सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पालिकास्तरीय बाल कचहरीः बालविवाह अन्त्य गर्न माग


  •    न्युजभित्तो/३० मंसिर २०८२, सोमबार ११:३० 
  • म्याग्दी, २९ मङ्सिर । धवलागिरि गाउँपालिका–३ मुनामा आइतबार सम्पन्न पालिकास्तरीय बाल कचहरीबाट बालअधिकारको सुनिश्चितता, संरक्षण तथा प्रवर्द्धन र बालविवाह न्यूनीकरणका लागि १० बुदे घोषणापत्र जारी भएको छ ।

    बाल क्लबका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षकसम्बद्ध सङ्घसंस्था र सरोकारवालाबीच धवलागिरि गाउँपालिकामा रहेको बालबालिकासम्बन्धी समस्या र समाधान उपायका विषयमा छलफल गरी घोषणापत्र जारी भएको हो ।

    बालविवाह, विभेद, बाल मजदुरजस्ता सामाजिक कुसंस्कारका विरुद्ध सामूहिक आवाज उठाउन र त्यस्ता घटनाको न्यूनीकरणमा कटिबद्ध भएर लाग्ने, बालबालिकाको बाँच्न पाउने, संरक्षण, विकास र सहभागिताको नैसर्गिक अधिकारको परिपालनामा संवेदनशील र कार्यान्वयनमा प्रतिबद्ध रहने घोषणापत्रमा उल्लेख छ ।

    विद्यालयमा बालमैत्री वातावरण र भौतिक संरचनालाई बालमैत्री बनाउने, विद्यालयमा सरकारले उपलब्ध गराउने सेनेटरी प्याडको गुणस्तरीयतामा ध्यान दिने, बालविवाह गर्ने र गराउनेलाई कानुनी दायरामा ल्याउने, गुणस्तरीय शिक्षा कायम गराउने, बालबालिकामा अन्तर्निहित प्रतिभा प्रस्फुटनको अवसर दिलाउने प्रतिबद्धता जनाइएको छ ।

    विद्यालयमा दिवा खाजालाई पोषणयुक्त र आत्मनिर्भर बनाउन विद्यालयमै करेसाबारी बनाउने, विद्यालय तथा समुदायमा हुने सबै किसिमका विभेद तथा भेदभावविरुद्ध शून्य सहनशीलताको रणनीति अपनाइने घोषणापत्रमा उल्लेख छ ।

    गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नं ३ का अध्यक्ष देवेन्द्र रोकाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बालअधिकारको संरक्षण र बालविवाह न्यूनीकरणमा जोड दिएको बताउँदै दिवाखाजा र छात्राबासका लागि आवश्यक तरकारी विद्यालयमै उत्पादन गर्ने अभ्यास सुरु भएको जानकारी गराउनुभयो ।

    कार्यक्रममा सहभागी धवलागिरि मावि मुना, बुद्धि विकास मावि मुदी, लमसुङ, हेम नमूना आवासीय मावि र ताकम माविका छ–छ जना विद्यार्थीले जनप्रतिनिधि र सरोकारवालालाई गाउँपालिकामा बालअधिकारसम्बन्धी कार्यक्रम, बालविवाह न्यूनीकरण, विपन्न विद्यार्थीको शिक्षामा पहुँच, शैक्षिक गुणस्तरलगायतका विषयमा जिज्ञासा राखेका थिए ।

    गाउँपालिकाका उपाध्यक्ष पुन, सामाजिक विकास समितिका संयोजक रोका, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा, स्वास्थ्य शाखा प्रमुख सम्झना खाती, शिक्षा शाखा प्रमुख ख्यामराज सुवेदी, महिला बालबालिका शाखाका पुष्पा दवाडी, ताकम प्रहरी चौकीका प्रमुख विक्रम तिवारीले जिज्ञासाको जवाफ दिनुभएको थियो ।

    गुड नेवर्स इन्टरनेसनलको आर्थिक तथा प्राविधिक सहयोगमा सङ्गम म्याग्दीद्वारा सञ्चालित एकीकृत विकास परियोजनाको आयोजनामा भएको कार्यक्रममा रामबहादुर रावतले बालअधिकारको अवस्था, चुनौती र आवश्यकताका विषयमा सहजीकरण गर्नुभएको थियो ।

    गुड नेवर्स इन्टरनेसनलको पर्वत कलस्टरका संयोजक रञ्जीतकुमार चौधरीले परियोजनाका बारेमा प्रकाश पार्दै स्वागत गर्नुभएको थियो । सङ्गम म्याग्दीले सन् २०१३ देखि धवलागिरि गाउँपालिकामा एकीकृत विकास परियोजना सञ्चालन गर्दै आएका परियोजनाका जीविकोपार्जन अधिकृत अनुषा लामिछानेले बताउनुभयो । सङ्गमले गल्र्स फस्ट फण्डको सहयोगमा धवलागिरि गाउँपालिकामा बालविवाह न्यूनीकरणसम्बन्धी छुट्टै अर्को कार्यक्रम पनि सञ्चालन गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    • सुनचाँदीको मूल्य बढ्यो
    • विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.