सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पक्की पुल निर्माणले नागरिकलाई सहज बनायो


  •    न्युजभित्तो/२९ मंसिर २०८२, आईतवार १२:५६ 
  • गुल्मी, २८ मङ्सिर । लामो समयको प्रतिक्षापछि गुल्मीको पश्चिम क्षेत्रमा पक्की पुल निर्माण भएपछि त्यस क्षेत्रका नागरिकलाई सहजता पुगेको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयअन्तर्गत पश्चिमी भेगको छल्दीदेखि फूलबारीसम्म चार वटा पक्की पुल निर्माण भएका छन् । 

      पक्की पुल बनेपछि त्यस क्षेत्रका हजारौँ मानिस र सयौँ सवारीसाधनलाई खोला तरेर जोखिम पूर्ण यात्रा गर्ने बाध्यता टरेको छ । पक्की पुल निर्माणका लागि राजनीतिक दलका नेताहरुको लामो प्रयासपछि पुल निर्माणको कामले सार्थकता पाएको स्थानीय सुरेन्द्र पाण्डेयले बताउनुभयो । 

     जिल्लाको इस्मा गाउँपालिका, धुर्कोट गाउँपालिका र मालिका गाउँपालिका क्षेत्रअन्तर्गत पर्ने खोलामा चार वटा पक्की पुल एकैपटक निर्माण भएसँगै त्यस क्षेत्रमा नागरिक यतिबेला निकै खुसी बनेका छन् । चाडबाडका समयमा घरमा आउँदा सधैँ खोला तरेर यात्रा गर्नुपर्ने चिन्ताले पिरोलिरहने त्यस क्षेत्रका नागरिकलाई पुल बनेपछि निकै सहज भएको स्थानीय मनबहादुर मुखियाले बताउनुभयो ।

     उक्त क्षेत्रमा लामो समयको प्रयासपछि एकैपटक चार वटा पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएका हुन् । सञ्चालनमा आएका पक्की पुलमा फूलबारी खोला, घमिर खोला, हुलाके खोला र धनार्जी खोला गरी चार वटा रहेका छन् । निर्माण सम्पन्न गरिएका पुलमा फूलबारी खोलाको पुल रु तीन करोड ३२ लाख ६८ हजार र घमिर खोला पुल रु तीन करोड १३ लाख ८४ हजारमा निर्माण सम्पन्न मदन भण्डारी राजमार्ग योजना कार्यालयका इञ्जिनियर एवं सूचना अधिकारी होमनाथ पौडेलले जानकारी दिनुभयो । उक्त पुल निर्माणको काम पन्थ निर्माण सेवाले गरेको थियो । 

    त्यसैगरी, सुनील समीर निर्माण सेवाद्वारा हुलाके खोला पुल रु पाँच करोड ७९ लाख ५३ हजार र धनार्जी खोला पुल रु सात करोड ४८ हजार लागतमा निर्माण सम्पन्न भएकोे इन्जिनियर पौडेलले बताउनुभयो । मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–सिमलटारी सडक खण्डमा खोलामा पक्की पुल नहुँदा वर्षाको समयमा त्यस क्षेत्रका मानिसले ठूलो समस्या भोग्दै आउनुपरेको स्थानीय कृष्णप्रसाद अर्यालले बताउनुभयो । 

    पुल नहुँदा वर्षांैदेखि खोलाको बीचबाट सवारीसाधन सञ्चालन गर्नुपर्ने बाध्यता थियो । वर्षाको समयमा बाढी आउँदा कतीपय सवारीसाधन खोला तर्ने क्रममा बीचमा अड्किने र कतिपय सवारीसाधन बाढीले बगाउनेजस्ता समस्या थियो । त्यसका कारण यात्रुलाई वर्षांैदेखि खोला वारिपारी गर्न कठिनाइ हुने गरेको थियो ।  अहिले त्यस क्षेत्रमा चार वटा पक्की पुल एकैचोटी निर्माण सम्पन्न भएर सहज रुपमा सवारीसाधन सञ्चालन भएपछि त्यस क्षेत्रका नागरिक निकै खुसी बनेको इस्मा‐१ गुरुवाका स्थानीय दधिराम पन्थीले बताउनुभयो । 

    उक्त पक्की पुल निर्माण भएपछि जिल्लाको पश्चिमी क्षेत्रका चार वटा स्थानीय तहसँगै बागलुङ र प्यूठानसम्मका नागरिकलाई सहज बनेको मालिका–६ का पूर्ववडाध्यक्ष शोभाखर गिरीले बताउनुभयो । “पुल नहुँदा नागरिकले लामो समयदेखि पटकपटक समस्या र दुर्घटनाको जोखिम व्यहोर्दै आउनुपर्ने बाध्यता जस्तै बनेको थियो । अब खोलामा पक्की पुल बनेपछि विगतका समस्या समाधान गरिदियो, कालोपत्र सडकसँगै पुल निर्माण भएपछि यस क्षेत्रमा विकासले पनि नयाँ आयाम थप्ने भएको छ”, गिरीले भन्नुभयो । तम्घास–सिमलटारी खण्डमा सडक र पुल निर्माण भएपछि छल्दी पनाहा, झरना, हुलाके, धनार्जी, चौरासी, राङ्दल, फूलबारी, सिमलटारीलगायत स्थानमा व्यापारिक चहलपहलसमेत बढ्न थालेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खोरसोरमा गोविन्देको त्रास
    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
    विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता
    • अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    • दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    • चितवनबाट बाघ पर्सा पठाइयो
    • मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.