सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न


  •    न्युजभित्तो/३ पुष २०८२, बिहीबार १३:५० 
  • म्याग्दी, ३ पुस । म्याग्दी र राहुघाट वेसिनका जलविद्युत्् आयोजनाबाट उत्पादन हुुने विद्युत्लाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौताको म्याद सकिन पाँच महिना बाँकी रहँदा ७० प्रतिशत भौतिक प्रगति भएको छ । 

    सत्तरी प्रतिशत काम गर्न पाँच वर्ष लगाएको नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित आयोजनाको ठेकेदारलाई बाँकी ३० प्रतिशत काम पाँच महिनामा पुरा गर्न चुनौति छ । मालिका गाउँपालिका–७ डाडाखेतदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाँउमा सवस्टेशन निर्माणका लागि सन २०२१ को डिसेम्वर ३१ मा रु तीन अर्ब ५७ करोडमा लार्सन एण्ड टुयुब्रो लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो । 

    पहिलो पटकको म्याद गत जुलाई १६ र दोस्रो पटकको म्याद नोभेम्बर १६ सम्ममा सकिएपछि २०२६ मे १६ सम्मका लागि तेस्रो पटक म्याद थपिएको आयोजनाले जनाएको छ । प्रसारण लाइनको क्षेत्राधिकारमा पर्ने वन क्षेत्रमा रुख कटान आदेश प्राप्त नहुुनु, राहुघाट सवस्टेशन निर्माणस्थलको कमजोर भूगोल, विपद्को जोखिम र केही टावर निर्माणस्थलमा समुदायको विवादका कारणले निर्माण अवधी लम्बीएको आयोजना प्रमुख रोशन अग्रवालले बताउनुभयो । 

    एक सय ३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको हालसम्म ७३ वटा टावरको जग राखिएकोमा ६० वटा टावर खडा भएका छन् । रुख काट्नुपर्ने पाँच वटा बाहेक सबै टावरमा ठेकेदारले काम थालेको छ । तीन किलोमिटरमा तार तान्ने काम पनि सकिएको छ । प्रसारण लाइन र सवस्टेशनको उपकरण आयात भइसकेको छ । 

    डाडाखेतको सवस्टेशनमा ९० प्रतिशत, प्रसारण लाइनमा ६५ प्रतिशत र राहुघाट सव स्टेशनमा ६० प्रतिशत प्रगति भएको छ । एलएनटिका आयोजना ब्यवस्थापक सुभाषचन्द्र शर्माले मजदुर र उपकरण थप गरेर मे १६ को म्यादभित्र सम्पन्न गराउने प्रतिवद्धता जनाउनुभयो । 

    एकाउन्न रोपनी क्षेत्रफलमा निर्माण भएको डाडाखेत सवस्टेशनमा १३३÷३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान भइरहेको छ । २२०÷१३२÷३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेशनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको फाउण्डेशन सकेर संरचना निर्माण थालिएको छ । अम्बाङमा सव स्टेशन बनाउन छ वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो । 

    कुल रु चार अर्ब ८८ करोड लागत अनुमान गरिएको आयोजना निर्माणका लागि रु एक अर्ब पाँच करोड विद्युत् प्राधिकरण र रु तीन अर्ब ८२ करोड एशियाली विकास बैङ्कको ऋण लगानी छ । 

    प्रसारण लाइनको ‘राइट अफ वे’ र टावर रहने २५ दशमलब ६२ हेक्टर सामुदायिक र राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न लागि विस २०८० फागुन ६ गतेको मन्त्रिपरिषद्ले बैठकले स्विकृति प्रदान गरेको थियो । आयोजना निर्माण स्थलमा तीन हजार ९३६ वटा रुख छन् । 

    पाँच सय चार रोपनी जग्गा खरिद गरी बिरुवा हुर्काउनको लागि पहिलो किस्ता वापतको रकमसमेत उपलब्ध गराएपनि डिभिजन वन कार्यालयले कटान आदेश दिन ढिलाइ गरेको आयोजना प्रमुख अग्रवालले बताउनुभयो । 

    रघुगङ्गा गाउँपालिका–३, बेनी नगरपालिका–९, १०, मङ्गला गाउँपालिका–१, मालिकाको वडा नम्बर ६ र ७ मा प्रसारण लाइनको टावर निर्माणस्थल हुन् । टावर रहने निजी जग्गाधनीलाई रु एक करोड ५० लाख मुआब्जा वितरण र वन क्षेत्र प्रयोग गरेवापत रु चार करोड ५० लाखमा जग्गा खरिद गरेर सरकारलाई उपलब्ध गराएको आयोजनाका प्रशासकीय अधिकृत मातृका तिमिल्सीनाले बताउनुभयो ।   

    म्याग्दी नदीमा १७२।८ मेगावाट क्षमताको चार वटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । राहुघाटमा ३५।५ मेगावाटको चिमखोला–राहुघाट–मङ्गले, ४८ मेगावाटको अपर राहुघाट र २१।३ मेगावाट क्षमताको ठुलोखोला जलविद्युत् आयोजनाले उत्पादन थालेका छन् । 

    चालिस मेगावाट क्षमताको राहुघाट र २३ दशमलब पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । तुदी पावरले बनाएको चिमखोला–राहुघाट–मङ्गले र संयुक्त ऊर्जाको ठूलोखोला जलविद्युत् आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रसारण लाइनमा विद्युत् आपुर्ति गराउन थालेका हुन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
    इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त
    वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
    • दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    • सुनचाँदीको मूल्य तोलामा चार हजार बढी घट्यो
    • मन्दिरमा अलपत्र परेका तीन जनाको उद्धार
    • हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.