूहले वर्षौंदेखि ऊनका कपडा उत्पादन गर्दै आएको तर प्रचारप्रसार नहुँदा बजारीकरणमा समस्या भएको भन्दै ‘मेड इन बागलुङ’ स्टलमा राखेपछि एकै दिन ठूलो हजारौँ रूपैयाँको सामान बिक्री भएको सुनाउनुभयो ।

    पालिकाले नै गाउँबाट बागलुङ बजारसम्म ल्याउनका लागि ढुवानीको व्यवस्थापन गरी दिएको भन्दै स्टलमा आउने धेरैले गाईभैँसीको घ्यू र ऊनका कपडा खरिद गरेर लैजाने गरेको उहाँको भनाइ छ । महोत्सवममा धेरै मानिसको जमघट हुने र उत्पादन भएका वस्तुको प्रचारप्रसार हुँदा आगामी दिनमा गाउँबाटै पनि बिक्री हुने अपेक्षा लिएको बुढाथोकी बताउनुहुन्छ ।

    बुढाथोकीले भन्नुभयो, “हामीहरूले गाउँमा ढाका र ऊनका कपडा बनाउन थालेको ६÷७ वर्ष भयो, तर अहिलेसम्म गाउँमा आएर किन्ने निकै कम भए, प्रचारप्रसार पनि हुन नसकेर होला बजारको साह्रै समस्या थियो, यसपालि महोत्सवमा ‘मेड इन बागलुङ’मार्फत प्रचारप्रसार हुने र बिक्री पनि हुन्छ भने पनि हाम्रो उत्पादनलाई लिएर आएका थियौँ, सोचेभन्दा राम्रो व्यापार भएको छ, अहिले प्रचार भएपछि आगामी दिनमा गाउँबाट पनि बिक्री हुनेछ भन्ने अपेक्षा लिएका छौँ ।”

    ‘मेड इन बागलुङ’ स्टलमा ताराखोलामा उत्पादन भएको सिस्नो पाउडर, भाँगो, सिमी, मह, किबी, डाला, नाङ्ला, ठेका र अल्लोका कपडा राखिएको छ । पुस ११ गतेदेखि स्टलमा सामान लिएर राखेपछि किन्ने ग्राहकको भीड लाग्ने गरेको ताराखोला–३ की देउकुमारी रोका मगरले बताउनुभयो । समूहमार्फत गाउँमा धेरै वस्तु उत्पादन हुने तर बजार नपाउँदा नष्ट हुने गरेको भन्दै महोत्सवले बिक्री वितरण र प्रचारमा ठूलो टेवा पु¥याएको सुनाउनुभयो ।

    ‘मेड इन बागलुङ’मार्फत बिहुँ, सिगाना, दमेक, अर्जेवालगायतका स्थानमा किसानले उत्पादन गरेका सुन्तला, तरकारी र फलफूलसमेत बिक्री गर्न थालिएको छ । किसान स्वयम् ‘मेड इन बागलुङ’ स्टलमै बसेर बिक्री वितरण गर्ने गरेका छन् । मेला महोत्सवमा स्थानीय उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको हुँदा ‘मेड इन बागलुङ’मार्फत बिक्री वितरण र प्रचारप्रसार गर्न थालिएको उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतमले बताउनुभयो । 

    “महोत्सवलाई रमाइलो गर्नका लागि मात्रै होइन स्थानीय स्तरमा उत्पादन भएका वस्तुको प्रवर्द्धन र बिक्री गर्ने थलोका रूपमा विकास गर्नुपर्छ भन्ने हिसाबले लागेका छौँ, साना तथा मझौला उद्यमी र किसानलाई निःशुल्क रूपमा बिक्री र उनीहरूको उत्पादनको प्रचारप्रसारका लागि ‘मेड इन बागलुङ’ नाम दिएर सोहीमार्फत अगाडि बढाएका छौँ”, गौतमले भन्नुभयो, “यसले किसान र उद्यमीलाई ठूलो टेवा पु¥याएको छ, यसलाई अरू बेला पनि निरन्तरता दिन जरुरी छ ।”

    उद्योग वाणिज्य सङ्घले अघिल्लो वर्षदेखि बागलुङ बजारमा स्थानीय उत्पादनको बिक्रीका लागि कोसेली घरसमेत सञ्चालन गर्दै आएको छ । यस वर्षको महोत्सवमा ‘मेड इन बागलुङ’ स्टल विशेष बनेको छ । गत शुक्रबारदेखि सुरु भएको महोत्सव यही पुस २१ गतेसम्म सञ्चालन हुनेछ । ‘मेड इन बागलुङ’स्टल पनि महोत्सव सञ्चालन हुँदासम्म सञ्चालन हुनेछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.