सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महबाटै करोडको कारोबार गर्नुहुन्छ विनोद हमाल


  •    न्युजभित्तो/३० मंसिर २०८२, सोमबार ११:३५ 
  • भजनी (कैलाली), २९ मङ्सिर । परिश्रम गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एक उदाहरण हुनुहुन्छ दाङको तुलसीपुर उपमहानगरपालिका–६ मदन नगरका विनोद हमाल । व्यावसायिक माहुरीपालनबाट बर्सेनि करोडौँको कारोबार गर्दै आउनुभएका हमाल व्यवसायीमात्र होइन समाजका लागि एक प्रेरणा पनि हुनुहुन्छ ।

    विसं २०५५ देखि माहुरीपालन व्यवसाय गर्दै आउनुभएका उहाँबाटै सिकेको सीपबाट कैयौँ युवाहरू माहुरीपालन व्यवसायमा संलग्न हुनुभएको छ । त्यो समयमा १२–१५ जना माहुरीपालक किसान रहेका दाङमा अहिले चार–पाँच सय युवा त्यसैमा भविष्य खोजिरहेको हमाल बताउनुहुन्छ । “सुरुमा सीमित व्यक्ति मौरीपालनमा थियौँ । अहिले दाङमा मात्र चार–पाँच सय जना पुगिसक्नुभएको छ”, उहाँ भन्नुहुन्छ, “थोरै लगानीले मनग्य आम्दानी दिने भएपछि युवाहरूको आकर्षण बढ्दै गएको छ ।”

    दाङदेखि कैलालीसम्मका तराईका जिल्लामा घुमिरहने अनि माहुरीका घार घुमाइरहने हमाल यतिबेला कैलालीको भजनी नगरपालिकामा पुग्नुभएको छ । उहाँले कैलाली र बर्दियाका विभिन्न ठाउँमा पाँच सय माहुरीका घार तोरी फुलेका खेतहरूमा राख्नुभएको छ । “आजभोलि तोरीको फूल जता फुल्यो त्यतै माहुरीका घार बोकेर हिँड्ने गरेका छौँ”, उहाँ भन्नुहुन्छ, “तोरीको सिजन सकिएपछि जता फूल फुल्यो माहुरी घार त्यतै पुग्छन् ।”

    उहाँका अनुसार कैलालीलगायतका तराईका जिल्लामा बर्सेनि तोरी फुल्ने समयमा दाङबाट दर्जनौँ मौरीपालक किसान माहुरीका घार बोकेर आउने गरेका छन् । उहाँहरू कैलाली, बर्दिया, बाँके, दाङका विभिन्न क्षेत्रमा माहुरीका घार बोकेर चराउन जाने गर्छन् । मौरीका लागि उपयुक्त हावापानी भएका कारण दाङमा माहुरी व्यवसाय फस्टाएको पाइन्छ । “दाङको हावापानी माहुरीका लागि राम्रो छ । तोरी अनि मकैखेती राम्रो हुने हुँदा पनि मौरी व्यवसाय राम्रो भएको पाइन्छ”, हमाल भन्नुहुन्छ, “तोरी र मकैको फूल माहुरीको चरनका लागि निकै महत्त्वपूर्ण मानिन्छ ।”

    स्वर्गद्वारी विकन्सर्न प्रालिमार्फत माहुरीपालन गर्दै आउनुभएका हमालले १५ जनालाई प्रत्यक्ष रोजगारी दिनुभएको छभने अप्रत्यक्ष रूपमा सयौँ व्यवसायसँग जोडिएका छन् । हमालले एक वर्षमा एक लाख केजीसम्म मह उत्पादन गरेर बिक्री गर्दै आएको बताउनुभयो । “आम्दानी कति हुन्छ त्यो ठ्याक्कै भन्नुभन्दा पनि हामीले वर्षमा एक लाख केजी मह उत्पादन गर्छौँ”, उहाँ भन्नुहुन्छ, “त्यो मह न्यूनतम रु पाँच सय प्रतिकेजीभन्दा बढीमा बिक्री गर्दै आएका छौँ ।” महको मूल्य पनि फूलको स्रोतका आधारमा तय गरिने उहाँ बताउनुहुन्छ ।

    माहुरीपालक किसानलाई बजारको कुनै समस्या छैन । अहिले पनि बजारको मागलाई पूरा गर्न नसकिएको हमालको भनाइ छ । काठमाडौँलगायत देशका तीन क्षेत्रबाट महको व्यापार गर्दै आउनुभएका उहाँ धेरै उत्पादन कम्पनीमा नपुर्याएरै बिक्री हुने गरेको विनोद बताउनुहुन्छ । उहाँको परिवार नै माहुरी व्यवसायमा लागेको छ ।

    पैसा कमाउनका लागि विदेश जान नपर्ने उहाँ बताउनुहुन्छ । “पैसा विदेशभन्दा स्वदेशमा धेरै छ । हामी जसरी खटिएर विदेशमा आठ घण्टा काम गर्छौैँ, त्यसैगरी स्वदेशमा गरौँ त”, उहाँ भन्नुहुन्छ, “दश घण्टा कुरा गरेर अनि सामाजिक सञ्जाल चलाएर व्यतित गर्दा बाँकी दुईतीन घण्टा काम गरेजस्तो गएर पैसा कमाउन सकिँदैन । आम्दानी हुँदैन । व्यवसायमा दत्तचित्त भएर लाग्यो भने हरेक व्यवसायको स्वदेशमा सम्भावना छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    • सुनचाँदीको मूल्य बढ्यो
    • विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.